‘संसद्मा एमालेको अवरोध चुनावसम्म’



विराटनगर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा एमालेको अवरोध चुनावसम्म रहने बताउनुभएको छ । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दै आएका छन् । विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले चुनाव हुनुपर्ने आफूहरूको भनाइ रहेको बताउनुभयो । ‘मध्यावधि चुनाव भए पनि नभए पनि चुनाव हुनुपर्छ,’ उहाँले भन्नुभयो– चुनाव भएपछि सबैलाई ठेगान लगाइन्छ ।

सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको ओलीको भनाइ थियो ।सरकारले एमसीसीको बारेमा आफ्नो नीति बताउन सकेको छैन उहाँले भन्नुभयो– ‘व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेको छ । गठबन्धनको सरकार भएपछि गठबन्धनको एउटा धारणा त आउनुपर्छ नि ।गठबन्धन दलभित्रका पार्टीहरूको एमसीसीको बारेमा आ–आफ्ना छुट्टै नीति भएकोले यो कस्तो गठबन्धन भन्दै अध्यक्ष ओली प्रश्न गर्नुभयो । उहाँले एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने बताउनुभयो ।

उहाँले सत्तारूढ दलको गठबन्धन नभत्कियोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । उहाँले सरकारले आफूहरूले पार्टीबाट निकालेका मान्छेहरू राखेर बोलाउने सर्वदलीय बैठकमा नजाने प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २०६० साल पुस १८ गते सम्झौता भएको विषयमा दाहालले सम्बन्ध छैन जस्तो गरिरहेको आरोप लगाउनुभयो ।

दाहालको तर्फबाट वार्तामा खटाइएका र मध्यस्थकर्ताहरू अहिले सञ्चारमाध्यममा आफौं बोलिरहेका छन् तर दाहालले कुनै सम्बन्ध नरहेको जस्तो गरिरहेको भन्दै उहाँले भन्नुभयो–२०६० साल पुस १८ गते राती सहमति भएपछि मात्रै ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रम १९ गते विराटनगरबाट देशभरि शुरू भएको हो ।

सम्झौतामा के के थियो भन्दा पनि त्यतिबेला रूकुम, रोल्पामा तत्कालीन राजा ज्ञानेन्द्र शाहको अभिनन्दन कसरी सम्भव भयो त्यसबाट पनि धेरै कुरो बुझिएको ओलीको दाबी थियो । माधव नेपाल र दाहालले केही समयका लागि सूर्यमा ग्रहण लगाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्