मिस नेवाः विजेतालाई १ लाख पुरस्कार



मिस नेवाः नेपालको विजेताले पुरस्कारस्वरूप एक लाख रुपियाँ पुरस्कार पाउने भएकी छिन्। नेप्लिज फेसन होमले १५ वर्षदेखि आयोजना गर्दै आएको मिस नेवाः नेपालको विजेतालाई एक लाख रुपियाँ नगद पुरस्कार प्रदान गर्ने भएको हो।

नेवारी कला, संस्कृति र संस्कारको प्रवद्र्धन तथा विकासका लागि भन्दै नेवार समुदायका युवतीहरूबीच हुँदै आएको यो सौन्दर्य प्रतियोगिता आगामी फागुन अन्तिममा आयोजना हुँदैछ। १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ का लागि देशैभरका इच्छुक नेवार समुदायका युवतीहरूको अडिसन गरिने नेप्लिज फेसन होमले जनाएको छ।

नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि डेढ दशकदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। ‘आत्मविश्वास र व्यक्तित्व विकास त जसले पनि सिकाउँछ। हामीचाहिँ नेवारी संस्कृति र संस्कारअनुसार पूजा कसरी गर्नेदेखि भोज कसरी बनाउने, नेवारी लिपिदेखि भाषा र पहिरनसम्म गरी नेवार कला, संस्कृति, भाषा र संस्कारसम्बन्धी सबै कुरा सिकाउँछौँ। त्यसैले, मिस नेवाः नेपालको फाइनल कम्पिटिसन शोका हिसाबले एक दिन मात्र जस्तो देखिए पनि प्रतियोगिताअन्र्तगत कम्तिमा २ महिनाको कार्यक्रम हुन्छ’ मानन्धरले भनिन्।

मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले यो प्रतियोगिता संस्कृति सौन्दर्य प्रतियोगिता भएको र यसबाट नेवारी संस्कृति, संस्कारदेखि जात्रा, पर्व, लवाइखुवाइका बारेमा नयाँ पिढीलाई ज्ञान प्रदान गरिने उत्कृष्ट थलोका रूपमा पाएको अनुभव सुनाइन्। महर्जनले आफूभित्रको प्रतिभा प्रष्फुटन तथा नेवारी समुदायका हरेक विषय सिक्नका लागि मिस नेवाः नेपाल सुनौलो अवसर भएको बताइन्।

आयोजक हेमा मानन्धरका अनुसार मिस नेवाः नेपालको फस्ट र सेकेन्ड रनर्सअप विजेताले क्रमशः ५० र २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। अडिसन राउन्डबाट छानिएका नेवार युवतीहरूबीचको अन्तिम स्पर्धाबाट मिस नेवाः नेपाल, फस्ट रनर्सअप र सेकेन्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, बेस्ट नेपाल भाषा, सोसल वेलफेयर एम्बेस्डर चिफ, बेस्ट ड्रेस, मिस फोटोजेनिक, बेस्ट स्माइल, बेस्ट हेयर, मिस पब्लिक च्वाइस, मिस डिसिप्लेन, मिस फ्रेण्डसिप, मिस पर्सनालिटी, मिस चार्मिङ र बेस्ट स्किन गरी कुल १६ विधामा विजेता चयन गरिनेछ। प्रतियोगिताका सहभागीहरूलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। यसका लागि प्रतियोगीहरूलाई विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण प्रदान गरिनेछ भन्ने विभिन्न स्थल घुमाएर व्यावहारिक ज्ञान पनि दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्