माओवादीको राष्ट्रिय सम्मेलन : १,५३३ प्रतिनिधि सहभागी हुने

विदेशी पाहुनालाई नबोलाइने



काठमाडौं, (नेस)

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । विचारका साथै पार्टी निर्माणको नयाँ योजना तय गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताएको माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै तामझाम पनि नगर्ने र विदेशी पाहुना पनि नबोलाउने निर्णय गरेको छ ।

राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी दिन बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाटमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले सम्मेलनमा कुनै यस्तो जानकारी दिनुभएको हो । आफ्नो पार्टीले गर्न लागेको राष्ट्रिय सम्मेलन फरक हुने बताउँदै उहाँले भन्नुभयो– ‘यो महाधिवेशन होइन, राष्ट्रिय सम्मेलन हो, यसको मुख्य काम नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्नु हो, सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अतिथि पनि बोलाउँदैनौं ।’

सम्मेलन निर्धारित कार्यतालिकाभन्दा दुई दिन लम्बिन सक्ने बताउँदै उहाँले पार्टीको अहिलेसम्मको अवस्था र भावी योजना निर्माणमा सम्मेलन महत्वपूर्ण कोशेढुंगा सावित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामी ६४ सालमा सबभन्दा ठूलो पार्टी थियौं । ७० सालपछि हामी लगभग १० वर्ष जति सानो पार्टी भयौं, संसदीय अभ्यासमा हामीले भोगेका चिजहरूलाई गम्भीर रूपले समीक्षा गर्छौं । हामीले के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित भएर बहस थाल्ने सोचेका छौं ।’

काठमाडौंको प्रज्ञा भवनमा हुने राष्ट्रिय सम्मेलनमा देशभरबाट आउने १ हजार ५ सय ३३ जना प्रतिनिधिमध्ये प्रदेशबाट ८ सय ३, आयोजकबाट १ सय ७९, सल्लाहकारबाट १ सय ४९ जना, ज्येष्ठ कम्युनिस्टबाट १ सय २५, आयोगबाट ७५, केन्द्रीय विभागबाट १० प्रतिशतका दरले १ सय २ र केन्द्रीय प्रतिनिधि २७ जना सहभागी हुनेछन् । महराका अनुसार जम्मा संख्याको ५ प्रतिशत मनोनित गरिनेछ ।

त्यसै गरी, सम्मेलनका लागि लोगो सार्वजनिक गरिएको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लेख्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुट्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्