राष्ट्रिय सभा निर्वाचनको तयारी तीव्र



काठमाडौं ।

यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले तीव्र गतिमा तयारी अघि बढाएको छ ।

राष्ट्रिय सभामा चार वर्ष कार्यकाल पूरा गरेका राष्ट्रपतिबाट मनोनित एकसहित २० जनाको पदावधि फागुन २० गतेदेखि सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । संवैधानिक प्रावधानअनुसार कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने भएकाले माघमै निर्वाचन गर्न लागिएको हो ।

आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरी सोहीअनुरूप तयारी गरिरहेको जानकारी दिँदै आयोगका सहसचिव एवं प्रवक्ता शालीग्राम शर्मा पौडेलले भन्नुभयो– ‘व्यवस्थापकीय तयारीसँगै अहिले निर्वाचन कार्यक्रम सञ्चालनको गृहकार्य भइरहेको छ ।’

आयोगले निर्वाचनका लागि मतदाता नामावली, मतदान स्थल र केन्द्र तोक्ने र निर्वाचन अधिकृत नियुक्तिको काम गरिसकेको छ । प्रदेशसभा सदस्य ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुख १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जना रहेको मतदाता नामावली आयोगले स्वीकृत गरिसकेको छ ।

त्यस्तै, सो निर्वाचनका लागि प्रदेश नं. १ मा २ वटा मतदान स्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदानस्थलभित्र २/२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् । त्यसै गरी, मतदान स्थल रहेका जिल्लाका सम्बन्धित जिल्ला अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिसकिएको छ । आयोगले सातवटै प्रदेशअन्तर्गत मतदान स्थल तोकिएको जिल्लाका सम्बन्धित जिल्ला अदालतका न्यायाधीशलाई अधिकृतको जिम्मेवारी दिइएको सहसचिव एवं प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगका अनुसार प्रदेश नं. १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं. २ का लागि धनु्षा जिल्ला अदालतका न्यायाधीश श्रीब्रजेश प्याकुरेल, वागमती प्रदेशका लागि मकवानपुर जिल्लाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भटृराई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ ।

त्यसै गरी, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्