एमसीसीविरुद्ध हस्ताक्षर नगर्नेहरुलाई प्रश्न – तपाईं कांग्रेस हो ?



विष्णु रैगाईं, काठमाडौं । 

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी खारेजीको माग गर्दै अभियन्ता तारा बरालका समर्थकहरुले वसन्तपुर दरबार क्षेत्रमा हस्ताक्षर संकलन गरिरहेका छन् । वसन्तपुर दरबार क्षेत्र घुम्न आएका आन्तरिक पर्यटक तथा सो क्षेत्रबाट आवतजावत गरिरहेका मानिसहरूलाई एमसीसी खारेजीको लागि हस्ताक्षर गर्न उनीहरू आग्रह गरिरहेका भेटिन्छन् ।

कतिपयले सहजै उनीहरूले आग्रह स्विकार्दै हस्ताक्षर गरेर हिँड्छन् । भने कतिपय किन हस्ताक्षर गर्ने रु भन्दै  बेवास्ता गरेर हिँड्ने गरेका छन् । यदि कसैले हस्ताक्षर गर्न अस्वीकार गर्‍यो कि अभियन्ताहरू प्रश्न गर्छन् – ‘तपाईँ कांग्रेस हो ?’ । सोमबारदेखि सुरु भएको उक्त अभियानमा हालसम्म झण्डै ३ हजार जनाको हस्ताक्षर संकलन भएको अभियन्ता मनिष मानवले बताए ।

एक लाख जनाको हस्ताक्षर संकलन गरी एमसीसी खारेज गर्न दबाब दिन उक्त हस्ताक्षर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने पनि उनले जानकारी दिए ।

अभियन्ताहरूले तारा बरालको जीवन रक्षाको माग समेत गरेका छन् ।  एमसीसी खारेज गर्न माग गर्दै गत कार्तिक ३० गतेदेखि आमरण अनशनमा बसेकी बराल हाल वीर अस्पतालको आइसियूमा अनशनरत छन् ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताइएको छ । यसअघि गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डले बराललाई भेटेर प्रधानमन्त्रीलाई माग सम्बोधनका लाग आग्रह गर्ने आश्वासन दिए पनि अरू कसैले चासो नदिएको अभियन्ता मनिष मानवले  बताउँछन् ।

अभियन्ताको समूहले नागरिकता विधेयक खारेज, भारतसँग व्यापारिक नाकामा भन्सारको व्यवस्था मिलाउन पनि माग गरेका छन् । यस्तै सर्वोच्च अदालतलाई राजनीतिक थलो नबनाई शीघ्र सुचारु गर्न पनि उनीहरूको माग छ ।

नेपालमा पछिल्लो पटक एमसीसीको बहस चर्को रूपमा उठिरहेको छ । संसद्को हिउँदे अधिवेशन सुरु भएपछि यो विषय झन् तातिएको छ । कतिपय साना दलहरू एमसीसी खारेजीको माग गर्दै दैनिक माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । भने ठूला दलहरूभित्र अन्यौलता देखिएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने भन्दै पहल गरिरहेको छ ।  प्रमुख प्रतिपक्षी दल एमाले द्वैध चरित्र देखाइरहेको छ । एमाले सरकारको नेतृत्वमा रहँदा एमसीसीका पक्षमा देखिए पनि हाल यो विषयमा मौन बसेको देखिन्छ ।


यस्तै एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रै किचलो सुरु भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसी संशोधनसहित पास गर्नुपर्ने पक्षमा छन् भने नेपाली कांग्रेस र जनता समाजवादी बिना संशोधन पास गर्नुपर्ने पक्षमा छन् ।

यस्तै सत्ता गठबन्धनले एमसीसीबारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले कार्यदल बनाएको हो ।

कार्यदलमा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्