सात महिनापछि पुग्यो घेर्मुमा सवारीसाधन



लमजुङ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुमा पुनः सवारीसाधन पुगेको छ । स्थानीयले अस्थायी मोटरेवल पुल निर्माण गरेसँगै सात महिनापछि घेर्मुमा सवारीसाधन पुगेको हो । सदरमुकाम बेंसीशहरबाट अहिलेसम्म सडक सञ्जालले नजोडिएको घेर्मुमा स्थानीय आफैंले काठको अस्थायी मोटरेवल पुल निर्माण गरेका हुन् ।

अघिल्लो वर्ष निर्माण गरिएको अस्थायी मोटरेवल पुल वर्षात्को समयमा नदीले बगाउने डरले गत जेठ महिनामा झिकिएको थियो । अहिले मस्र्याङ्दी नदीमा पानीको बहाव कम भएसँगै स्थानीयले पुन अस्थायी मोटेरवल पुल बनाएका हुन् । काठकै भए पनि अस्थायी मोटरेवल पुल निर्माणका लागि गतवर्ष स्थानीयले संकलन गरेको रकम केही बाँकी रहेको र पुरानै सामग्री प्रयोग गरी यस वर्ष पनि अस्थायी पुल निर्माण गरेको स्थानीय नरबहादुर गुरुङले बताउनुभयो । यस वर्ष अस्थायी पुल निर्माणका लागि मस्र्याङ्दी गाउँपालिकाले पनि केही रकम सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँको कथन छ ।

व्यवसायीसमेत रहनुभएका गुरुङको नेतृत्वमा घेर्मु–ताघ्रिङका स्थानीयले सहयोग रकम उठाएर मस्र्याङ्दी नदीमा अस्थायी मोटरेवल पुल निर्माण गरेपछि गत वर्ष पहिलोपटक घेर्मुफाँटमा मोटर पुगेको थियो । मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङ र वडा नं. ५ घर्मु जोड्ने मस्र्याङ्दी नदीमा विगतका वर्षदेखि नै पक्की पुल बन्ने आश्वासन पाए पनि नदीमा मोटरेवल पुल नबन्दा घोर्मुवासीले सास्ती खेप्दै आएका छन् । स्थानीयले रकम संकलन गरेर स्थानीय मेगबहादुर गुरुङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी प्रत्येक वर्ष पुल निर्माण गर्दै आएका छन् ।

प्रायः जेठसम्म नदीको बहाव कम हुने भएकाले कम्तीमा पाँच महिनाका लागि उक्त अस्थायी पुल प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । नदीमा स्थायीरूपमा पक्की पुल नबनेसम्म स्थानीयले अस्थायी पुल निर्माणलाई निरन्तरता दिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्