भारतमा ब्यालेस्टिक क्षेप्यास्त्र अग्नि–पीको सफल परीक्षण



इन्डिया न्युज नेटवर्क ।

भारतमा नयाँ पुस्ताको आणविक क्षमता भएको ब्यालेस्टिक क्षेप्यास्त्र अग्नि पी (अग्नि प्राइम) को लगातार दोस्रोपटक सफल परीक्षण गरिएको छ । रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) ले ओडिशाको तटमा रहेको डा एपीजे अब्दुल कलाम टापुबाट यस क्षेप्यास्त्रको परीक्षण गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोही ठाउँबाट यस वर्षको जुन २८ तारिखमा पहिलोपटक सफल परीक्षण गरिएको थियो ।

१ हजार देखि २ हजार किलोमिटर दायरामा मार हान्न सक्ने क्षमता भएको यो क्षेप्यास्त्र अग्नि वर्गको क्षेप्यास्त्र हो । पूर्वी तटमा अवस्थित विभिन्न टेलिमेट्री, राडार, इलेक्ट्रो–अप्टिकल स्टेसनहरू र डाउन रेन्जका जहाजहरूले क्षेप्यास्त्रको प्रक्षेपण र मापदण्डहरूको निगरानी गरेका थिए । यस सन्दर्भमा रक्षा मन्त्रालयले भन्यो, ‘यस क्षेप्यास्त्रले उच्च स्तरीय सटीकताका साथ सबै उद्देश्यहरू पूरा गरेको छ ।’

दोहोरो नेभिगेसन र मार्गदर्शन प्रणाली जडान गरिएको यस क्षेप्यास्त्रमा दुई चरणको क्यानिस्टराइज्ड ठोस प्रोपेलेन्ट ब्यालिस्टिक प्रणाली अवस्थित छन् । यो दोस्रो उडान–परीक्षणले प्रणालीमा एकीकृत सबै उन्नत प्रविधिहरूको भरपर्दो प्रदर्शन प्रमाणित गरेको छ ।

यस क्षेप्यास्त्रको तौल अग्नि तेस्रोभन्दा ५० प्रतिशत कम छ र यसमा नयाँ मार्गदर्शन र नयाँ पुस्ताको प्रणाली जडान गरिएको छ । क्षेप्यास्त्र क्यानिस्टराइज भएकाले यसलाई रेल र सडकबाट प्रक्षेपण गरी लामो समयसम्म भण्डारण गरी परिचालन आवश्यकताअनुसार देशभर ढुवानी गर्न सकिन्छ ।

रक्षा मन्त्री राजनाथ सिंहले सफल उडान परीक्षणको लागि डीआरडीओ लाई बधाई दिएका छन् र प्रणालीको उत्कृष्ट प्रदर्शनमा खुशी व्यक्त गरेका छन् । रक्षा विभाग र डीआरडीओका अध्यक्ष जी सतीश रेड्डीले धेरै अतिरिक्त सुविधाहरूसहितको दोस्रो विकास उडान परीक्षणको लागि टोलीको प्रयासको प्रशंसा गरेका छन् । उनले सोही वर्षमा लगातार सफलता हासिल गरेकोमा बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्