निमावि शिक्षक भर्नाका लागि विज्ञापन खुल्यो



न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षक सेवा आयोगले नयाँ शिक्षक स्थायी रुपमा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

निमावि तहमा सबैभन्दा बढी अंग्रेजी विषयमा ६२४ जना शिक्षकका लागि दरखास्त आह्वान गरिएको छ । त्यसैगरी विज्ञानमा ४४०, नेपाली विषयमा ४३७, गणितमा ३७१, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा १, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा ३, संस्कृत भाषामा ४ त्यस्तै संस्कृत कर्मकाण्डमा १ जना शिक्षकका लागि दरखास्त आह्वान गरिएको छ ।

६ माघसम्म नियमित र १० माघसम्म थप शुल्क बुझाएर दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ । परीक्षा चैत १७ गते तोकिएको छ ।

आयोगले यस अघि माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान गरेको थियो । चाँडै प्रावि तहका लागि पनि दरखास्त आह्वान गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्