लमजुङको घेर्मुमा सात महिना पछि मोटरेवल पुल निर्माण



खुशीमाया गुरुङ,लमजुङ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका  ५ घेर्मुमा पुनः मोटर पुगेको छ । सवारी साधन पु-याउन स्थानीयले फेरी पनि अस्थायी मोटरेवल पुल निर्माण गरेसँगै सात महिनापछि  घेर्मुमा मोटर पुगेको हो ।

सदरमुकाम बेसीशहर बाट अहिलेसम्म सडक सञ्जालले नजोडिएको घेर्मुमा स्थानीय आफैँले काठको अस्थायी मोटरेवल पुल निर्माण गरेका हुन् । अघिल्लो वर्ष निर्माण गरीएको  अस्थायी मोटरेवल पुल भने बर्षातको समयमा नदिले बगाउने डरले गत जेठ महिनामा  झिकिएको थियो । अहिले मर्स्याङ्दी नदिमा पानीको बहाव कम भएसँगै स्थानीयले पुन अस्थायी मोटेरवल पुल बनाएका छन् ।

काठकै भए पनि अस्थायी मोटरेवल पुल निर्माणका लागि गत वर्ष स्थानीयले सङ्कलन गरेको रकम केही बाँकी रहेको र पुरानै सामाग्री प्रयोग गरी यस वर्ष पनि अस्थायी पुल निर्माण गरेको स्थानीय नरबहादुर गुरुङले बताउनु भयो । यस वर्ष अस्थायी पुल निर्माणका लागि मर्स्याङ्दी गाउँपालिकाले पनि केही सहयोग गर्ने प्रतिबद्धता जनाएको गुरुङले बताउनुभयो ।

स्थानीय व्यवसायी समेत रहेन भएका गुरुङको नेतृत्वमा घेर्मु–ताघ्रिङका स्थानीयले सहयोग रकम उठाएर मर्स्याङ्दी नदिमा अस्थायी मोटरेवल पुल निमार्ण गरेपछि गत वर्ष पहिलो पटक घेर्मुफाँटमा मोटर पुगेको थियो । मर्स्याङ्दी गाउँपालिका वडा नं ४ ताघ्रिङ र वडा नं. ५ घर्मु जोड्ने मर्स्याङ्दी नदिमा विगतका वर्षहरुदेखिनै पक्की पुल बन्ने आश्वासन पाएपनि नदिमा मोटरेवल पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीयले अस्थायी मोटर पुल निर्माण गरेका हुन् ।

स्थानीयले रकम सङ्कलन गरी स्थानीय मेगबहादुर गुरुङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी प्रत्येक वर्ष पुल निर्माण गर्दै आएका छन् ।प्राय जेठसम्म नदिको बहाव कम हुने भएकोले कम्तीमा पाँच महिनाका लागि उक्त अस्थायी पुल प्रयोग गर्न सकिने स्थानीयको भनाई छ । नदिमा स्थायीरुपमा पक्कि पुल नवनेसम्म स्थानीयले अस्थायी पुल निमार्णलाई निरन्तरता दिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्