कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा डा. शशांकलाई सर्वाधिक मत



काठमाडौं ।

कांग्रेसको १४औं महाधिवेशनले मतदान गरी पठाएको केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । महाधिवेशनले निर्वाचित गर्नुपर्ने कुल १ सय २१ केन्द्रीय सदस्यमध्ये ३९ जनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये प्रदेश २ बाट दुई जना निर्विरोध निर्वाचित भएका थिए ।

सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतगणना सकिएसँगै केन्द्रीय सदस्यहरुको मतगणना शुरु गरिएको थियो । प्रदेश दुईको महिला कोटामा चित्रलेखा यादव विजयी हुनुभएको छ भने पिछडिएको क्षेत्रबाट अर्जनजंगबहादुर सिंह निर्वाचित हुनुभएको छ । यादवले गीता चौधरीलाई पराजित गर्दै २ हजार ७ सय ३१ मतका साथ विजयी हुनुभएको हो भने सिंहले दीपकजंग शाहलाई पराजित गर्दै २ हजार ५ सय ७७ मतका साथ विजयी हुनुभएको हो ।

केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार आइतबार साँझ खुलातर्फ ३५ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुलामा कुल ९९ जनाको उम्मेदवारी परेको थियो । खुला केन्द्रीय सदस्यको मतगणनापश्चात निर्वाचन समितिले सार्वजनिक गरेको नतिजामा महामन्त्री डा. शशांक कोइराला सर्वाधिक २ हजार ९ सय ४२ मतका साथ विजयी हुनुभएको छ ।

दोस्रो धेरै मत एनपी साउदले ल्याएका छन् । नेविसंघको पूर्वअध्यक्षसमेत रहेका साउदको २ हजार २ सय ६१ मत आएको थियो । तेस्रो धेरै मत ल्याउने गृहमन्त्री बालकृष्ण खाँणको २ हजार २ सय ७ मत आएको थियो । खाँण नेविसंघ र नेपाल तरुण दलका पूर्वअध्यक्षसमेत हुन् । तरुण दलका पूर्वअध्यक्ष उदयशमशेर राणा, चर्चित युवा नेता रामहरि खतिवडा, पूर्वमन्त्री रमेश लेखक, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्री शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसीको लोकप्रिय मत आएको छ ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठ, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर, पार्टीका निवर्तमान सहमहामन्त्री सुनीलबहादुर थापा, डा. रामशरण महत र कानुनमन्त्री दिलेन्द्रप्रसाद बढु पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री बलबहादुर केसी, नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई र नेविसंघका नेता कुन्दनराज काफ्ले, निवर्तमान केन्द्रीय सदस्यहरु दीपक गिरी र सुरेन्द्रराज पाण्डे र पूर्वमन्त्री पद्मनारायण चौधरी केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

केन्द्रीय सदस्य खुलामा गुरु बराल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल, नेविसंघका अध्यक्ष राजीव ढुंगाना, पूर्वमन्त्री सञ्जयकुमार गौतम, युवा नेता दिनेश कोइराला, ललितपुर जिल्लाका निवर्तमान सभापति मदनबहादुर अमात्य, नेविसंघका पूर्वमहामन्त्री उमेशजंग रायामाझी, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र गणेश लामा, डा. गोपाल दहित, मोहन आचार्य र कृष्णकिशोर घिमिरे पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । १ हजार ३ सय २४ मत ल्याउने आचार्य अन्तिम ३५ नम्बरमा परेका थिए ।

अब महिला खुलातर्फ ९, प्रदेशतर्फ १८, दलिततर्फ ९, आदिवासी÷जनजातितर्फ १५, खस÷आर्यतर्फ १३, मधेसीतर्फ ९, थारुतर्फ ४, मुस्लिमतर्फ १, अपाङ्गतर्फ १ र अल्पसंख्यकतर्फ १ जना निर्वाचित हुन बाँकी छन् । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार आइतबार साँझ अबेरबाट महिला खुला र मधेसी कोटातर्फको मतगणना भइरहेको छ । मधेसी कोटामा महिला चार जनाको छुट्टै कोटा छ भने खुलामा पाँच जनाको कोटा छ । भोलि मंगलबार साँझसम्म बाँकी सबै केन्द्रीय सदस्यको मतगणना सक्ने गरी काम भइरहेको छ । कांग्रेस विधानमा ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान रहेको छ ।

केन्द्रीय समितिमा प्रवेश गरेका १६ नयाँ अनुहार
उदयशमशेर राणा
रामहरि खतिवडा
जितजंग बस्नेत
नैनसिंह महर
कुन्दनराज काफ्ले
गुरु बराल
सञ्जयकुमार गौतम
प्राडा. गोविन्दराज पोखरेल
राजीव ढुंगाना
दिनेश कोइराला
मदनबहादुर अमात्य
अजयबाबु शिवाकोटी
उमेशजंग रायामाझी
गणेश लामा
मोहन आचार्य
कृष्णकिशोर घिमिरे

प्रतिक्रिया दिनुहोस्