शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा फेरि निर्वाचित भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनबाट सभापतिका प्रत्यासी डा शेखर कोइरालालाई पछि पार्दै उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

नेतृत्व चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७२४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८१७ मत प्राप्त गरे। ३३ मत बदर भएको थियो। कांग्रेसका कूल ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४५६४ जनाले मतदान गरेका थिए।

काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पहिलो चरणमा सभापतिका पाँच जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार निर्वाचन भएको थियो । उक्त निर्वाचनमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको प्रतिस्पर्धामा विजयी हुँदै देउवाले दोस्रो पटक निर्वाचित सभापतिको रुपमा चार वर्ष पार्टीको नेतृत्व गर्नेछन् ।

सोमबार सम्पन्न निर्वाचनमा देउवा, कोइराला सहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । देउवा र कोइरालाले बढी मत पाएपछि दुई जना दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

यसअघि दुईपटक सभापति पदमा पराजित भएका देउवा १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा पुगेका थिए । त्यसक्रममा पनि उनी दोस्रो चरणको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलो पटक सभापतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्