चाँगुनारायण नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियारको छापा



न्युज अफ नेपाल, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अहिले एकसाथ छापा मारेको छ । आयोगको टोलीले पाँच लाख भन्दा माथिको खरिद तथा भुक्तानीसंग सम्बन्धित सम्पुर्ण कागजात नियन्त्रणमा लिएको छ ।

खरिद र भुक्तानीमा अनियमितता गरेको आरोपमा दुवै पालिकाविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।  दुवै पालिकाका कागजात नियन्त्रणमा लिन र स्थलगत अनुसन्धानका लागि टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयबाट विशेष टोली खटिएका थिए ।

‘दुवै पालिकाबाट भएका आर्थिक प्रशासन र खरिद प्रक्रियासँग जोडिएर कागजातहरू नियन्त्रणमा लिइएको छ ।  खरिद र निर्माणसँग जोडिएका विषयमा अनियमितता भएको भन्ने सूचना र उजुरी परेको थियो । त्यसपछि केन्द्रबाटै विशेष टोली खटाइएको छ ।’

दुवै पालिकाले ५ लाखभन्दा माथिको खरिद र भुक्तानीमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । पछिल्लोपटक अख्तियारको वार्षिक प्रतिवेदनमा पनि स्थानीय तहहरूविरुद्ध सबैभन्दा बढी अनियमितका उजुरी परेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्