मेयर शाक्य फेरि मेयरमा उठ्ने संकेत



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गर्नुभएको छ । २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताउनुभएको हो ।

सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिने क्रममा मेयर शाक्यले भन्नुभयो– ‘साढे ४ वर्षे कार्यकालमा मैले गरेका कामहरू पूरा गर्न बाँकी रहेको महसुस गरी पार्टीले पुनः मेयरमा उठ भन्न सक्ला त्यसलाई नकार्ने कुरा हुँदैन । मैले एकल निर्णय गर्दिनँ, पार्टीले दिएको जिम्मेवारी पूरा गर्नेछु ।’ नेपाल कम्युनिस्ट पार्टी एमालेबाट मेयर बनेका शाक्य हाल एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।

शाक्यले महानगरको विकासलाई सफल बनाउन प्रदेश र संघ सरकारबीच राम्रो समन्वयको आवश्यक्ता औंल्याउनुभयो । विकास निर्माणमा समन्वय नभएको गुनासो गर्दै उहाँले भन्नुभयो– ‘उचित समन्वय नभएका कारण एउटै विकास योजनामा करोडौं रुपियाँ खर्च भएको छ, त्यसलाई व्यवस्थित गर्न संघीय सरकारको मुख्य भूमिका रहन्छ ।’ उहाँले महानगरपालिकाभित्र सबै काम सबैको सहमतिमै भइरहेको दाबी गर्दै पार्टीले यसको राम्रो मूल्यांकन गरिरहेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले महानगरपालिकाले १९६ किलोमिटर सडक कालोपत्रे, १४ किलोमिटर सडक ढलान र १० किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । त्यस्तै, उहाँले आफ्नो कार्यकालमा ४८९ किलोमिटर सडकमा ढुंगा छाप्ने काम सम्पन्न भएको, २२६ किलोमिटर सडक मर्मत र १८ किलोमिटर ढल निर्माण गरिएको जानकारी पनि दिनुभयो । उहाँले आफ्नो कार्यकालमा वडा नं ३, ४, ९, १४, १८ र २६ मा गरी ६ वटा नयाँ वडा कार्यालयको निर्माण सम्पन्न भएको, १० वटा वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेको, आठवटा वडाहरूको स्तरोन्नति गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन/निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको पनि उल्लेख गर्नुभयो । १ लाख ३७ हजार थान मिसिल डिजिटलाइजेसन गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘४० वटा राजपत्र र एउटा ऐन संग्रह प्रकाशन भएको छ । महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडा कार्यालयहरूमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।’

मेयर शाक्यले उपत्यका पुनर्निर्माण प्राधिकरणको कामप्रति असन्तुष्टि जनाउँदै सबै निकाय मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै भन्नुभयो । उहाँले भन्नुभयो– ‘ढल निर्माणको काम प्राधिकरणको होइन स्थानीय तहको हो, जसको जुन उद्देश्य छ, त्यही उद्देश्यअनुसार अघि बढ्नुपर्छ ।’

५ हजार ७ सय ७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा शुरू गरिएको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले सात वटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना गरी महानगरपालिकाको सबै वडाहरूमा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको, वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा शुरू गरिएको, कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपियाँ बराबरका ४६ थान भेन्टिलेटर प्रदान गरिएको बताउनुभयो । उहाँले ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं’ कार्यक्रमअन्तर्गत मिर्गाैला बचाउ अभियान चलाइएको पनि जानकारी दिनुभयो ।

मेयर शाक्यले छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेद अस्पतालयमा कोभिड विशेष अस्पताल र राधास्वामी आइसोलेसन केन्द्र स्थापना गरिएको जानकारी दिँदै कोभिड विरुद्धको खोप ३ लाख ७९ हजार ४३ महिला र ३ लाख ८९ हजार ६१७ पुरुष गरी ७ लाख ६८ हजार ६६६ जनालाई दिइसकिएको जानकारी दिनुभयो ।

शिक्षाको सुधार कार्यक्रमको बारेमा जानकारी गराउँदै मेयर शाक्यले भन्नुभयो– ‘महानगरभित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ । नेपालभाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपालभाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको र काठमाडौंको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूको पुस्तक प्रकाशनमा ल्याइएको छ । काठमाडौंका मौलिक एवं परम्परागत बाजागाजा संरक्षणका लागि गुठीहरूलाई सहयोग गरिएको छ ।’

उहाँले स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरिनुका साथै सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय विषयका रुपमा नेपालभाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीके’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको पनि उल्लेख गर्नुभयो । महानगरबाट ‘एक वडा, एक नमूना विद्यालय विकास’ कार्यक्रमअन्तर्गत ३२ वटा सामुदायिक विद्यालयहरूमा कार्यक्रम सञ्चालन भएको जानकारी पनि मेयर शाक्यले दिनुभयो ।

उहाँले आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिकाको आन्तरिक स्रोतबाट महानगरका करिब १२ हजार वरिष्ठ ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार रुपियाँ भत्ता वितरण हुँदै आएको र पूर्ण अपाङ्गहरूलाई मासिक ३ हजार रुपियाँ उपलब्ध गराइँदै आएको जानकारी पनि दिनुभयो ।

मेयर शाक्यले आर्थिक वर्ष २०७५/०७६ देखि ए डिभिजनका फुटबल क्लबलाई वार्षिक १० लाख रुपियाँ, बी डिभिजनका फुटबल क्लबलाई ३ लाख र सी डिभिजनका फुटबल क्लबहरूलाई वार्षिक २ लाख रुपियाँ प्रदान गरिँदै आएको पनि जिकिर गर्नुभयो । सहिदहरू दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, नेपाल सम्वत्का प्रवद्र्धक तथा राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको पूर्ण कदको शालिक निर्माण गरिएको जानकारी दिँदै उहाँले तारादेवी स्मृति फाउन्डेसन, नातिकाजी स्मृति प्रतिष्ठान, प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानलाई २० लाखका रुपियाँका दरले सहयोग प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रवक्ता ईश्वरमान सिंह डंगोलले २७ औं महानगर दिवसमा खेलकुद, निबन्ध प्रतियोगिता, पुरस्कार र सम्मानलगायतका कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्