एमाले नेताहरूको कार्यविभाजन

पदाधिकारीहरूको वरीयता क्रम तोकियो



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको आइतबार भक्तपुरमा बसेको दोस्रो तथा अन्तिम दिनको केन्द्रीय कमिटि बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र काम हेर्ने जिम्मासहित नेताहरूको कार्यविभाजन गरेको छ । बैठकले गरेको कार्यविभाजनअनुसार महासचिव शंकर पोखरेललाई पनि पार्टीको समग्र जिम्मेवारी दिइएको छ ।

एमालेले पार्टीका पदाधिकारीहरूको वरीयताक्रम तोकेको छ । जसअनुसार अध्यक्ष केपी ओली पहिलो, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा हुनुहुन्छ । यस्तै, उपाध्यक्षहरूमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र सुरेन्द्र पाण्डे पाँचौं वरीयतामा हुनुहुन्छ ।

यस्तै, महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो, पृथ्वीसुब्बा गुरुङ दोस्रो र विष्णु रिमाल तेस्रो वरीयतामा हुनुहुन्छ । सचिवहरूमा टोपबहादुर रायमाझी पहिलो, लेखराज भट्ट दोस्रो, रघुवीर महासेठ तेस्रो, छविलाल विश्वकर्मा चौथो, गोकर्ण विष्ट पाँचौं, योगेश भट्टराई छैटौं र पद्मा अर्याल सातौं नम्बरमा पर्नुभएको छ ।

बैठकले ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान, युवराज ज्ञवालीलाई स्थानीय तह, प्रदेश र संघ, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय र रामबहादुर थापा ‘बादल’लाई राष्ट्रिय सुरक्षाको जिम्मेवारी प्रदान गरेको छ ।

यसै गरी, विष्णु पौडेललाई पार्टी संगठन अनुगमन, सुवास नेम्वाङलाई संसदीय अनुगमन, सुरेन्द्र पाण्डेलाई राजकीय मामिला, प्रदीप ज्ञवालीलाई स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङलाई प्रचार विभाग, विष्णु रिमाल आर्थिक र लेखा विभागको जिम्मेवारी तोकिएको छ । त्यसै गरी, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा योगेश भट्टराई र संगठन विभाग प्रमुखमा खगराज अधिकारी र कार्यालय सचिवमा भीष्म अधिकारी तोकिएको एमालेले जनाएको छ ।

यसै गरी, एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । बैठकमा अध्यक्ष ओलीले राख्नुभएको १९ पदाधिकारीसहित ४५ सदस्यीय स्थायी कमिटीको प्रस्ताव पारित भएको छ ।

स्थायी कमिटीमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त हुनुहुन्छ । त्यसै गरी, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की पनि स्थायी कमिटिमा समेटिनुभएको छ । पूर्वमाओवादीतर्फबाट मणिचन्द्र थापा र प्रभु साहलाई स्थायी कमिटीमा समेटिएको छ ।

बैठकले सातवटै प्रदेशमा इन्चार्ज तोकेको छ । महासचिव शंकर पोखरेलले दिनुभएको जानकारी अनुसार प्रदेश–१ मा देवराज घिमिरे, प्रदेश–२ मा रघुवीर महासेठ, वागमती प्रदेशमा काशिनाथ अधिकारी, गण्डकी प्रदेशमा पद्मा अर्याल, लुम्बिनी प्रदेशमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट इन्चार्ज तोकिनुभएको छ ।
बैठकले पोलिटब्युरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनित पनि गरेको छ । यसका साथै बैठकले सातै प्रदेशको प्रदेश कमिटिसमेत गठन गरेको छ । केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिटब्युरो गठन गरेको नेता महेश बस्नेतले जानकारी दिनुभयो ।

त्यसै गरी, बैठकले २९ जना पुरुष र १४ जना महिलासहित ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेहरूमा दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन श्रेष्ठ, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रूपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी र लालबाबु पण्डित रहनुभएको बस्नेतले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय कमिटी बैठकले सातवटै प्रदेशको नेतृत्व परिवर्तन गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । प्रदेशमा प्रदेश अध्यक्ष पदेन केन्द्रीय सदस्य रहने गरी एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, महिलासहित दुई उपसचिव रहेको प्रदेश कमिटि गठन गरेको नेता बस्नेतले जानकारी दिनुभयो ।

जसअनुसार प्रदेश नम्बर १ को अध्यक्षमा तुलसी न्यौपाने, वागमती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे, गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा, लुम्बिनी प्रदेशमा अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णाली प्रदेश अध्यक्ष विनोद शाह, सुदूरपश्चिम प्रदेशको अध्यक्ष दामोदर भण्डारी र उपत्यका विशेष अध्यक्षमा प्रेमकुमार पराजुली चयन भएको एमालले जनाएको छ ।
प्रदेश संगठन कमिटि आगामी माघ ८ गतेसम्मका लागि चयन गरिएको र यही कमिटिले नयाँ नेतृत्व चयन गर्ने गरी जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।

बैठकको निर्णयलाई सबैले स्वीकार्नु पर्छ : एमाले अध्यक्ष ओली
एमालेको अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताउनुभएको छ । बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– ‘हामीबीचको एकता मात्रैले सबै कुरा जित्न सकिन्छ, ‘एकता एकता एकता’ भन्ने मन्त्रलाई ध्यान दिएर अगाडि बढ्नुपर्छ कसैलाई जिम्मेवारी पुगेन भने पछि उचित जिम्मेवारी दिनेछौं ।’

केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल नभई गाह्रो भएको जिकिर गर्दै उहाँले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई ९ सय जनाको नाम आएको बताउनुभयो । पोलिटब्युरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्टमध्येको उत्कृष्ट छान्न गाह्रो भएको उहाँले बताउनुभयो ।

लोकतान्त्रिक विधिमा निर्वाचन पद्धतिले नै सबै ठीक गर्छ भने होइन भन्दै उहाँले भन्नुभयो– ‘नेतृत्वसँग देशभरलाई हेर्ने र बुझ्ने क्षमता हुने भएकाले नेतृत्वले तयारी गरेर ल्याएर गरिएको निर्णय सबभन्दा बढी विश्वासिलो र लोकतान्त्रिक हुन्छ ।’

बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘कतिपयलाई अन्याय पर्यो होला तर योभन्दा राम्रो प्रस्ताव अरू हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्