किड्नी टान्सप्लान्ट माघमा हुन्छ : पल्पसा डंगोल



करिब तीन दशकदेखि अभिनय, नृत्य तथा स्टेज प्रहसनमार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी हास्य कलाकार पल्पसा डंगोल अभिनय जगत्मा ‘चम्सुरी’ उपनामले चिनिन्छिन्। सानोदेखि ठूला पर्दाका फिल्मसम्म अभिनय गर्दै आएकी उनले १६ वर्षदेखि हास्य टेलि सिरियल मेरी बास्सैको चम्सुरीका रूपमा लोकप्रियता कमाउँदै आएकी छिन्। विभिन्न टेलिफिल्म निर्माण र निर्देशनसमेत गर्दै आएकी उनै पल्पसा मृगौलाले काम गर्न छोडेपछि हाल मृगौला प्रत्यारोपणको तयारीमा छिन्। पल्पसाले आफूलाई यति धेरै दुःख पर्दा पनि दर्शकलाई हँसाउन भने छाडेकी छैनन्। अस्वस्थताका कारण अस्पताल बसाइका क्रममा केही समय मेरी बास्सैमा नदेखिएकी उनी कमजोर शारीरिक अस्वस्थताका बाबजुद दर्शकलाई हँसाउनका लागि फेरि मेरी बास्सैमा फर्किएकी छिन्। पल्पसाका साथ उनको स्वास्थ्य अवस्था र कला क्षेत्रबारे गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

रश्मी थापा ।

अहिले स्वास्थ्य अवस्था कस्तो छ?
अहिले ठीकै छ, हप्तामा दुईचोटी डाइलोसिस गर्नुपर्छ। गरिरहेको छु। हप्ताको दुई दिन मेरी बास्सैको सुटिङमा समय दिइरहेको छु। उकालो हिँड्दा गाह्रो हुन्छ। भाइहरूले सहज होस् भनेर गाडी तथा बाइकमा लगिदिने व्यवस्था गर्नुहुन्छ।

स्वास्थ कठिनाइका बाबजुद काम गरिरहनुभएको छ। के कुराले काम गर्ने ऊर्जा दिँदो रहेछ?
दर्शकको मायाले नै ऊर्जा दिएको हो। मलाई मेरी बास्सैमा नदेख्दा दर्शकले धेरै खोज्नुभयो। मेरी बास्सैमा कहिले आउने, छिटो खेल्नुपर्छ, भनिरहनुहुन्थ्यो। स्पोन्सरहरुले पनि खेल्नुपर्छ भनेर खोज्नुभयो। अनि घरैमा मात्र बसिरहनु हुँदैन भन्ने पनि लाग्यो। दर्शकले मप्रति देखाउनु भएको शुभेच्छा र मायाका कारणले नै मेरी बास्सै खेलिरहेकी छु। मेरी बास्सै भनेको आफ्नै घरको काम भयो। त्यस कारण पनि हप्तामा दुई दिनमात्र समय दिने गरेकी छु। अन्य धेरै अफर आउने गर्छन्, तर स्वास्थ्यका कारण काम गर्न पाएको छैन।

के स्वास्थ्य समस्या थियो र अचानक किड्नीले काम गर्न छोड्यो?
मृगौलामा समस्या भएको त ७/८ वर्ष भयो। शुरु–शुरुमा कामज्वरो आइरहन्थ्यो। त्यति बेला डक्टर महेश सिग्देललाई जचाएँ। युरिन इन्फेक्सन भएको देखियो। उपचार गर्दै जाँदा किड्नीमा समस्या छ, निको त हुँदैन मेन्टेन गर्नुपर्छ भन्नुभयो। त्यही बेलादेखि नै घरमा चाँहि युरिक एसिडको समस्या छ भनेर मृगौलाको औषधि सेवन गर्ने गर्थें। घर–परिवारमा नभनीकनै मेन्टेन गर्छु, ठूलो समस्या नआउला भन्ने सोच थियो। निरन्तर डक्टरको फलोअपमा थिएँ। १५–१५ दिनमा ब्लड चेकअप गर्थें। मासिक १५/२० हजारको औषधि खाने गरेको थिएँ।

तर, लकडाउनका कारण तीन महिना अस्पताल गइएन र आयुर्वेदिक औषधि खाएँ। आयुर्वेदिक औषधि खाँदा पानी बढि खानुपर्ने, मृगौलाको रोगलाई पानी खानै नहुने। आयुर्वेदिक औषधि खाएको केही समयपछि श्वास फेर्नै गाह्रो हुन थाल्यो। हस्पिटल गएँ, निमोनिया देखियो। मैले निमोनियाको भ्याक्सिन लगाएको थिएँ, निमोनिया हुने गरी चिसोमा हिँडेको पनि थिइनँ।

सायद पानी बढी भएर होला निमोनिया भइसकेको रहेछ। अनि डाइलोसिस नै गर्नुपर्ने अवस्था आयो। पहिलो डाइलोसिस गरेपछ निकै गाह्रो भयो। जताततै दुख्थ्यो, स्वास्थ्य सुधार होला भन्ने नै लागेको थिएन, अनि दीपाश्री निरौला, कुञ्जना घिमिरेलगायतलाई म बाँच्दिन होला भनेर म्सासेज पठाएँ । त्यसपछि मात्र मेरो स्वास्थ्य समस्या बाहिर आएको हो।

आयुर्वेदको मात्र भर परेर समस्या भएको हो कि?
यो गरे निको हुन्छ कि, त्यो गरे निको हुन्छ कि भन्ने लाग्थ्यो। मनमा कसरी आफू परिवारले थाहा पाउनुभन्दा अघि ठीक हुने भन्ने थियो। त्यही कारण आयुर्वेदिक औषधिले पो निको हुन्छ कि भनेर एक ठाउँको आयुर्वेदिक अस्पतालमा देखाएर औषधि खाएको थिएँ।

अहिले आयुर्वेदको मात्र भर परेर गल्ती गरें भन्ने लाग्छ कि?
हो, आयुर्वेदिक औषधि खाएकोमा पछुतो लाग्छ। अरू रोगका लागि आयुर्वेदले काम गरे पनि किड्नीको रोगका लागि भने आयुर्वेद ठीक होइनरहेछ भन्ने बुझें। अरूलाई किड्नीको समस्या भएका बिरामीलाई पनि आयुर्वेदिकको भर नपर्न सुझाव दिन्छु।

मृगौलाले काम गर्न छोडेको थाहा पाउँदा शुरुमा दिमागमा के कुरा आयो?
कसरी हुन्छ रोग निको नभए पनि बढ्न दिन्न भन्ने सोच आयो। काममा नै व्यस्त भएँ र आफूलाई कसरी हुन्छ स्वस्थ बनाउनुपर्छ भन्नेतिर लागें। जब लकडाउनपछि स्वास्थ्यमा झन् समस्या आउन थाल्यो र पहिलो डाइलोसिस गरियो, त्यस बेला शरीरमा निकै पीडा हुन्थ्यो। त्यसपछि चाँहि आफूलाई के हुने होला भन्ने कुरा मनमा आइरहन्थ्यो। अहिले चाहिँ अब बाँच्छु भन्नेमा पुगेकी छु।

यस्तो समस्या हुँदा पनि किन लुकाउनुभयो त?
मेरा दुई छोरी सानै छन्। घरमा म जेठी छोरी, ममी–ड्याडी पनि सुगर र प्रेसरको रोगी हुनुुहुन्छ। बच्चाहरुलाई स्याहार्नेदेखि आमाबुबालाई हस्पिटल लाने ल्याउने जिम्मेवारी मेरो थियो। आफूमा भएको स्वास्थ्य समस्या उहाँहरुलाई भन्दा कस्तो असर पर्ला, एक जनालाई भन्यो भने सबैलाई थाहा हुन्छ, सबैलाई चिन्ता हुन्छ। बरु औषधि खाएर कसैलाई नभनी निको पार्छु भनेर समस्या लुकाएकी थिएँ।

एउटा कलाकारलाई यस्तो समस्या पर्दा कला क्षेत्रबाट कतिको साथ पाइँदो रहेछ?
अपेक्षा त केही पनि राखेको थिइनँ। तर, मेरो समस्या बाहिर आएपछि धेरै कलाकर्मी तथा दर्शकको माया पाएँ। प्रायःजसो सबै जना हस्पिटलमा भेट्न आउनुभयो। आएपछि धेरैले माया गर्ने रहेछन् भनेर आफूमा हौसला पलायो। हास्य क्षेत्रका मात्र नभई दोहोरी, फिल्म क्षेत्रलगायत विभिन्न संघ–संस्थाका पदाधिकारीहरु भेट्न आउनुभयो। त्यो नै मेरो लागि हौसला र आत्मबल थियो।

खर्च निकै भइरहेको होला?
एकपटक डाइलोसिस गर्दा करिव ४/५ हजार खर्च हुन्छ। शुरुमा १० चोटीसम्मको डाइलोसिसको सबै खर्च आफैं गर्दै आएको थिएँ। पछि मृगौला रोगीका लागि डाइलोसिस गर्दा लाग्ने २५ सयदेखि ३ हजार रुपियाँ सम्म सरकारबाट दिइनेरहेछ। त्यो कुरा मलाई थाहा थिएन। टिचिङ हस्पिटलबाट नै थाहा पाएँ। १० चोटीसम्म पूरै आफ्नै खर्चमा डाइलोसिसपछि टिचिङ अस्पतालकै रिफरमा किस्टमा डायलोसिस गरिरहेकी छु।

डाइलोसिस गर्नुभन्दा अघि औषधिको मासिक खर्च भन्दा अहिले कम खर्च भइरहेको छ। मलाई मृगौला दिने व्यक्तिको पनि सम्पूर्ण शरीरको जाँच भइसकेको छ। त्यसमा पनि ४/५ लाख खर्च लाग्ने रहेछ। अहिलेसम्म ८/९ लाख खर्च भयो। किड्नी टान्सप्लान्ट गर्ने बेलासम्म २० लाख जति लाग्ला भन्ने अनुमान छ। तर, किड्नी टान्सप्लान्टको खर्च सरकारबाट हुने भन्ने कुरा भएको छ।

कलाकर्मीले आर्थिक सहयोग गर्छु भन्दा नकार्नुभयो, आफैंले खर्च धान्न गाह्रो भएन?
सहयोगको आवश्यकता नपर्ने सायद कोही हुँदैन। तर, म व्यक्ति–व्यक्तिबाट सहयोग लिन चाहन्न। कलाकारलाई माग्ने जस्तै बनाएर ५/१० हजार सहयोग दिएर फोटो खिच्दा अप्ठेरो महसुस हुन्छ। सहयोग पनि व्यवस्थित रूपमा आयो भने राम्रो हुन्छ।

संस्थागत रूपमा रकम जम्मा गरेर उपचारमा सहयोग गर्छ भने त्यो अर्कै कुरा हो। त्यो रकम पनि मेरो हातमा होइन, सीधै अस्पतालको बिल तिरिदिए हुन्छ। सहयोग गर्छु भन्ने धेरै हुनुहुन्छ, धेरै दर्शकले विदेशबाट सम्पर्क गर्नुहुन्छ। दीपाश्री निरौला, दीपकराज गिरी, कुञ्जना घिमिरेलगायतका कला क्षेत्रका व्यक्तिले पनि के गरेर हुन्छ निको पार्छौं, इन्डिया लान पनि तयार छौं भन्नुहुन्छ।

यस्ता खालका गम्भीर रोग लागेका कलाकारका लागि कस्ता खालको व्यवस्था भइदिए हुन्थ्यो भन्ने लाग्छ?
मैले त कलाकारितामार्फत कमाएर केही रकम जोहो गरेको थिए“। जसका कारण मैले अहिलेसम्म आफैं उपचार खर्च धानिरहेकी छु। तर, आर्थिक अवस्था कमजोर भएका धेरै कलाकार छन्, जसलाई भोलिका दिनमा यस्ता समस्या आउन सक्छ।

झन् यस्तो दीर्घ रोग लागेपछि त निकै गाह्रो पर्छ। मैले धेरै राम्रो आर्थिक अवस्था भएका साथीहरु पनि मृगौला रोगका कारण आर्थिक समस्यामा पर्नुभएको देखेकी छु। त्यस कारण कलाकारलाई रोग लाग्दा सहयोग गर्ने फन्ट होस्, जसबाट कुनै पनि कलाकारलाई गम्भीर रोग लाग्दा उपचार खर्चको अभावमा हात फैलाउन नपरोस् भन्ने लाग्छ।

उपचारका क्रममा के–कस्ता समस्या भोग्नुभयो?
खासै समस्या भोख्नु परेन। मैले आफ्नो रोग लुकाएँ, त्यो मेरै गल्ती हो। तर, जब मेरो रोग बाहिर आयो, सबैबाट सहयोग पाइरहेकी छु। टिचिङ अस्पतालमा उपचार गराउँदा पनि मलाई थाहा नभएको सरकारी सेवाबारे भनेर कसरी हुन्छ सहयोग पुग्ने गरी उपचार भरहेको छ।

किड्नी टान्सप्लान्टको तयारी के छ?
शुरुमा मेरो आमाले नै मृगौला दिने इच्छा गर्नुभएको थियो। तर, सुगरको औषधि खाइरहनुभएका कारणले मिलेन। परिवारका सबै सदस्यले मलाई मृगौला दिन तयार हुनुभएको थियो। नेपालमा कानुनी रूपमा परिवारभित्रको सदस्यले मात्र मृगौला दिन मिल्ने प्रावधानअनुसार परिवारकै व्यक्तिको मृगौला प्रत्यारोपण गर्ने प्रोसेस अगाडि बढिरहेको छ। मृगौला दिने व्यक्ति र मेरो क्रसम्याच भइसकेको छ। अहिले नाता प्रमाणपत्र तयार गर्ने जस्ता सरकारी काम भइरहेको छ। त्यसपछि छिट्टै मृगौला प्रत्यारोपण गरिनेछ। सायद माघ २० तिर हुन्छ होला।

नेपालमै गर्नुहुन्छ कि विदेश जानुहुन्छ?
पहिलेदेखि नै टिचिङ हस्पिटलमा उपचार गर्दै आइरहेको छु। यहाँको उपचार पनि राम्रो छ। हुन त केहीले बाहिर उपचार गराउनुपर्छ, नेपालमै गरे पनि के सरकारी अस्पतालमा उपचार गराएको होला भन्नुहुन्छ। तर, टिचिङमा मृगौला रोगका बिरामीहरुका लागि सम्पूर्ण उपचारको सुविधा छ। विदेशमा टान्सप्लान्ट गरे फलोअपका लागि गइरहनुपर्छ। कहिले लकडाउन हुन्छ, कहिले के हुन्छ, विदेश गइरहने वातावरण सधैं नहुन सक्छ। त्यसैले नेपालमै प्रत्यारोपण गर्ने तयारी गरेकी छु।

कला क्षेत्रको अबको यात्राबारे के सोच्नुभएको छ?
शरीरले साथ दिएसम्म कलाकारितामै काम गर्ने योजना बनाएको छु। अहिले स्वास्थ्य अवस्थाका कारण कलाकारितालाई पूर्णरूपमा चाहेर पनि समय दिन सकेको छैन। अहिले गर्न नसकेका काम स्वास्थ्यले भ्याएसम्म आगामी दिनमा गर्नेछु।

 

प्रतिक्रिया दिनुहोस्