खोपबाट वञ्चित विद्यार्थी



कोरोना रोकथाम गर्ने मुख्य उपाय खोप हो भन्नेमा सबैजसो नेपाली विश्वस्त छन् । विश्वका विकसित मुलुकका नागरिकमध्ये उल्लेख्य संख्यामा खोपको विरोध गर्नेहरू बाहिर आइरहेका सन्दर्भमा नेपालमा भने खोपका पक्षमा नै पूर्ण जनमत देखिन्छ । केही व्यक्तिहरूमा खोपप्रति शंका त देखिन्छ तर त्यसले बलियो आकार लिएर प्रकट हुनसकेको छैन । पूर्ण मात्रा खोप नलगाएका मुलुकमा कोरोना संक्रमण दर उच्च भएको जानकारीले पनि नेपालमा खोपको माग बढेको छ । नेपालमा खोप लाउन चाहेर पनि लाउन नपाएका जनताको संख्या ठूलो छ । खोप लाउन नपाएकै कारण कोरोना संक्रमण पुनः दोहोरिने, यसले संक्रामक रूप लिनसक्ने सम्भावना जहाँको त्यहीँ छ । अहिले विश्वभर ओमिक्रोन भेरियन्ट त्रासको विषय बनेको छ । यस्तो अवस्थामा झण्डै ६५ लाख स्कुले विद्यार्थी खोपबाट वञ्चित छन् । यसलाई गम्भीर रूपमा लिनुपर्छ ।

९ देखि १८ वर्ष उमेर समूहका ती बालबालिकालाई खोपको व्यवस्थापन आवश्यक छ । अभिभावक महासंघ, निजी विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनलगायतका निकायले खोपको व्यवस्था गर्न सरकारसमक्ष पटक–पटक आग्रह गरिसकेका छन् । खोप व्यवस्थापन गर्ने आश्वासन दिए पनि सरकारले पूरा गर्न सकेको छैन । विद्यार्थीलाई खोपको सुनिश्चितता गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलबीच पटक–पटक छलफल भएको समाचार त बाहिर आयो, तर परिणाम आएन । स्वास्थ्यमन्त्री खतिवडाले विद्यालयमै खोप केन्द्र व्यवस्थापन गरी खोप लगाउने बताउँदै आउनुभएको छ । तर, कहिले भन्ने प्रश्नको उत्तर सरकार स्वयंले दिन सकेको छैन ।

अभिभावकसँग प्रत्यक्ष जोडिएका विद्यार्थीलाई खोप दिन प्रधानमन्त्रीले समेत चासो दिनुभएको छ । तर, खोपको सुनिश्चितता हुन सकेको छैन । हिजोबाट १८ वर्षमाथिका व्यक्तिलाई देशैभर खोप लगाउन थालिएको छ । तर, सोभन्दा कम उमेर समूहका बालबालिकालाई कहिलेबाट खोप शुरू गर्ने भन्ने विषय अलमलमै छ । सरकारले दुई डोज खोप लगाएका व्यक्तिलाई बुस्टर डोज दिन तयारी गरिसकेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ, तर विद्यार्थीका लागि खोप उपलब्ध गराउने विषयमा निर्णय गर्न नसक्नु लज्जास्पद देखिन्छ । करिब ३ करोड जनसंख्या रहेको मुलुकमा १ करोड ९५ लाखले मात्र खोप लगाएका छन् । यसमा ३५ प्रतिशतले पहिलो, २९ दशमलब २ प्रतिशतले दोस्रो मात्रा खोप लगाइसकेका छन् । उक्त जनसंख्यामा ९ देखि १८ वर्ष उमेर समूहका बालबालिका परेका छैनन् ।

कोभ्याक्स सुविधाबाट आउने भनिएको अन्य खोप आउने सुरसार छैन । घरपरिवार र समाजसँग प्रत्यक्ष जोडिएका बालबालिकालाई खोपको सुनिश्चितता नगरेसम्म कोरोना नियन्त्रण मुस्किल देखिएको छ । एक साताअघि वागलुङको एक विद्यालयका २६ विद्यार्थी र केही शिक्षकलाई कोभिड देखिएपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । सोही अवस्था अन्य विद्यालयमा दोहोरिन नदिन तत्काल खोपको व्यवस्था गर्नुपर्ने देखिन्छ । बालबालिकालाई खोपबाट वञ्चित गर्ने, वयश्कले खोप लगाएर सबै सुरक्षित भए भन्ने ठान्ने प्रवृत्ति आफैंमा त्रुटिपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्