शिक्षक–कर्मचारीले गरे नगरपालिकामा तालाबन्दी



वासुदेव शर्मा, जाजरकोट ।

बालविकासमा कार्यरत शिक्षक–कर्मचारीले वृद्धि गरेको तलब नपाएको भन्दै जाजरकोटको नलगाड नगरपालिकामा तालाबन्दी गरेका छन् । उनीहरुले सरकारले वृद्धि गरेको १५ हजार रुपियाँ तलब पाउनुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् ।

केपी शर्मा ओली सरकारले प्रस्तुत गरेको बजेटमा बालविकास र विद्यालय कर्मचारीले न्यूनतम पारिश्रमिक १५ हाजर पुर्याउने उल्लेख गरेको थियो । उनीहरुले पाउँदै आएको तलबमा ७ हजार पालिकाले थप्ने र २ हजार संघीय सरकारले थपेर १५ हजार पुर्याउने भने पनि नलगाड नगरपालिकाले बजेट नभएको भन्दै थप ७ हजार दिन नसक्ने बताएपछि बालविकास शिक्षक–कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । वित्तीय समानीकरणको बजेटबाट तलब भत्तामा खर्च गर्न नमिल्ने भनी अर्थ मन्त्रालयबाट पत्र आएकाले आन्तरिक राजस्वमा ७ हजार दिन सकिने अवस्था नभएपछि कार्यान्वयन हुन नसकेको नलगाड नगरपालिकाले जनाएको छ ।

संघीय सरकारले बजेट वक्तव्यमा घोषण गरेअनुसारको तलब नलगाड नगरपालिकाले कार्यान्वयन नगरेसम्म बालविकास शिक्षक, विद्यालय कर्मचारीहरुले आन्दोलन जारी राख्ने शिक्षिका सिर्जना खड्काले बताउनुभयो । शिक्षक कर्मचारीले नलगाड नगरपालिका र शिक्षा युवा तथा खेलकुद शाखामा तालाबन्दी गरी एक घण्टा धर्ना पालिकाका कर्मचारीहरुलाई कार्यालयमा प्रवेश गर्न रोक लगाउने, नगरपालिका घेराउ गर्ने, शुक्रबार हातमा कालोपट्टी बाँधी नगरपालिकामा धर्ना बस्ने, आइतबार नगरपालिकाभित्रका सबै विद्यालय बन्द गर्ने, सोमबार १ देखि १३ वटै वडा कार्यालयमा ज्ञापनपत्र बुझाई कामकाज ठप्प पार्ने, मंगलबार पालिकाभित्रका सबै विद्यालय अनिश्चित कालका लागि बन्द गर्ने, नगरपालिकाले सञ्चालन गर्ने कुनै पनि कार्यक्रममा विद्यालयको सहभागिता नजनाउने लगायतका आन्दोलनका कार्यक्रम घोषण गरेको विद्यालय कर्मचारी डम्बर शाहीले बताउनुभयो ।

नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बजेट अभावले संघीय सरकारले पठाएको रकमबाहेक छुट्टै तलब नगरपालिकाले थप्न नसक्ने प्रस्ट पार्नुभयो । बालविकास शिक्षकले प्रतिमहिना ६ हजारका दरले तलब निकासा गरेकोमा चालू आर्थिक वर्षमा बढेको २ हजारसहित ८ हजार साउनदेखि बुझ्दै आएका छन् । उता, जुनीचाँदे गाउँपालिकामा अनुदान शिक्षक र बालविकास शिक्षकले गत साउनदेखि सेवा–सुविधा नपाएको भन्दै प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकामा तालाबन्दी गरेको जनाएका छन् । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी पाएका शिक्षकले गत साउनदेखि तलब नपाएपछि प्रेस विज्ञप्तिमार्फत स्थानीय सकारको ध्यानाकर्षण गराएको अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष देवप्रकाश सिंहले बताउनुभयो ।

शिक्षक संघर्ष समितिले सार्वजनिक गरेको प्रेस विज्ञप्तमा अविलम्ब तलबको व्यवस्था गर्नुपर्ने, संघीय सरकारको व्यवस्थाअनुसार तहगतरूपमा तलब निर्धारण गर्नुपर्ने, पोशाक भत्ताको व्यवस्था गर्नुपर्ने, संघीय सरकारको वजेटबमोजिम तहअनुसार तलब वृद्धि गर्नुपर्ने, चौमासिक शिक्षकको तलब भुक्तानी गर्नुपर्ने लगायतका माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र वुझाएका छन् । माग सम्वोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषण गर्ने विज्ञाप्तिमा उल्लेख गरिएको छ । संघीय सरकारले गरेको निर्णय कार्यान्वयन नगरे थप आन्दोलन गर्ने शिक्षक संघर्ष समितिले जनाएको छ ।

माध्यमिक विद्यालयका १३, प्राथमिक विद्यालयका ४०, आधारभूत विद्यालयका १० जना, बालविकासका २८ जना शिक्षक र ९ जना कार्यालय सहयोगीले सेवा–सुविधा नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्