प्रदेशको पदाधिकारीको संख्या बढाउने माओवादीको निर्णय



काठमाडौं ।

नेकपा माओवादी केन्द्रले प्रदेशको पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । पदाधिकारीको संख्या कम हुँदा नेताहरुको व्यवस्थापनमा समस्या भएपछि माओवादीले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो ।

बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या नौ जना बनाउने निर्णय गरेको छ । प्रदेश पदाधिकारीमा अध्यक्ष एक जना, उपाध्यक्ष तीन जना, सचिव एक जना, सहसचिव तीन जना र कोषाध्यक्ष एक जना बनाउने भएको हो । माओवादीका प्रवक्ता कृष्णबहादुर महराले प्रदेश कमिटीमा पदाधिकारीको संख्या थप गर्ने निर्णय भएको बताउनुभयो । माओवादीले यसअघि प्रदेश कमिटिको पदाधिकारी सात सदस्यीय रहेको थियो ।

बैठकले प्रदेश कमिटीको सदस्य संख्या बढाउने निर्णय गरेको छ । प्रदेश नम्बर १ मा २ सय ५९, प्रदेश नम्बर २ मा २ सय ७१, वागमती प्रदेशमा २ सय ७५, गण्डकी प्रदेशमा २ सय २९, लुम्बिनी प्रदेशमा २ सय ५३, कर्णाली प्रदेशमा २ सय ११ र सुदूरपश्चिम प्रदेशमा २ सय २३ जनाको कमिटि बनाउने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

बैठकले माओवादी पार्टी प्रवेश गर्नेहरूको सम्बन्धमा अध्ययन गर्न नेता देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको तीन सदस्यीय कार्यदल गठन गरेको छ । त्यसै गरी, महिला विभाग गठन गरेर विभाग प्रमुखको जिम्मेवारी पम्फा भुसाललाई दिने निर्णय गरेको छ । यसअघि माओवादीले ३२ वटा विभागलाई पूर्णता दिने निर्णय गरिसकेको छ । केही विभागका उपप्रमुख र सदस्यहरुको संख्या भने थप्न बाँकी रहेको छ । माओवादीले राष्ट्रिय सम्मेलनअन्तर्गत यही २५ गते सातवटै प्रदेशमा प्रदेश सम्मेलन हुने कार्यक्रम रहेको छ ।
पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनअन्तर्गत वडा, स्थानीय तहको सम्मेलन सम्पन्न भइसकेको छ । जिल्ला सम्मेलन थाती राख्दै माओवादीले प्रदेश कमिटिको सम्मेलन गर्न लागेको हो ।

माओवादीले वडा, स्थानीय तह प्रदेश कमिटी हुँदै राष्ट्रिय सम्मेलनमार्फत पार्टीको शक्तिलाई बलियो बनाउने नीति लिएको छ । राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिने गरी अहिलेसम्म कुनै पनि नेताले दाबी गरेका छैनन् । माओवादीमा ३२ वर्षदेखि प्रचण्ड अध्यक्ष रहँदै आउनुभएको छ । आगामी राष्ट्रिय सम्मेलनबाट पनि प्रचण्ड अध्यक्षमा निर्वाचित हुने निश्चितजस्तै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्