भारतीय सेना प्रमुख रावत र पत्नीसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु



न्युज अफ नेपाल, काठमाडौं । 

भारतीय सेना प्रमुख बिपिन रावत र उहाँकी पत्नी बोकेको भारतीय वायुसेनाको दुर्घटनाग्रस्त सैन्य हेलिकोप्टरमा यात्रारत १४ जनामध्ये तेह्र जनाको मृत्यु भएको पुष्टि भएको छ । बुधबार तमिलनाडुको निलगिरि पहाडी जिल्लाको कूनर नजिकै दुर्घटना भएको थियो । स्रोतका अनुसार डिएनए परीक्षणमार्फत शवको पहिचान पुष्टि हुनेछ ।

छानविनको आदेश भएपनि सिडीएस रावत, उहाँकी श्रीमती र अन्य सैनिक कर्मचारी बोकेको आइएएफको एमआई–१७–भी–५ हेलिकोप्टर दुर्घटनामाबारे सरकारले बिहीबार संसदलाई जानकारी गराउने बताइएको छ । विमान कोयम्बटोरस्थित सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनस्थित ‘डिफेन्स स्टाफ कलेज’तर्फ जाँदै थियो ।

यसैबीच रक्षामन्त्री राजानाथ सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्घटनाबारे जानकारी गराउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले घटनाबारे प्रतिक्रिया दिँदै ट्वीटमा सैनिक हेलिकोप्टर दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

हेलिकोप्टर दुर्घटना भएको ठाउँबाट निकालिएका शवहरु सैनिक अस्पताल वेलिङ्गटन लगिएको छ । यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा आवश्यक सबै सहयोग उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउनुभएको थियो । प्रारम्भिक जानकारीमा तामिलनाडुका वनमन्त्री के रामचन्द्रनले भने दुर्घटनामा सवार पाँच जनाको मृत्यु भएको जानकारी दिनुभएको थियो ।

दुर्घटनाग्रस्त हलिकोप्टरमा सवार जनरल रावतसहित मृतक सैनिक तथा कर्मचारीहरूको नामावली भारतीय वायु सेवाले सार्वजनिक गरिसकेको छ । दुर्घटनामा सिडीएस जनरल रावत र उहाँकी पत्नी मधुरिका रावत, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नल हरजिन्दर सिंह, एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साई तेजा र हाव सत्पाललगायत विमानमा सवार थिए । आइएएफले दुर्घटनाको छानविन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्