योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा उठ्ने



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नीति र नेतृत्वबीच तालमेल हुनुपर्ने भन्दै पार्टीलाई गतिशील बनाउन आफूले उम्मेदवारी दिएको पोखरेलले बताउनुभयो ।

अघिल्लो महाधिवेशन १ हजार ९६ मत प्राप्त गरे पनि विजयी हुन नसक्नुभएका पोखरेलले यसपटक आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । ‘१३औं महाधिवेशनमा सबै महाधिवेशन प्रतिनिधि साथीहरू माझ पुग्न नसक्दा लोकप्रिय मत प्राप्त गरे पनि विजयी हुन सकेको थिँइन । तर, यसपटक धेरै साथीहरूसँग सम्पर्कमा रहेको छु । साथै अधिकांश स्थानमा पुगेर पार्टीका साथीहरूसँग मिलेर संगठन विस्तारका काममा खटिएको हुँदा जित्नेमा ढुक्क छु ।’ पोखरेलले भन्नुभयो ।

पोखरेलले पार्टीको नीति र कार्यक्रममा कोभिड–१९ को महामारीबाट सिर्जित आर्थिक एवम् सामाजिकलगायतका समस्याहरू समाधान गर्न नयाँ युग सुहाउँदो समुन्नत विकास योजना र वैचारिक बहसको पहल र नेतृत्व प्रदान गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय क्षेत्रमा सार्वभौम नेपालको सार्थक एवम् प्रभावकारी प्रतिनिधित्व र प्रस्तुति गर्न, लोकतान्त्रिक व्यवस्था र कांग्रेस पार्टीभित्र अवधारणागत र आचरणगत सुधारका लागि जोड दिँदै युवाहरुको भूमिकालाई शसक्त तथा गतिशील बनाउन, सार्थक समावेशीता र सांस्कृतिक सह–अस्तित्वको उन्नत अभ्यास बढाउन, बदलिँदो बजार संरचना र अर्थ बजारसँग युवालाई समाहित गर्ने गरी पार्टीको नीति बनाउन, पार्टीको सैद्धान्तिक आधार समाजवादलाई वर्तमान परिवेशमा व्याख्या र यसको प्रयोगबारे बहस चलाउन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको पोखरेलको भनाइ छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा प्युठानबाट नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएका पोखरेल दुईपटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रमुख कार्यकारी अधिकृतका साथै साढे दुई दशकसम्म इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापनसमेत गर्नुभएको थियो । लामो समयसम्म पार्टीको नीति निर्माणमा संलग्न उहाँ लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार तथा जेल सजाय पाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्