हस्तकलाको ऐतिहासिक पक्ष सार्वजनिक



कलाकार तथा लेखक धर्मराज शाक्यद्वारा लिखित पुस्तक हस्तकलाको ऐतिहासिक पक्ष सार्वजनिक गरिएको छ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त कृतिको लोकार्पण गर्दै समाजमा हस्तकलाको महत्व विशिष्ट रहेको चर्चा गरे।

‘हस्तकलाको ऐतिहासिक महत्वलाई लेखकले पुस्तकमार्फत ल्याउन सफल भएको देखिन्छ’ उनले भने। प्रतिष्ठानको हस्तकला विभागले प्रकाशन गरेको पुस्तकमाथि चर्चा गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले नेपाली संस्कृति र कलाको संरक्षण तथा संवद्र्धनका लागि निरन्तर खोज अनुसन्धान हुनुपर्नेमा जोड दिए। उनले लेखक आफैं कुशल शिल्पी, कला र संस्कृति विषयका अध्येता भएकाले निकै गहन ढंगले खोज–अनुसन्धान गरी पुस्तक तयार पारेको बताए। समालोचक तेजविलास अधिकारीले पुस्तकमाथि समीक्षा गर्दै हस्तकलाका विविध पाटालाई बुझ्न र अध्ययन गर्न सार्वजनिक कृति निकै उपयोगी रहेको बताए।

प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले प्रतिष्ठानले नेपालका विविध कला र शिल्प ज्ञानलाई खोज अनुसन्धान गर्दै प्रकाशन गरिरहेको बताए। नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्यले हस्तकलाको महत्व र आवश्यकतालाई पुस्तकमा केलाइएको बताए।

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले विमोचित कृतिले नेपाली हस्तकलाको इतिहासदेखि वर्तमानसम्मको चित्रलाई केलाएको बताए। नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले हस्तकलाको सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा प्रविधिगत विषयलाई गहनतापूर्वक लेखकले उधिन्न खोजेको बताए। पुस्तकका लेखक तथा प्राज्ञ धर्मराज शाक्यले पुस्तक लेखनका क्रममा आफूले भोगेका विषयको उल्लेख गर्दै हस्तकलाको महत्व र नेपालको अर्थतन्त्रमा दिएको योगदानका विषयको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्