कांग्रेस नेतृत्वलाई आफ्नैदेखि खतरा



राजु श्रेष्ठ, काठमाडौं । 

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४औं महाधिवेशन शुरु हुन चार दिन मात्र बाँकी छ । तर, सभापति लगायतका मुख्य पदमा क–कसको उम्मेदवारी रहने भन्ने टुंगो लागेको छैन ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार अनौपचारिकरूपमा आफू सभापतिको पुनः उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । तर, अन्य पदमा कसलाई उठाउने भन्ने टुंगो लगाउन सक्नुभएको छैन । सभापतिबाहेकका पदमा आफ्ना धेरै सहयोगीहरू आकांक्षी रहेको तथा अर्को गुटका असन्तुष्ट पक्षलाई तान्ने रणनीतिमा रहेका कारण सभापति देउवाले आफ्नो टिम बनाउन नसकेको प्रस्ट छ ।

देउवाइतर गुटमा भने पदाधिकारी मात्रै होइन सभापतिका आकांक्षीसमेत धेरै रहेको हुँदा कसैले पनि टिम बनाउन सकिरहेका छैनन् । अहिले चर्चामा आएका सबैले सभापतिमा उम्मेदवारी दिन्छन् भन्ने पनि टुंगोे छैन ।
सामान्यतया नेपाली कांग्रेसमा १३औं महाधिवेशनपछि देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह स्पष्टरूपमा सक्रिय छ । देउवाको पुरानो समूहबाट विमलेन्द्र निधिले विद्रोह गरेर नयाँ गुट सिर्जना गर्नुभएको छ भने पौडेल समूहमा आधा दर्जनभन्दा बढी गुट–उपगुट छन् ।

सिटौला समूहबाट गगन थापाले विद्रोह गरी पौडेल समूहमा प्रवेश गरे पनि थापाको गुट कुन हो भन्ने स्पष्ट छैन । पौडेल समूहमा अहिले पौडेलबाहेक डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसीहरूको छुट्टाछुट्टै उपगुट छन् ।सबै उपगुटका नेतृत्वकर्ताहरूले आफूलाई सभापतिमा दाबी गरिरहेका छन् तर एक्लै अघि बढ्ने हैसियत उनीहरुको देखिन्न ।

अहिलेसम्म ६ प्रदेशसहित ६१ वटा जिल्लाको परिणाम आइसकेको छ । सर्लाही र महोत्तरीका प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन नसक्दा प्रदेश नं. २ को अधिवेशन रोकिएको छ भने १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । जसमध्ये चारवटा प्रदेशमा देउवा पक्ष र दुईवटा प्रदेशमा पौडेल पक्ष विजयी भएका छन् ।जिल्ला र प्रदेश अधिवेशन तथा मत परिणामले कांग्रेसभित्रको ‘गुट’ केन्द्रदेखि जिल्ला र गाउँसम्म नै स्थापित भएको छ । प्यानलभन्दा बाहिर ५–७ प्रतिशतभन्दा बढी मत नगएको कांग्रेसी रणनीतिकारहरूको विश्लेषण छ । उम्मेदवारको व्यक्तिगत प्रभाव र चुनावी खर्चले ती मत प्रभावित भएको उनीहरूको ठम्याइ छ ।

सबै ठाउँका आफ्ना उम्मेदवारहरूले प्राप्त गरेको न्यूनतम मतबाट १० प्रतिशत घटाएर आफूहरूले पाउने वास्तविक मत संख्याको आँकडा निकाल्ने क्रम चलिरहेको छ । सबै पक्ष यही जोड–घटाउमा लागेका छन् । यसकै आधारमा अरूलाई आफ्नो पक्षमा तान्न के गर्नुपर्छ भन्ने रणनीतिमा नेताहरूको ‘हार्डकोर टिम’ सक्रिय छ । सामान्य अर्थमा पौडेल पक्षबाट सभापतिका उम्मेदवारहरू धेरै देखिँदा देउवा बलियो देखिन्छन् । तर, अन्तिम समयमा पौडेल समूह एकजुट भई साझा उम्मेदवार खडा गरेको स्थितिमा देउवालाई गाह्रो पर्न सक्ने प्राम्भिक आँकलन छ ।

‘कथंकदाचित देउवा समूहबाट थप विद्रोह भयो, पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत कसैको आएन र दोस्रो चरणको निर्वाचन गर्नुपर्ने स्थिति भयो भने निश्चितरूपमा नै देउवाले चुनाव जित्नुहुन्छ, किनकि मतदाताको मनोविज्ञान परिर्वतन हुने मात्रै होइन, भोटर खोस्न देउवाजी सिपालु पनि हुनुहुन्छ ।उहाँमा सरकार बनाउन सांसद जुटाउने अभ्यासको अनुभव पनि छ । अझ यति बेला त उहाँ प्रधानमन्त्री हुनुहुन्छ, त्यसको राप र ताप कार्यकर्तालाई पर्छ नै । तसर्थ, देउवालाई पहिलो चरणमा नै हराउने चुनौती छ ।

उता, देउवाले आफ्नो पक्षलाई थामथुम गर्दै राख्ने र अर्को पक्षबाट धेरै उम्मेदवार उठाउने साथसाथै विभिन्न आश्वासन दिएर आफूतिर तान्ने रणनीति बनाइरहेको देखिन्छ । यसका निम्ति उपसभापतिमा दाबी गरिरहेका विजय गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीका आकांक्षी बालकृष्ण खाँड, डा. प्रकाशशरण महतलगायतलाई उम्मेदवारबाट पाखा राखेर आफूइतरका नेताहरूलाई मनाउन प्रयाससमेत भइरहेको छ ।अहिले कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइरालालगायतका नेताहरूको शक्ति (मतसंख्या) कति छ भनेर विश्लेषण गर्ने र एक चरण उनीहरूलाई लोभ्याउने काम पनि भइरहेको छ । तर, देउवाले सकारात्मक जवाफ भने पाउनुभएकोे छैन । त्यस मार्काका नेताहरू आफैं साझा उम्मेदवार बन्ने दाउमा छन् ।

पौडेल पक्षले अर्कैलाई उम्मेदवार बनायो र त्यहाँ आफ्नो भूमिका गौण हुने स्थिति देखा प¥यो भने नेताहरुले रातारात गुट परिवर्तन गर्न सक्छन् ।यता, अहिलेसम्म देउवासँग मुख फोर्न डराइरहेका र गुटको उम्मेदवार बन्ने आशा राखेका देउवा पक्षका नेताहरू प्यानलमा नपरे विद्रोह गर्ने तयारीमा छन् । यद्यपि, सुसुप्त अवस्थामा रहेको त्यो आवाजलाई देउवाले खासै महत्व दिनुभएको छैन । यसो भएको खण्डमा देउवा आफूले चुनाव नहारे पनि पदाधिकारी भने हार्ने सम्भावना बढी छ ।

देउवाका सहयोगीहरूबीच एक–आपसमा मिलाप छैन । बालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउदबीच राम्रो सम्बन्ध देखिँदैन । अर्कोतर्फ डा. प्रकाशशरण महतसँग धेरैको कुरा मिल्दैन ।देउवालाई गच्छदार, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, रमेश रिजाललगायतका सारथीलाई मनाउन चुनौती छ । देउवाले भुँइको टिप्न खोज्दा खल्तीको समेत खस्नसक्ने खतरा पनि उत्तिकै छ । अकोतर्फ अहिलेसम्म कसैले नपत्यासका तर कार्यकर्ताका बीच छाप रहेका कुलबहादुर गुरुङ, नरहरि आचार्य, महेश आचार्यदेखि सुजाता कोइरालासम्मको भूमिका के हुन्छ भन्ने विषयले पनि कांग्रेस राजनीतिलाई प्रभाव पार्छ ।

प्रतिक्रिया दिनुहोस्