नेपालमा दुई जनामा देखियो ओमिक्रोन

एक विदेशी र एक नेपाली संक्रमित, अवस्था सामान्य



ईश्वरराज ढकाल, काठमाडौं

नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएको छ । आइतबार दुई जनामा सो भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी एक विदेशी र उनीसँंगै नेपाल आएका एक ७१ वर्षीय नेपालीमा सो भाइरस फेला परेको सार्वजनिक गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले उहाँहरुको अवस्था भने सामान्य रहको बताउनभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार मंसिर ३ गते नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक नेपाल आएका थिए । नेपाल आउँदा रिपोर्ट नेगेटिभ भएको र खोपको पूर्ण मात्रा लगाएको प्रमाणपत्र थियो । त्यसपछि ७ गते पीसीआर परीक्षण गर्दा दुवै जनालाई पोजेटिभ देखिएको थियो ।

कोभिड पोजेटिभ देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्विन्सिङ गरिएको थियो । आइतबार राति आएको नतिजामा नयाँ भेरियन्ट ओमिक्रोन रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुवै जनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।मन्त्रालयका अधिकारीका अनुसार उनीहरुसँंग सम्पर्कमा आएका ६६ जनाको पीसीआर परीक्षण गरिएको र सबैको सिपोर्ट नेगेटिभ आएको छ । सरकारले कोभिड–१९ परीक्षणमा पोजिटिभ आएका सबैलाई जिन सिक्विन्सिङ गर्नुपर्ने व्यवस्था गरेको छ ।

नेपालमा ओमिक्रोन भाइरस भेटिएसँंगै सोमबारसम्म विश्वका करिब ४० देशहरुमा फैलिसकेको विश्व स्वाथ्य संगठनले जनाएको छ । तथ्याङ्कअनुसार ओमिक्रोनबाट हालसम्म करिब ६ सय संक्रमित छन् । विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलनअनुसार दक्षिण–पूर्वी एसियाली मुलुक ओमिक्रोनको उच्च जोखिममा छन् ।दक्षिण एसियाको भारत, बंगलादेश र नेपालमा यो भेरिएन्ट पुष्टि भइसकेको छ । डेल्टा भाइरसभन्दा कम खतरनाक भनिए पनि ओमिक्रोनका कारण हालसम्म कति जनाको कस्तो अवस्था भयो भन्ने पुष्टि भएको छैन । पछिल्लो समय भारतको राजधानी नयाँदिल्ली लगायत विभिन्न राज्यमा यो भाइरस प्रवेश गरिसकेको छ ।

ओमिक्रोन भेरियन्ट सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भइरहेको छ । यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको मन्त्रालयले जनाएको छ । निगरानीका लागि सर्भेलेन्स तथा कन्ट्याक्ट ट्रेसिङको कार्यलाई थप प्रभावकारी बनाइएको छ ।सरकारले ओमिक्रोन फैलिन नदिन अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवत–जावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । मन्त्रालयले खोपको विवरण लिने गरेको, लक्षण तथा चिह्नहरूको जाँच गर्ने, हवाई र स्थल नाकाहरू भई प्रवेश गर्नेहरुमध्ये पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरेको छ ।

एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमुना संकलन गरी पीसीआर गर्ने र शंकास्पद नमुनाहरुको जिन सिक्वेन्सिङ गर्ने गरिएको छ । यसका साथै विगत एक महिना अघिदेखि पोजिटिभ भएका नमुनाहरुको थप परीक्षण गरिरहेको मन्त्रालयले जनाएको छ ।
कोभिडविरुद्धको खोप लगाएकाहरुमा पनि सो भाइरस देखिन थालेपछि विशेष निगरानी अपनाइएको छ । तथ्याङ्कअनुसार नेपालमा हाल ३५ प्रतिशतले एक मात्र र २८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । सरकारले ओमिक्रोन फैलिन नदिन मास्कको प्रयोग गर्न, दुरी कायम गर्न र हात धुन वा सेनिटाइजर प्रयोग गर्न अपिल गरेको छ ।

अन अराइभल भिसामा नियन्त्रण

ओमिक्रोन जोखिम बढेपछि सरकारले राजपत्रमा सूचना जारी गरी संक्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अन अराइभल भिसा नदिने जनाएको छ ।मन्त्रिपरिषद्को निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजपत्रमा ७ बुँदे सूचना जारी गर्दै सो व्यवस्था गरेको छ । संक्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुहरुले आफ्नै खर्चमा एक साता क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख छ ।

त्यस्तै, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले केन्द्रकै संयोजनमा संस्कृति पर्टटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, गृह मन्त्रालय र सुरक्षा निकाय समेतको प्रतिनिधित्व हुने गरी एक कार्यटोली बनाई होटलमा क्यारेन्टिनको व्यवस्था गरी सोको अनुगमन गर्ने उल्लेख छ ।

सूचनामा कोभिड पोजेटिभ देखिएका यात्रुमध्ये यात्राको विवरण भएका व्यक्तिहरुको नमुना संकलन गरी जिन सिक्वेन्सिङका लागि आवश्यक व्यवस्था मिलाउने र सोको परीक्षण क्षमतालाको वृद्धि गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्