मन्त्री निवासको काम समयमा सम्पन्न गर्न मन्त्री झाँक्रीको निर्देशन (फोटोफिचर)

प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवासको ६५,मन्त्री निवासको ६६ प्रतिशत काम सम्पन्न



मधुसुदन रायमाझी , काठमाडौं ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ललितपुरको भैसेपाटीमा निर्माणाधिन संघीय मन्त्री निवासको निरीक्षण गर्नुभएको छ । उहाँले मन्त्री निवाससँगै रहेको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालयको पनि अवलोकन गर्नुभयो ।

 

मन्त्री झाँक्रीले अहिलेसम्मको काम सन्तोषजक रहेको बताउदै बाँकी काम तोकिएकै समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले गुणस्तरीय ढंगले समयसीमाभित्र नै काम सम्पन्न गर्नुपर्ने बताउदै आधुनिक र प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । कतिपय आयोजना समयमै सम्पन्न हुन सकिरहेका छैनन, मन्त्री निवास, प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीको कार्यालय समयमा निर्माण गरेर देखाउनु छ, मन्त्री झाँक्रीले भन्नुभयो ।

निर्माणको क्रममा केही समस्या भए समाधान गर्न आफू तयार रहेको बताउदै उहाँले मन्त्री निवासलाई जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने बताउनुभयो ।सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले निर्माणाधिक मन्त्री निवासको काम लक्ष्य अनुसार नै अगाडि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘कोभिडको बाबजुध पनि काम सन्तोषजकै रुपमा नै अगाडि बढेको छ, तोकिएकै समयमै सम्पन्न गर्ने गरी काम अगाडि बढाएका छौं ।’

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले मार्फत मन्त्री निवास र प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय निर्माण भइरहेको छ ।त्यसैगरी सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म मैनालीले तोकिएकै समयभित्र मन्त्री निवास सम्पन्न गर्नको लागि आफूहरु लागि परेको बताउनुभयो ।

‘निर्माणको क्रममा आइपरेका समस्या तत्काल समाधान गरेर अगाडि बढाइएको छ, हामीले निर्माण व्यवसायीलाई पनि समयसीमाभित्र नै काम गर्न निर्देशन दिएका छौं ।’

सरकारले हाल पुलचोकमा रहेको मन्त्री निवास साँघुरो भएको भन्दै भैसीपाटी स्थित सैबु आवास क्षेत्रमा सुविधा सम्पन्न भवन निर्माणको काम अगाडि बढाएको छ । ९६ रोपनी १२ आना क्षेत्रफलमा निर्माणानिधन मन्त्री निवासको काम ६६ प्रतिशत सम्पन्न भएको छ ।मन्त्री निवास परिसरभित्र हाल २७ वटा आधुनिक भवन निर्माण भइरहेका छन् । अधिकांश भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । २७ वटा भवन मध्ये २४ वटामा संघीय मन्त्रीहरु, बाँकी तीन वटा भवनमा राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख बस्ने गरी निर्माण भइरहेको छ ।

मन्त्री झाँक्रीको जिज्ञासामा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दीलिपशेखर श्रेष्ठले मन्त्री निवासको काम तोकिएकै समयसीमाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार मन्त्री निवासको ६६ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम सम्पन्न गर्नको लागि कार्यतालिका बनाएरै काम भइरहेको बताउदै उहाँले मन्त्री निवासमा दोस्रो प्याकेज अन्तर्गत हुने कामको पनि ठेक्का आह्वान गरेर मुल्याकंनको चरणमा रहेको जानकारी दिनुभयो ।

साढे दुई तला रहको प्रत्येक भवनहरु नेपाली परम्परागत शैलीमा निर्माण भइरहेको आवासको लागि छुटयाएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी क्षेत्र भवनले ओगटने छ भने ३८ रोपनी ८ आना हरियाली क्षेत्रको लागि छुटयाइको छ । २१ रोपनी क्षेत्र आवासभित्रको आन्तरिक सडकले ओगटने छ भने ११ रोपनीमा हेल्थ क्लब बन्नेछ । परिसरभित्र एक सय सवारी साधन अटाउने पार्किङ स्थल समेत निर्माण हुनेछ ।पहिलो चरणमा २७ वटा भवन, कमाउण्ड, सडक ढल र भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ भने दोस्रो चरणमा हरियाली पार्क, सुरक्षाकर्मी बस्ने लगायतका संरचना निर्माण गरिने भएको छ । १ अर्ब ४३ करोड लागतमा मन्त्री निवास निर्माण भइरहेको छ । २०७६ कात्तिक २७ गते सुरु भएको मन्त्री निवासको काम २०७९ वैशाख २६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी मन्त्री निवाससँगै सात वटै प्रदेशका प्रदेश प्रमुख तथा मुख्य मन्त्रीका लागि निवास र सम्पर्क कार्यालय निर्माण भइरहेको छ । मन्त्री निवाससँगै प्रदेश प्रमुख र मुख्यमन्त्री निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ । लकडाउनको अवधिमा पनि काम भएको कारण तोकिएकै समयसीमाभित्र भवन निर्माणको काम सम्पन्न हुने श्रेष्ठले बताउनुभयो । २७ रोपनी १३ आना क्षेत्रफलमा सम्पर्क कार्यालय निर्माण भइरहेको छ । जस अन्तर्गत १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा र पोखरी र चार रोपनी १२ आनामा पार्किक तथा हरियाली क्षेत्र हुनेछ ।

प्रत्येक ब्लकमा दुईवटा भवन रहेका छन् । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि निर्माण भइरहेको भवन साढे दुई तलाको रहेको छ । भवन निर्माणको जिम्मेवारी पाएको केसी-समानान्तर जेभीका आधिकारिक प्रतिनिधि अच्युत खरेललले तोकिएकै मितिमा भवन निर्माणको काम सम्पन्न हुने बताउनुभयो । करिब ७३ करोड लागतमा निर्माणाधिन प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवास निर्माण भएपछि संघीय राजधानी काठमाडौं आउदा प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको कार्य सम्पादनमा सहजता पुग्ने विश्वास सरकारले लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्