सडक सभ्यता



मुलुकको लागि सडक र निजी घरको लागि शौचालय सभ्यताको परिचायक मान्छि । सडक व्यवस्थित छ, त्यसमा चल्ने गाडी र पेटीमा हिँड्ने बटुवा अनुशासित बनेर हिँड्छन्, नियम पालना गर्छन् भने मुलुकको सभ्यता देखिन्छ । कुनै व्यक्ति गरिब हुनसक्छ, भान्सामा तरकारी भनेजस्तो नपाक्न सक्छ, ओछ्यानमा मोटो सिरक नहुन सक्छ, तर शौचालय सफा छ भने घरका व्यक्तिहरू सचेत, सभ्य र सुसंस्कृत छन् भन्ने अर्थ लाग्छ ।

यतिबेला, काठमाडौं भित्रिने मुख्य नाका मध्येको कोटेश्वर सडक खण्ड ट्राफिक जामका कारण बदनाम छ । बिपी राजमार्ग सञ्चालनमा आएपछि कोटेश्वर नाकामा सवारी साधनको चाप अत्यधिक हुनेगरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै रहेको कोटेश्वर चोकमा विगत लामो समयदेखि टाफिक जाम हुँदै आएको छ । सरकारले कोटेश्वरको ट्राफिक जाम घटाउनको लागि विभिन्न विकल्प पनि अघि नसारेको होइन ।

विमानस्थल छेउ तीनकुनेबाट जडीबुटीसम्म अन्डरग्राउन्डको योजना अघि सारे पनि अझै कार्यान्वयन हुन सकिरहेको छैन । सरकारले अन्डरग्राउन्ड मार्ग बनाउने अध्ययन गरेर पनि कार्यान्वयमा लैजाने जाँगर गरेको छैन । बिपी राजमार्ग र अरनिको राजमार्गबाट काठमाडौं भित्रिने एक मात्र मुख्य सडक काटेश्वर नै हो । सरकारले तत्काल केही मात्रामा भए पनि ट्राफिक जाम कम गर्नको लागि कोटेश्वर जडीबुटी सडक खण्डअन्तर्गत दायाँबायाँ नै सडक विस्तारको काम अगाडि बढाएको छ ।

तर, एक वर्ष बितिसक्दा समेत झन्डै पाँच सय मिटर सडक अझै निर्माण हुन सकिरहेको छैन । स्थानीयको अवरोध नहुँदा पनि निर्माणको जिम्मेवारी पाएको कम्पनीले काम गर्न ढिलासुस्ती गर्दै आएको छ । हाल निर्माणाधीन सडक निर्माण भएर सञ्चालनमा ल्याउन सकेको खण्डमा कोटेश्वर जडिबुडी सडक खण्डमा घण्टाै हुने ट्राफिक जाम कम हुने थियो । सरकारले अघि बढाएको विस्तारको काम निकै सुस्त गतिमा छ । काठमाडौं उपत्यकाकै ट्राफिक व्यवस्थापन सहज बनाउन अघि बढाएको सडकको विस्तारको काम भने कछुवा गतिमा छ ।

सरकारको प्राथमिकतामा परेको काम तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सरकारी निकायबाट नै चासो नदिनु दुर्भाग्यपूर्ण छ । सडक विस्तारअन्तर्गत दुवैतर्फ नाला र ग्राभेल बिछ्याउने कामसमेत सम्पन्न भएको छ तर कालोपत्रेको काम रोकिँदा त्यसै त जाम हुने कोटेश्वर क्षेत्रमा अहिले धुलोको मार पनि थपिएको छ । सडक विस्तारअन्तर्गत अहिले कहीं कतैबाट पनि अवरोध छैन ।

तर निर्माण व्यवसायीले अनेक बहानाबाजी गर्दै काम लम्ब्याउँदै आएको बुझिएको छ ।कोटेश्वर जडीबुटी सडक खण्डमा विस्तार गर्न लागिएको छोटो दूरीको सडक समयमा नै निर्माण नहुँदा काठमाडौं उपत्यकाकै ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै आएको छ ।

त्यसैगरी, सरकारले कोटेश्वरमा आकाशे पुलको अवधारणा अघि सारे पनि प्रक्रिया रोकिएको छ । सरकारले हाल निर्माणाधीन सडक छिटोभन्दा छिटो सम्पन्न गर्ने र कोटेश्वर चोकमा आकाशे पुल निर्माण गर्ने हो भने काठमाडौं उपत्यकाभित्र हुने ट्राफिक जाम व्यवस्थापन गर्न महत्वपूर्ण योगदान पुग्नेछ । एकातिर आम यात्रुले सुविधा पाउनेछन् भने नेपाल भ्रमणमा आउने विदेशी पाहुनाको आँखामा पनि नेपालको सभ्यता प्रकट हुनेछ । कोटेश्वरले कलंकीबाट पाठ सिक्न ढिला गर्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्