राप्रपा अध्यक्षमा लिङ्देन विजयी

नेपाली राजनीतिमा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको प्रक्रिया प्रारम्भ



रामकृष्ण चापागाईं, काठमाडौं । 

संघीयताको विरोध गर्दै हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । १५ गतेदेखि जारी एकता महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापालाई दुई सय मतले पछाडि पार्दै लिङ्देन विजयी हुनुभएको हो ।

अध्यक्षको लागि भएको मतदानमा खसेको कुल ३ हजार ८ सय ६५ मतमध्ये लिङ्देनले १ हजार ८ सय १७ मत प्राप्त गर्नुभएको थियो भने थापाले १ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको थियो । ४ सय ३१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा अन्य उम्मेदवारको लागि मतदान गर्न विद्युतीय मेसिनको प्रयोग गरिए पनि अध्यक्ष पदको मतदानका लागि मतपत्रको प्रयोग गरिएको थियो ।

शनिबार राति अबेर मतदान सकिए लगत्तै मतगणना शुरू गरिएको थियो । चार उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र महिला उपाध्यक्षमा रोशन कार्की विजयी हुनुभएको छ । पाण्डेले २ हजार ५ सय २१ मत प्राप्त गर्नुभएको थियो भने तामाङले १ हजार ९ सय ४४ मत प्राप्त गर्नुभएको थियो । प्रधानले १ हजार ८ सय १४ र कार्कीले १ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको थियो ।

तीन महामन्त्रीमा डा. धबलशम्सेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी हुनुभएको छ । निर्वाचन समितिका अनुसार राणालाई २ हजार २ सय २१ र पाठकलाई १ हजार ७ सय ५ मत परेको थियो । महिला महामन्त्रीमा शाहीले चर्चित अनुहार रेखा थापालाई पराजित गर्नुभएको थियो । शाहीलाई २ हजार ८ मत प्राप्त भएको थियो भने थापालाई १ हजार ६ सय ४० मत प्राप्त भएको थियो ।

एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्रीसहित कुल १ सय ९९ सदस्यीय कार्यसमिति रहने राप्रपाकोे १ सय ४९ जना निर्वाचित हुनुपर्ने प्रावधान छ । महाधिवेशनमा थापा र लिङ्देन दुवै आ–आफ्नो प्यानल बनाएर निर्वाचनमा उत्रिएका थिए ।अध्यक्षमा पराजित भएपछि थापाले सामाजिक सञ्जालमार्फत आक्रोश मिश्रित प्रतिक्रिया सार्वजनिक गर्नुभएको छ । थापाले ट्विटरमा प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु भन्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिनुभएको थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ ।

प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु भन्दै थापाले ट्विटरमा लेख्नुभएको छ– ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भत्र्सना गर्दछु । बधाई जीबीबी शाह धन्यवाद ।’ त्यसैगरी, थापाले अर्को एउटा ट्विट पनि गर्नुभएको छ– ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’अध्यक्षमा विजयी लिङ्देनले राप्रपाको नेतृत्व नयाँ पुस्तामा आएको भन्दै अब पार्टीको एजेण्डा स्थापित गर्न अझ सशक्त ढंगले लाग्ने बताउनुभएको छ । गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट कांग्रेसका चर्चित नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरी सांसद जितेका लिङ्देन यसअघि पार्टीको महामन्त्री हुनुहुन्थ्यो ।

राप्रपाको अध्यक्षमा विजयी हुनुभएकोमा लिङ्देनलाई बधाई दिँदै प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको बताउनुभएको छ । मंसिर २४ देखि महाधिवेशन गर्न लागेको कांग्रेसभित्र निधि पनि नेतृत्वका दाबेदार हुन् ।

शपथग्रहणमा थापा अनुपस्थित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आइतबार नै शपथग्रहण गरेका छन् । शपथग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिसमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थिति थियो भने अध्यक्षमा पराजित कमल थापाको भने उपस्थिति थिएन ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन सहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ लिनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिनुभएको थियो । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरू र महामन्त्रीहरूलाई बस्नेतले शपथ गराउनुभएको थियो । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङ्देनले शपथ खुवाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्