दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास निर्माण



बीरबहादुर बम, मुगु ।

जिल्लाका सदरमुकाम गमगढी नजिकै रहेको एक विद्यालयमा दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास निर्माण गरिएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय बाल मन्दिर चैनको विद्यालयमा दृष्टिविहीन विद्यार्थीहरूलाई मध्यनजर गर्दै छात्रावास भवन निर्माण गरिएको हो ।

छात्रावास भवन नहुँदा विगत लामो समयदेखि दृष्टिविहीन विद्यार्थीहरू एक कोठामा असजिलो गरेर बस्न बाध्य भएका थिए । दृष्टिविहीन विद्यार्थीहरूलाई बस्ने व्यवस्थासहित छात्रावास निर्माण भएपछि दृष्टिविहीन विद्यार्थीहरू खुशी भएका छन् । छायाँ नेपाल, छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोग र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिष्डेक मुगुको सहजीकरणमा छात्रावास निर्माण भएको हो ।

छायाँ नेपालको ६९ लाख १५ हजार दुई सय, छायानाथ रारा नगरपालिकाको २२ लाख ३२ हजार र हिरिष्डेक मुगुको ४ लाख ६२ हजार गरेर ९६ लाख ९ हजारमा खाने बस्ने सुविधासहितको सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको छायाँ नेपालका कार्यक्रम संयोजक मीनबहादुर रावलले बताए ।

उनले दृष्टिविहीन विद्यार्थीहरूलाई पठनपाठन र बास बस्न असजिलो छ भन्ने कुरा विभिन्न निकायमा जानकारी गराएसँगै भवन निर्माणमा हातेमालो गरेर दृष्टिविहीन विद्यार्थीहरूका लागि छात्रावास भवन निर्माण गर्न सफल भएका र निर्माण सम्पन्न भएको छात्रावास भवन विद्यालयलाई हस्तान्तरण गरेको बताए ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले छात्रावासको निर्माण साथै दृष्टिविहीन विद्यार्थीहरूलाई अबका दिनमा राहत भएको बताए । शिक्षाको क्षेत्रमा नगरपालिकाले ठूलो लगानी गर्दै आएको र अबका दिनमा समस्यामा परेका दृष्टिविहीन विद्यार्थीहरूलाई मध्यनजर गरी काम गर्दै जाने नगरप्रमुख शाहीले बताए ।

यसैबीच छायाँ नेपाल, छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोग र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिष्डेक मुगुको सहजीकरणमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वडाको विद्यालयमा पनि भवन निर्माण गरिएको छ । ६६ लाख बराबरको दुई तले विद्यालय भवन निर्माण गरिएका हो । दुवै भवनको मंगलबार विधिवतरुपमा उद्घाटन गरेर सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्