बसमा लडाकुहरूले हमला गर्दा ३१ को मृत्यु



बान्कास, (एजेन्सी) । 

सेन्ट्रल मालीमा लडाकुहरूले सर्वसाधारण बोकेर बजारतर्फ गइरहेको एउटा बसमा सांघातिक आक्रमण गर्दा कम्तिमा ३१ जना मानिसको ज्यान गएको शनिबार स्थानीय अधिकारीहरूले बताएका छन् ।

अज्ञात बन्दुकधारीहरूको समूहले गोली हानेर बस ड्राइभरको हत्या गरिसकेपछि बसमा आगो लगाएका थिए । ईएफई समाचार निकायका अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश बजारमा कामका लागि जान लागेका महिलाहरू रहेका छन् । जिहादी आन्दोलन चर्किँदै गइरहेको मालीमा भएको यो पछिल्लो डरलाग्दो हिंसात्मक घटना हो ।

नजिकैको शहर बान्कासका मेयर मोउलेले ती लडाकुहरूले टायरमा गोली हानेर बस रोेकेर ड्राइभरको हत्या गरेको र यस घटनामा अन्य थुप्रै घाइते वा हराइरहेको हुनुपर्ने पनि अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल हुने पुगेको भिडियोमा जलिरहेको बसमा थुप्रै लास देख्न सकिन्छ ।

सो बस ‘सोनगो’ नामक गाउँबाट १० किलोमिटर टाढाको बान्दिआगारा शहरको एउटा बजारतर्फ जाँदै थियो । पश्चिमी अफ्रिकी मुलुक मालीको मोप्ती क्षेत्रमा यो आक्रमण भएको हो । केही महिनायता यस क्षेत्रमा अलकायदा र इस्लामिक स्टेट ग्रुपसँग आबद्ध लडाकुहरूको चलखेल बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्