जातीय विभेदविरुद्व लघु फिल्म प्रतियोगिता हुने



जातीय विभेदविरुद्ध निर्देशक समाज र यूएनडीपीको लघु फिल्म प्रतियोगिता नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र यूनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता घोषणा गरेको छ।

प्रतियोगितामा फिल्मले जात व्यवस्था उन्मूलनसम्बन्धी विषयलाई ३ मिनेटभित्रमा प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको छ। ‘फिल्मले जात प्रथा र यो प्रथाबाट सिर्जित समस्यालाई गहिरो गरी बुझाउने तथा जात प्रथा उन्मूलनसम्बन्धी विद्यमान कानुनलाई लागू गर्न प्रेरित गर्ने हुनुपर्छ’ यूएनडीपीद्वारा जारी सूचनामा भनिएको छ। प्रतियोगितामा हरकोही प्रतियोगीले सहभागिता जनाउने सक्नेछन्।

भिडियोको प्राविधिक गुणस्तर १०८० सम्म हुनुपर्ने र मोबाइलले खिचेका फिल्म पनि प्रतियोगितामा स्वीकार गरिने आयोजकले जनाएका छन्। प्रतियोगितामा अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुन सक्नेछन्। तर, सामुदायिक भावनालाई चोट पु-याउने वा आरोपित गर्ने भिडियोलाई भने प्रतियोगितामा प्रोत्साहित गर्न नसकिने सूचनामा उल्लेख छ।

सहभागीले आगामी डिसेम्बरको १० तारिखसम्म भिडियो पठाइसक्नुपर्नेछ। भिडियोलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र तीन सदस्यीय निर्णायक समितिको मूल्यांकनमा आधारमा विजेता घोषणा गरिनेछ। सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन फिल्म छनोट हुनेछन्। प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्