१५ कलेजमा पीसीएल नर्सिङको भर्ना रोकियो



काठमाडौं । 

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा ऐनविपरीत भएको भन्दै १५ नर्सिङ कलेजको प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ कार्यक्रमको भर्नामा रोक लगाएको छ । आयोगले सूचना जारी गरी विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षण संस्थाहरूलाई पीसीएल तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीयतर्फको कक्षा सञ्चालनमा रोक लगाएको हो ।

आयोगले सूचना जारी गरेसंगै सीटीईभीटीले आफ्नै सय बेडको अस्पताल भएका कलेजलाई खुला गरेको भर्ना अन्योलमा परेको छ । सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले यही मंसिर ८ गते शैक्षिक सत्र २०७८–०७९ का लागि पीसीएल तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीयतर्फको आवेदन फाराम भर्ने सूचना जारी गरेको थियो । सोही सूचनालाई आधार मानी त्रिवि कार्यकारी समितिको बैठकले यसले आयोगको निर्णयमा प्रतिकूल असर पर्ने उल्लेख गर्दै भर्ना रोक लगाउन सूचना जारी गरेको हो ।आयोगले ३ दिनअघि जारी गरेको सूचनामा चिकित्सा शिक्षा ऐन–२०७५ को दफा ४२ तथा आयोगको गत वर्ष साउन ३० गतेको निर्णयको प्रतिकूल रही प्रमाणपत्र तहका कार्यक्रम सञ्चालन गरेमा सोही ऐनको दफा १४ आकर्षित हुने भएकाले त्यस्ता कार्यक्रम सञ्चालन नगर्न आयोगले चेतावनी दिएको छ ।

सूचनाको आधारमा नेपाली सेना कल्याणकारी कोषबाट सञ्चालित काठमाडौंको नेपाल आर्मी इन्टिच्युट अफ हेल्थ साइन्सको समेत भर्ना रोकिएको छ । सूचनाका कारण नोबल मेडिकल कलेज मोरङ, नेसनल मेडिकल कलेज पर्सा, कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल चितवन, एनपीआई नारायणी सामुदायिक हस्पिटल चितवन, काठमाडौंका जनस्वाथ्य सरोकार ट्रस्टबाट सञ्चालित काडमाडौं मोडल अस्पताल, नागरिक कलेज अफ हेल्थ साइन्स, नेपाल इन्टिच्युट अफ हेल्थ साइन्स, मनमोहन मेमोरियलले पीसीएल नर्सिङ सञ्चालन गर्न नपाउने भएको छ ।

त्यसै गरी, अल्का र बी एन्ड बी ललितपुर, मनिपाल पोखरा, नेपालगन्ज नर्सिङ क्याम्पस बाँके, लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ पाल्पा र देवदह मेडिकल कलेज रूपन्देहीले भर्ना गर्न नपाउने उल्लेख छ । आयोगको सूचनामा राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को दफा ४२ बमोजिम प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने भएकाले चिकित्सा शिक्षा आयोगको विसं २०७७ साउन ३० गतेको बैठकबाट शैक्षिक सत्र २०७७–०७८ देखि उक्त तहका कार्यक्रम सञ्चालन नगर्ने नगराउने निर्णय भई उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित विश्वविद्यालयमार्फत जानकारी गराइसकिएको अवस्थामा भर्ना लिन नमिल्ने उल्लेख छ ।

सीटीईभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै सय बेड अस्पताल भएका नर्सिङ कलेजलाई पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि अनुमति दिन आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीलाई आग्रह गर्नुभएको थियो ।लगत्तै मन्त्री पौडेलले मन्त्रालयमा आयोगका उपाध्यक्ष डा. गिरी, शिक्षा सचिव रामप्रसाद थपलिया, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, सदस्य–सचिव जीवनारायण काफ्लेसहितको बैठक बोेलाएर पीसीएल नर्सिङमा भर्ना खोल्न आग्रह गर्नुभएको थियो । मन्त्रीको निर्देशनपछि सीटीईभीटीले सिट संख्या तोकेरै भर्नाको सूचना जारी गरेको हो ।पछिल्लो समय विवादित निर्णय गर्न थालेको सीटीईभीटीले आयोगको पत्र पाएपछि भर्ना रोक्ने वा खोल्ने विषयमा परामर्श थालेको छ ।

प्रतिक्रिया दिनुहोस्