किरात धर्मगुरु आत्मानन्द जन्मोत्सव र उँधौली पूजा



  • डकेन्द्रसिंह थेगिम

जीवेन शरदः शतम् । नित्य शुद्ध निराभासं निराकारं निरञ्जनम् । नित्य बोध चिदानन्द गुरोब्र्रह्मा नामाम्यहम् । अर्थात् सयौँ वर्ष बाँच, सायौं शरद मनाऊ, नित्य शुद्ध, निरन्तर आत्मा आनन्द बोध गरी गुरु नै ब्रह्मा हुन् भन्ने शास्त्रीय धारणाअनुरुप किरात धर्मका गुरुदेव आत्मानन्दको ६८ औं शुभजन्मोत्सव यही मङ्सिर १८ गते मनाइँदै छ । संयोग वा समायोजन, सोही दिन किरात धर्मावलम्बीहरुको उँधौली चाड मुवेक्वा चेसोकः सेवा पर्व पनि भएकोले दुई पर्व, दुई चाड किरात एकता दिवसको रुपमा महोत्सव मानिन्छन् ।

सोह्रौं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पनाति पिता पुण्यप्रसाद माता चन्द्रमायाको कोखबाट जेठो सुपुत्रको रुपमा बालकको जन्मभूमि हाल माङसेबुङ–५, प्रदेश नं. १ अन्तर्गत मेची अञ्चल इलाम जिल्ला इभाङ–५ चुक्चिनाम्बा पुच्छार अगौटेमा लिङ्देन सेत्छेने सेनिहाङ कुलमा जन्म भयो । ज्योतिषी नाम सोमबहादुर नवशिशुमै आमाको दूध नपिएकोले बाख्राको दूध खुवाएर बचाए ।केही दिनमै माता दोस्रो पोइला गएकीले बजु जोगमायाको काखमा शिशु हुर्कन बाध्य भयो । जन्मसिद्ध जाँडरक्सी, मासुमंस सेवन नगरेका ज्ञानी बालक अर्काको आत्मा देख्ने आत्मदर्शी आत्मा, आत्मेबाट आत्मानन्द नाम हुन पुग्यो । सानो छँदै ध्यान, ज्ञान, जप, तप, दीक्षा, शिक्षा र एकान्तपन जंगलमा मंगल गर्ने बानीको पराकाष्ठामा तपस्यारत रहँदा महमाई, देवमाई र माईको बीच फुल्लुङ्गी त्री–बन ओडारमा समाधि ज्ञान प्राप्त गरी परमात्मा परमेश्वर तागेरा निङ्वाभुमाङको दर्शन पाएर आत्मा साक्षात्कार गर्नुभयो ।

आफू फाल्गुनन्दको पुनः अवतार घोषणा गरी उहाँको अपुरो, अधुरो कार्य पूरा गर्ने वाणी दिँदै किरात धर्मगुरुको आसनमा पदासीन हुनुभयो । ईश्वरीय दर्शनमा पुनः आउने बाचा गरेका तत्कालीन बालागुरुले तुरुन्तै ५ जना चेलाभुलाका साथ २०२७ साउन श्रावणदेखि माघसम्म ६–७ महिना कठोर तपस्या, कडा व्रत–ध्यानबाट पुनर्सिद्धि गरी यो लोक, परलोक र स्वर्गलोकको भविष्यवाणी एवं त्रिकालज्ञ भनी प्रख्यात हुनुभयो । भारतका ४ धाम र गंगासागर एवं ७–७ पटक फक्ताङ्लुङ कुम्भकर्ण देवदर्शन र हप्ताव्यापी साधना गर्नुभई माता पवित्रहाङमा साँवासँग वि.सं. २०३२।१०।२२ मा देवविवाह प्रणय बन्धनमा बाँधिनुभयो । ६ पुत्र र ६ पुत्रीको मातापिता बनी संसारिक जीवनमा देवकर्म अँगाली अध्यात्मिक चिन्तन धार्मिक र संस्कृति उत्थानमा आजीवन समर्पित हुनुभएको छ ।

वि.सं. २०४९ माघ ३ र ४ गते दुई दिनसम्म लामो भविष्यवाणी गरी भारत–पाक युद्ध, भारत राज्य टुक्रने, अमेरिकाको शक्ति घट्ने, युरोपियन मुलुकहरु टुक्रिने, तेस्रो विश्वयुद्ध हुने, महाआँधीबेहरी, महावज्र चट्याङ झर्ने, शक्तिशाली धर्महरु समाप्त हुने, महाभूकम्प आउने, सूर्यको तापक्रम बढ्ने, हिमालय पग्लेर होचिने, पेट्रोलियम पदार्थ गायब, भयंकर महाअनिकाल आउने, शक्तिशाली राजाहरु समाप्त, १५० स्वर्गबाट आत्मायानहरु लोकमा झरिसकेको र चीनमा पनि जातीय युद्ध भई विश्वमै जनसंख्या घटेर ५० लाख मात्र रहने खतरापूर्ण वाणी र विश्वले आफूलाई सोध्ने दिन आउने भनी संसारमै तहल्का मच्चाएको पुस्तक प्रकाशित भएको २–३ संस्कारणमा भइसकेको छ । अन्ततः धन हुनेको धन र ज्ञानीहरुको ज्ञान पनि हराई विश्वमा एउटै सत्यवादी दर्शन शुभारम्भ हुने त्रिकालज्ञ आत्मानन्द गुरुको महत्व उच्च कोटीको बन्दै उहाँले प्रसिद्धि पाउनुभयो ।

आत्मानन्द मिसन १– किरात धर्म तथा साहित्य उत्थान संघ, २– किरात चोत्लुङ अङ्सिमाङ्गेन्ना सेवा, ३– गुरुनिजी आश्रम भौतिक पूर्वाधार, ४– महागुरु फाल्गुनन्द प्रतिष्ठानमार्फत किरात धर्म, इतिहास, संस्कृति, भाषा, लिपि, साहित्य, भेषभूषा, गरगहनाको प्रवद्र्धन, संवद्र्धन गर्दै गुरुदेवले २०५७ सालमा प्रथम, २०६७ सालमा द्वितीय किरात धर्म अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न गराई ७–७ बुँदे घोषणा जारी गर्नुभएको ऐतिहासिक पृष्ठभूमिले अन्तर्राष्ट्रिय धर्मगुरुको रुपमा स्थापित हुनुभएको छ । २०६८ राष्ट्रिय जनगणनामा ८, १८, १०६ संख्याले किरातधर्म लेखी राज्यको चौथो दर्जामा रहेको किरात धर्मावलम्बीहरुको धर्मगुरुको जन्मोत्सवको अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख उच्चपदस्थ व्यक्तिहरु आउने÷जाने र बीसौं हजार भक्तजनहरु २०–१५ मुलुकबाट दर्शन गर्न आउने परम्परा छ । आठ खण्डभन्दा बढी साम्जिक मुन्धुम, किरातको वेद सम्पादन, प्रकाशन गरिसक्नुभएको र बाँकी थप प्रकाशोन्मुख स्थितिमा छ ।

यसै गरी केन्द्रीय मन्दिर माङसेवुङमा विशाल स्वर्ण माङ्हिम निर्माणाधीनमा रहेको गुरुको आफ्नो शिक्षा, दीक्षा, स्कुल पढलेख केही नभएको आफ्नो विश्वविद्यालय ईश्वरीय ओडार जंगल हो भन्नुहुन्छ । आधा घण्टा आँखा चिम्लिए संसारको जुनसुकै भूभागको गतिविधि र घटना एक कुनामा बसेर बताउन सकिने र विश्व भ्रमण गरिरहन जरुरत पर्दैन, त्यो केवल आँखाको रमिता औपचारिकता मात्र हो भनी तेजत्व देव वाणीका ज्ञानी संवाहकको जन्मदिनसँगै किरात पर्व– उँधौली पूजा बन्न पुगेको एक अमर युगपुरुष आत्मानन्द साँच्चिकै आत्मा जोड आनन्द बराबर आत्मानन्द सच्चिदानन्द शक्तिका साक्षर भक्तिका दाता, सिद्धिको संवाहक हुनुहुन्छ ।
सदाझैँ मंसिर १८ गते शुभकामना र १९ गते भविष्यवाणी देववाचन गरिने वार्षिक परम्पराअनुरुप प्रदेश अर्थमन्त्री इन्द्रबहादुर आङबोसहित माननीय विशिष्ट अतिथिहरु आउनुहुने भएकोले यो सालको जन्मोत्सव महत्वपूर्ण महोत्सवका रुपमा हुने देखिन्छ । यस शुभ दिनमा आत्मानन्द किरात धर्मगुरुको सिद्धि शक्ति, देव शक्ति पूर्णताको मंगलमय शुभकामना ।

किरात पर्व उँधौली पूजा:

किरात जनजातीय संस्कृति दुई महत्वपूर्ण उँधौली र उँभौली चाड प्रकृतिमय छन् । उँधौली पूजालाई मुवेक्वा चेःसोकसेवाको विशिष्ट स्थान छ । किसान वर्गले अन्नबाली पाकेपछि सर्वप्रथम उनै प्रकृतिदेवी सृष्टिकर्ता तागेरा निङ्वाभूमाङलाई चढाउने प्रचलन नै कालान्तरमा उँधौली बन्न गएको ऐतिहासिक पर्वसँगै आत्मानन्द जन्मोत्सव एक सिक्काको दुई पाटा भई स्थापित भएर मनाउन लागिरहेका छन् ।

आज यही पुण्यतिथिमा समाधि ज्ञान प्राप्त सिद्धात्मा, देवात्मा, महात्मा, ज्ञानात्मा, आध्यात्मिक, भविष्यदर्शी, महाज्ञानी, अलौकिक शक्तिका संवाहक किरात धर्मगुरु आत्मानन्द सेइङको ६८ औं जन्मोत्सव तथा उँधौली चाड २०७८ मङ्सिर १८ गतेका दिन किरात धर्मावलम्बीहरुको घरआँगनमा कोसेढुंगा साबित गराउन मंगलमय शुभकामना सन्देश बोकेर मनाउने पूर्ण तयारीमा बीसौं हजार भक्तजनहरुको माझमा धर्मगुरुको नुमाङगेन्ना शुभ जन्मोत्सव एवं उँधौली चेःसोकसेवामा गरिमामय आवागमन हुने अवसरले लोकतान्त्रिक मुलुक वास्तविक समावेशी साबित भएको छ ।

अन्त्यमा मेन्निमाङ, निस्सेःमाङ, सेक्खामाङ, कुनोमाङ, आनोमाङ, तागेरानिङ्वाभूमाङ इङघङ केसेःबा मुहिगुम अङसिमाङ्फाल्गुनन्दरे चइत्नारा, इत्थुङ्गेन् याङमोकुनारा केधान्छिङ्वा, थाक्थाकु आत्मानन्द सेइङ् माङधङकुधक, ङासिगेन कुयाम्बेकुधक्खेओ, नोमावातामावा, माङ्वाहाङ्वा, कुङ्मा, माङ्सिङहाङ्सिङ कुसिङ्निप्मा माङ्लिङ्मा, माङ्केप्मा, माङ्ओप्मा ओत् तागेरा निङ्वाभूमाङ केप्मा हुक्से हुक्फाक नोनिङ्वा तोन्दुङ्लो । सेवारो तियाहा, जय । धर्मगुरु आत्मानन्द– चिरायु रहून् ।

(लेखक डकेन्द्रसिंह थेगिम किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्