तारले बिगारेको वडाको अनुहारले झस्काउँछ अध्यक्ष मानन्धरलाई



विगत तीन दशकदेखि विभिन्न भूमिकामा स्थानीय तहमा निरन्तररूपमा क्रियाशील हुनुहुन्छ राजेन्द्र मानन्धर । हाल काठमाडौं महानगरपालिका–२० काअध्यक्ष मानन्धरले आफ्ना वडामा विगत साढे चार वर्षभित्र थुप्रै विकास निर्माणका कार्यमा अग्रसरता देखाउनुभएको छ । थुप्रै तारिफयोग्य काम गर्नुभएपनि मिडियासमक्ष बिरलै मात्र उपस्थित हुन रुचाउने उहासँग नेपाल समाचारपत्रका लागि कविरस शर्माले गरेको कुराकानीको सार संक्षेप ।

वडाध्यक्ष पद कत्तिको चुनौतीपूर्ण छ ?

खासै छैन। कुनै कारणले अहिलेसम्म डिस्टर्ब पनि हुनुपरेको छैन ।

राजनीतिक दबाब खेप्नुपरेको छ ?
मलाई खासै कसैले त्यस्तो प्रकार दबाब दिएको छैन । म कुनै पार्टी विशेषलाई प्राथमिकता राखेर काम गर्दिनँ । निष्पक्ष र वडावासीको हितमा नै केन्द्रित भएर काम गर्दै आइरहेको छु।

तपाईंले के–कस्ता सुधारका काम गर्नुभएको छ?

प्रमुख काम भन्नुपर्दा फोहोर व्यवस्थापन, पुरातात्विक महत्वका सम्पदा संरक्षणदेखि सामाजिक कार्यमा सुधार भएको छ । मैले २० वडामा रहेका पाटी, धारा, मठ–मन्दिरको जीर्णोद्धारदेखि ढललाई व्यवस्थित गर्दै बाटो निर्माण तथा मर्मतको कार्यलाई पूर्णता दिएको छु । लगभग ८० चोकमा ढुंगा बिछ्याउने कार्यलाई पनि पूरा गरिसकेको छु ।

२० वडामा फोहोर व्यवस्थापन चित्तबुझ्दो हुन नसकेको कुरा उठ्ने गर्छ, यसलाई कसरी लिनुहुन्छ ?

कुरा सही हो । फोहोर व्यवस्थापनको विषयमा म आफैं पनि सन्तुष्ट हुन सकेको छैन । यस्तो हुनुको प्रमुख कारण भनेकै हामीसँग पर्याप्त जनशक्तिको अभाव हो।

जनशक्ति थप्न सकिन्न र ?

सकिन्छ तर, अहिले नै हाम्रो वडा स्तरबाट भने थप्न कठिन छ । यसका लागि महानगरपालिकाले सहयोग र पहल गर्न जरुरी छ। सरसफाइ सम्बन्धित कामका लागि महानगरले निजी क्षेत्रसँग पनि कुरा अगाडि बढाएको छ । आशा गरौं यो प्रक्रिया चाँडै नै निष्कर्षमा पुग्नेछ ।

लकडाउनमा वडावासीलाई के–कस्तो राहतको व्यवस्था गर्नुभएको थियो ?

खोप उपलब्ध नभएका बेला हामीले मास्क, सेनिटाइजरलगायतका सामग्री घर–घरमा पुगेर वितरण गरेका थियौं । कोरोनाबाट बच्न सचेतना कार्यक्रम पनि सञ्चालन गरेका थियौं । विभिन्न ठाउँमा सेनिटाइजर छर्नेदेखि शान्ति निकुञ्ज विद्यालयमा नौ बेडको आइसोलेसनको व्यवस्था समेत मिलाएका थियौं । लकडाउनको मारमा खेपेका पीडितलाई पनि राहतस्वरूप विभिन्न संघ–संस्थाबाट प्राप्त खाद्य सहयोग तथा अन्य सामग्रीहरू पनिवडामार्फत वितरण गरेका थियौं।

कोरोनाविरुद्धको खोप अभियानले कसरी निरन्तरता पाइरहेको छ ?

२० वडामा९० प्रतिशत वडावासीले खोप लगाइसकेका छन् । कतिपय ज्येष्ठ नागरिक जसलाई डिँड्ड्डुल गर्न सहज छैन, जो दीर्घरोगी छन् उनीहरुलाई पनि हामीले घर–घरमा नै पुगी खोप लगाएका छौं । केही प्रतिशत बाँकी रहेकाहरुले भने आफूखुसी नै लगाएका छैनन् । तर, उनीहरुले पनि खोप लगाउन चाहेमा खोपको व्यवस्था मिलाएका छौं ।

केही महीनाअघि विष्णुमतिमा बाढी आउँदामध्यरातमा नै बाढीग्रस्त क्षेत्रमा खटिएको घटनाले तपाईंको प्रशंसा चुलिएको थियो, वडावासीलाई के कसरी उद्धार र सहयोग गर्नुभयो ?

बाढी आएको जानकारी पाउनेबित्तिकै म राति नै छाता ओढेर त्यस ठाउँमा पुगेको थिएँ। त्यसपछि मैले तत्कालै प्रहरी प्रशासन, दमकल, विपद्व्यवस्थापन समितिलाई फोन गरेर जानकारी गराएँ।शुरुमा हामी मान्छे उद्धार गर्नेतिर नै लाग्यौं । खोलानजिक रहेका पक्की घरको एक तलासम्म पानी छिरेकाले खाद्यान्नलगायत अन्य थुप्रै समान नष्ट भएको थियो । त्यसपछि बाढीपीडित परिवारहरुलाई ‘दे भोएं छें’मा लगेर खानाको व्यवस्था मिलाउनुका साथै खाद्यान्न पनि वितरण गरेका थियौं।

 

भावी योजना के छ ?

योजना त ठूलै छ । तर, माथिल्लोदेखि तल्लो तहसम्मको सहयोग पाएको खण्डमा मात्र काम गर्न सकिन्छ । सम्पदा क्षेत्रलाई पर्यटकीय क्षेत्रकारूपमा विकास गर्ने योजना छ । सम्पदा क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि निश्चित क्षेत्रभित्र सवारीसाधन प्रवेशमा पास प्रणाली लागू गर्ने, परोपकार स्कुल अगाडि वेलकम टू हेरिटेज पाथ लेखेको साइन बोर्डसहितको ठूलो गेट निर्माण गर्ने, विष्णुमति कोरिडोरको छेउमा बगैंचा बनाउने र त्यसको तलतिर ट्यांकी बनाएर विभिन्न प्रायोजनका लागि प्रयोग गर्ने योजना छ।

यो काम अहिले नै अगाडि बढाउन सकिन्न र ?

सकिन्छ । तर,त्यसका लागि मैले मात्र चाहेर हुँदैन। मैले बोर्ड बैठकमा प्रस्ताव राखिसकेको छु । तर, सुनवाइ नै भएको छैन ।

चाहेरपनि गर्न नसकेको कुनै काम बाँकी छ?

छ । बाटोमा जथाभावी विद्युत्, टेलिफोन, केबल नेटवर्क, इन्टरनेटलगायतका तारहरुलाई व्यवस्थापन गर्न सकेको छैन। यो आगलागी जस्ता मानवीय क्षति हुने कुनैपनि ठूलो दुर्घटनाका कारण बन्न सक्छ। यस्ता समस्याको समाधान गर्ने दायित्व कसको हो भनेर अन्योलमा छु । महानगरपालिकाको हो कि विद्युत् प्राधिकरणको हो । अथवा सम्बन्धित संघ–संस्थाको । तार काटौं भने जनतालाई समस्या, नकाटे समाजलाई खतरा तथा वातावरण कुरूप।

के हुनसक्ला त यसको समाधान ?

अधिकार, बजेट र जनशक्ति अभावका कारणले यस्तो भएको हो। आवश्यक बजेट निकासा र सबै अधिकार वडालाई दिने हो भने जथाभावी र लथालिंग तारको समस्या चाँडै नै समाधान हुनेछ । यसका लागि तीन तहबीच हुनुपर्ने नियम कानुनको अभाव पनि अहिलेको समस्या नै हो ।

 

प्रतिक्रिया दिनुहोस्