विकासमा काठमाडौं महानगर अगाडि: मेयर शाक्य



काठमाडौं महानगरपालिकाले विगत चार वर्षमा मुख्यतः १८ वटा विकास निर्माणका काम सम्पन्न गरेको छ । देशकै ठूलो महानगरपालिकाको हैसियतमा दर्जनांै नगरपालिकासँग प्रगाढ सम्बन्ध कायम गरी विकास निर्माणका काममा सबैभन्दा अगाडि रहेको मेयर विद्यासुन्दर शाक्य बताउनुहुन्छ ।
‘अन्य नगरपालिकाको तुलनामा सोचेभन्दा बढी काम गर्न सफल भएका छौं, भनौं भने मेरो नेतृत्वको टिमले यो अवधिमा महत्वपूर्ण काम सम्पन्न गरिसकेको छ ।’ –शाक्य भन्नुहुन्छ ।

उहाँका अनुसार महानगरको जिम्मामा रहेको सहायक सडक बनाउने काम लगभग पूरा भएको छ । कामपाको आफ्नै भवन शिलान्यास गर्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले ध्वस्त काष्ठमण्डपको पुनर्निर्माण लगभग सम्पन्न गरिएको छ । रानीपोखरी तयार भइसकेको छ । दरबार हाइस्कुल पुनर्निर्माण सम्पन्न भएसँगै पठनपाठन चालू भइसकेको छ ।यसै गरी, ऐतिहासिक कमलपोखरी पुनर्निर्माण सम्पन्न गर्ने काम अन्तिम चरणमा छ । ‘सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएका छौं, सबै पार्कलाई सौन्यर्दीकरण गरेका छौं’ । –मेयर शाक्य बताउनुहुन्छ ।

आफ्नो कार्यकालको पाँच वर्षमा १ सय ९६ किलोमिटर सडक निर्माण, मर्मत र कालोपत्रे सम्पन्न भएको, १४ किलोमिटर सडक ढलान भइसकेको छ, ४ किलोमिटर सडकमा ढुंगा छाप्ने काम सम्पन्न भएको पनि उहाँले विवरण दिनुभयो । ‘आपूm उपत्यका मेयर फोरमको अध्यक्ष भएको नाताले उपत्यकाको विकासमा सँगै जान थालेका छौं । महानगरपालिकासँग जोडिएका स्थानीय निकायलाई सहयोग शुरू गरेका छौ ।’ –मेयर शाक्य प्रस्ट पार्नुहुन्छ ।ज्येष्ठ नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन सफल भएको, घर–घरमा पुगेर स्वाथ्य परीक्षण गरेको, घरमै भत्ता पु-याएको, संस्कृति संरक्षण गर्न नयाँ योजना बनाएको, बाजाका गुरुलाई सम्मान गरेको, जीवित देवी कुमारी गणेश र भैरवको भत्ता बढाएको विवरण पनि उहाँले दिनुभयो ।

करिब ४० लाख जनसंख्या बसोबास भएको महानगरमा व्यवस्थित शहर बनाउने परिकल्पना अघि सारेको, उपमेयर, वडाध्यक्ष, कार्यपालिकाका सदस्य, आयोग, योजना, परियोजना, आयोजना, समिति, उपसमिति, विभाग, महाशाखा र शाखा प्रमुख र कर्मचारीको अहोरात्र सहयोगको कारण विकास सम्भव भएको उहाँको भनाइ छ ।संघीयता पूर्णरूपमा कार्यान्वयन भएको महसुस गरेको बताउने मेयर शाक्य यस समयमा धेरै काम गर्न सकिन्थ्यो जस्तो लागेको तर समय गएको पत्तै नभएको महसुस गर्नुहुन्छ । ‘साढे ४ वर्षमा महानगरले सोचेजति विकास गर्न नसकेकै हो । तैपनि सबैको साथ र सहयोगका कारण छोटो समयमा विकासको मूल फुटाउन भने सफल भएका छौं ।’ –शाक्य भन्नुहुन्छ ।

नयाँ सोचको थुप्रो पोको पारेर बसेको बताउँदै उहाँ भन्नुहुन्छ– ‘तर अब काम गर्ने अवसर पाइन्छजस्तो लागेको छैन । काठमाडौंका विभिन्न ठाउँहरू खास गरी नाकाहरूमा पार्किङ भवन बनाउने पनि तयारी गरिरहेको छौं । महानगरले जीआईएस डाटा कलेक्सन शुरू गरेको छ ।’काठमाडौंलाई स्वच्छ, धूँवा–धूलोमुक्त शहर बनाउन आवश्यक मात्रामा जेट र ब्रुमर मेसिन खरिद गरिसकेको, हरियाली नगरको सपना पूरा भएको, हजाराैको संख्यामा वृक्षरोपण गरिएको, कोभिडको समयमा पीसीआर परीक्षणलाई व्यापक बनाएको, राजधानीवासीलाई खोपको व्यवस्था गरिसकेको उहाँले जानकारी दिनुभयो ।‘जनताको सानो–सानो इच्छालाई हामीले प्राथमिकतामा राखेका छौं । यो नै हाम्रो सफलता हो । महानगरवासीको मायाका कारण हामी सफल हुन सकेका छौं ।’ –मेयर शाक्य भन्नुहुन्छ ।

महानगरपालिकाले साढे ४ वर्षमा गरेका १८ मुख्य काम

१. सडक निर्माण तथा मर्मत (कालोपत्रे) १९६ किमि
२. सडक निर्माण तथा मर्मत (ढलान गर्ने) १४.६८ किमि
३. सडक निर्माण तथा मर्मत (ब्लक छाप्ने) १०.७९ किमि
४. सडक निर्माण तथा मर्मत (ढुंगा छाप्ने) ४.८९ किमि
५. ढल निर्माण गर्ने कार्य १८.३४ किमि
६. काठमाडौं महानगरपालिकाको लोगो भएको सीआई मेनहोल कभर राख्ने १ हजार ३ सय वटा
७. नदी नियन्त्रण तथा करिडोर निर्माण (रिटेनिङ वाल) ४.५ किमि
८. तला थप भएका स्तरउन्नति गरिएका वडा कार्यालय (६, ७, १०, ११, १५, ३२ वडामा)
९. नयाँ निर्माण भएका वडा कार्यालय भवनहरू (३,४, ९,१४, १८, २६ वडामा)
१०. निर्माण भइरहेका तथा निर्माण हुने तयारीका वडा भवनहरू (२, ६, १२, १६, २०, २१, २२, २७, २९, ३१ वडा)
११. रामहिटी बौद्धमा नयाँ दमकल भवन निर्माण
१२. नयाँ सडकमा दमकल भवन पुनर्निर्माणका लागि खरिद प्रक्रिया शुरू
१३. कामपाको धर्मपथमा रहेको जग्गामा यें देह सांस्कृतिक छें निर्माणका लागि खरिद प्रक्रियामा रहेको
१४. वासबारीमा नयाँ दमकल भवन निर्माणाधीन अवस्थामा रहेको
१५. कामपाको टेकुमा रहेको जग्गामा कार्यालय भवन निर्माण शुरू
१६. टेकुमा पार्किङ भवन निर्माण गर्न जग्गा खरिद प्रक्रिया शुरू
१७. डेको, धोबीखोला, रानीबारी, धर्मभक्त, टुँडालदेवी, चण्डोल, धोबीचौर, ओम शान्ति, धुम्बाराही, धन्वन्तरी, इको, वासुकी चौर, डल्लु आवास, मञ्जुश्री खेलमैदान, कुलेश्वर आवास क्षेत्रका ५ वटा, मचाँ गाः गरी २० वटा पार्क निर्माण
१८. त्रिपुरेश्वर, वागमती नगर, शान्ति नमुना, कुलेश्वर बुद्धबिहार, चेस, जनमार्ग ध्यान, नरबुद्ध र प्रयाग पार्क गरी ८ वटा पार्क निर्माण भइरहेको छ ।

प्रस्तुति: ईश्वरराज ढकाल

प्रतिक्रिया दिनुहोस्