विप्लवको पार्टी एकता सोचनीय



केशव अधिकारी

कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग त कहिले कृष्णबहादुर महरा अनि कहिले माओवादी केन्द्रका अन्य प्रभावशाली नेतासँगको वार्तामा रहेका नेत्रविक्रम चन्द (विप्लव) पार्टी एकताको तयारीमा रहेका भन्ने खबर सञ्चारमाध्यमहरूबाट सुनिदै छ । उनको यस कार्यले कस्तो गति लेला ? भविष्यले नै देखाउनेछ । धेरै वर्षअगाडिदेखि यो देश नेपालले कुशल नेतृत्वको अपेक्षा गरिरहेको छ । विगतमा १० बर्से युद्ध हाँकेका भनिएका नेताहरूबाट एउटा भरोसा र विश्वासका साथ त्यो अपेक्षा पूरा होला भनी कुरेर बस्ने-हेर्ने काम भयो ।

तर उनीहरूमध्ये कोही दक्षिणको छिमेकीलाई ‘कम्फर्टेबल’ हुने खालको शासनको वकालातमा लागे, कोही केवल भाषण र गर्जनमा मात्र सीमित हुन पुगे । आखिर देशले गरेको कुशल नेतृत्वको अपेक्षा केवल अपेक्षामा मात्र सीमित हुन पुग्यो । ती अक्षम भएका नेताहरू आज पनि गर्जन गर्न छोडेका छैनन् । उनीहरू फलानोको तुलनामा म पो असल, प्रगतिशील, उन्नतिशील, देशभक्त आदि भनेर स्वनामधन्य बन्दै छन् । र, अरुलाई नीच देखाउने तर्खरमा घुँडा धसेर लागेका छन् । दह्रो गरी जोत्न नसक्ने गोरुले डाढ बङ्ग्याएर जोत्न नसकेजस्तो नाटक गरेजस्तै यी तमाम नेताहरूका बीचमा गाँड कोराकोरको प्रतिस्पर्धा चलिरहेको छ । यो अस्वस्थ प्रतिस्पर्धा वा उछिनपाछिनले देशको उन्नति हुने कुरा एकथोपो पनि यथार्थ छैन भनेर सोचौँ । बरु यसले देशको कुभलो गर्ने र खराब मान्यतालाई नजिरको रुपमा स्थापित गर्ने काम पो हुँदै छ कि भनेर चिन्ता मान्नुपर्ने भएको छ ।

सञ्चारमाध्यमहरुले फैलाएका कुराजस्तै के कमरेड विप्लवको राजनीतिक दल माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न तयार भएकै हो त ? यदि यो भनाइ सत्य हो र विप्लवले पार्टी एकता गर्छन् नै भने माओवादी केन्द्रका नेताहरूको भनाइको लहैलहैमा लागेर हुनै नसक्ने गफ हाँक्नबाट जोगिनुपर्छ । केही दिन वा केही महिनाभित्रै नेपाललाई सिंगापुर, जापान, बेलायत वा अन्य कुनै विकसित राष्ट्रजस्तो बनाउँछौँ भनेर गरेका हावादारी गफलाई सत्य ठानेर साँच्चै माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेको खण्डमा विप्लव स्वयं र उनको राजनीतिक दल निस्कनै नसक्ने धापमा फस्ने कुरा निश्चितजस्तै छ । विगतमा नेपाली काङ्ग्रेसका नेता तथा सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग शान्तिवार्ता गर्ने तत्कालीन माओवादीका धेरैजसो नेताहरू स्वच्छ आत्माले नै राजनीति गरिएला भन्ने सोचमा थिए ।

तर सरकारमा भएको नेपाली काङ्ग्रेस, नेकपा एमाले आदि राजनीतिक दलको प्रशिक्षणमा उनीहरूले जता पहुँच हुन्छ त्यतै पसेर अनियमित काम गर्न सिकिसकेका थिए । दुवै वा तीनै राजनीतिक दलका सहमतिमा ‘काले काले मिलेर खाऊँ भाले’ भन्ने भनाइलाई सार्थक बनाउँदै भेटेजति स्थानमा र सकेजति रुपमा अनियमित काम गर्न सिकेका थिए ।विप्लव समूह माओवादी केन्द्रसँग एकता गर्ने सोचमा मात्र सीमित नभई उक्त कामको सार्थक प्रयासमा लाग्ने हो भने दुवै कम्युनिस्ट पार्टीहरू निकट भविष्यमै एकताबद्ध नहोलान् भन्न सकिने अवस्था छैन । दुवै राजनीतिक दलको सार्थक एकतापश्चात् माओवादी केन्द्रकै दबाब वा सुझावमा विप्लव समूह पनि आफ्नो थैलो भर्ने काममा लाग्न थाल्यो र नेपाली जनतालाई लोप्पा खुवाइदियो भने आश्चर्य मान्नुपर्ने कुनै कुरो हुनेछैन ।

हुन त सकारात्मक सोच बोकेका लाखौँ नेपाली जनताको मनको इच्छा के थियो भने, नेपालमा स–साना राजनीतिक दल खोलेर छरिएका र कुनै पनि प्रभावकारी काम गर्न नसकेका टुक्रे राजनीतिक दल र तिनकै नेतृत्वमा बन्ने सरकार कामयावी हुन नसक्ने भएकोले माओवादी केन्द्र र विप्लव समूहका बीचमा हुने पार्टी एकीकरणको प्रयासलाई सकारात्मकरुपमा लिनुपर्ने देखिन्छ । अहिलेको परिवेशमा शासनसत्ता आफ्नो हातमा लिँदै, भ्रष्टाचारमा डुब्दै गर्ने खालका कम्युनिस्टहरूको बाहुल्यताले गर्दा दुवै कम्युनिस्ट पार्टीबीचको एकीकरणपश्चात् पनि विप्लव समूह आफ्नो राजनीतिक अडान र विश्वासमा रहन सक्ला कि नसक्ला ? यो कुरा आफैँमा महत्वपूर्ण विषय हो ।

शायद विप्लव प्रचण्डका राजनीतिक चेला होलान् तर पनि तत्कालीन माओवादीका क्रियाकलापले पूर्णरुपमा असन्तुष्ट भएका उनले विद्रोह गरेर जुन अडानका साथ बेग्लै क्रान्तिकारी राजनीतिक दलको स्थापना गरे, उनको त्यस कामले गर्दा आज नेपाली जनताले प्रचण्डको तुलनामा विप्लवलाई अधिक विश्वास गरेर भरोसाका आधारका रुपमा लिन्छन् । नेपाली जनताको यो सोचाइले विप्लवको दायित्व अझै धेरै बढेर गएको वा जानुपर्ने भन्ने मान्यता रहन्छ । माओवादी केन्द्रसँग एकता कायम गरेको केही दिनमै प्रचण्डले जस्तै नेपाली जनता र देशप्रतिको दायित्वलाई पूर्णरुपमा भुलेर विप्लव स्वार्थी बन्न पुगे भने हालको प्रचण्डको भन्दा उनको अवस्था धेरै गिरेर जाने निश्चित छ ।

अर्कोतिर आमजनताको राजनीतिक दलप्रतिको भरोसा पूर्णरुपले टुटेर जान बेर लाग्नेछैन । राजनीतिको यो मोड निकै खतरनाक साबित हुनेछ ।२००७ सालदेखिका नेपाली जनताका आशा र भरोसालाई आज सात दशकभन्दा लामो समयको दौरानमा समेत एउटा मियोमा ल्याएर घुमाउन नसक्ने नेताहरूले आफूलाई राजनेता भनेर घोषणा गराउन खोज्नुभन्दा ठूलो पाखण्डीपना अरु केही नहोला । विगतमा आफूलाई राजनेताको सूचीमा राख्न उद्यत् हुनेहरुले आफ्नै बलिदानले हासिल भएको प्रजातन्त्रलाई समेत जोगाउन नसक्नुको कारण भनेकै सत्तालोलुपता र सत्ता सञ्चालनको ज्ञानको अभावले गर्दा हो । २०६२ सालमा आएको प्रजातन्त्रले आज देशलाई कुन हालतमा पु-याएको छ भन्ने कुरा हामी सबैले भोग्दै आएका छौँ । अब विप्लवको राजनीतिक दलले माओवादी केन्द्रसँग एकीकरण गरेर कसरी अगाडि बढ्ने हो, त्यस कुराले एकीकरणको सार्थकता वा निरर्थकता प्रमाणित गरेर देखाउनेछ ।

विप्लव माओवादी र एकता केन्द्र दुवै माओवादी मिलेर एउटै पार्टी निर्माण भइसकेपछिको शक्तिको बाँडफाँडको विषय निकै महत्वपूर्ण रहन्छ । दुवै पार्टी एकीकरणपश्चात् विप्लव आफूलाई राजनीतिमा प्रचण्डको चेलो ठानेर उनकै निर्देशनमा चल्लान् कि उनको निर्देश नमानी स्वयंको प्रभुत्व जमाऊलान् भन्ने कुरोले निकै महत्वपूर्ण भूमिका खेल्ने हुन्छ । विप्लवले जे सोचेर पार्टी एकीकरण भए पनि प्रचण्डले आफ्नो अध्यक्ष पद नै त्यागी विप्लवलाई उक्त पद स्थानान्तरण गरेर आफू विप्लवको अध्यक्षताको समूहमा कुनै हालतमा पनि बस्न सक्ने छैनन् । पूर्वप्रधानमन्त्री केपी ओलीलाई दिएजस्तै प्रमको कुर्सी विप्लवलाई सुम्पन तयार भएर आफू नुहेको बाँसभन्दा पनि अधिक लचकदार भएको घोषणा सबैलाई सुनाउन उद्यत् होलान् त प्रचण्ड ? अहिले प्रचण्ड जसरी ओली र देउवालाई आफूले प्रम बनाएको दाबी गर्दै दैनिकजसो त्यही विषयको उत्खनन र वर्णन गर्न चुकेका छैनन्, विप्लवलाई देशको शासक बनाइहाले भने पनि उनको दैनिकको किचकिचले गर्दा विप्लवलाई केही समयमै वाक्क बनाउनेछ ।

प्रचण्डले अराएको हुबहु मानौँ भने आफ्नो स्वच्छता र जनताप्रतिको सकारात्मक सोच एवं काम गराइमा गतिरोध आउने कुरा निश्चित नै छ विप्लवलाई । सँगै युद्ध गरेका दुई योद्धामा असन्तुष्टिको मात्रा बढेर थेग्नै नसक्ने भएपछि विछोडिएका हुन् विप्लव । आफ्नो शक्ति सञ्चय गर्दै गरेका विप्लवले प्रचण्डको आदेश सही नभएको कुराको आत्मसमीक्षा गरेरै विद्रोह गरेका हुन् । यो कुरा उनले बिर्सनै हुँदैन ।आज आफूलाई बलिया सिंहका रुपमा लिने दुवै राजनीतिक दलका बीचमा एकता कायम हुँदै गर्दाको अवस्थामा कम्तीमा एक वर्षपछिको कुरो र प्रतिबद्धतालाई बलियो बनाएर मात्रै एकता सम्भव हुन सक्ला । होइन भने कम्युनिस्ट धर्म निभाउँछु भन्ने तर खुरापातका तानाबाना बुनेर कम्युनिस्ट धर्मचाहिँ निभाउन नसक्ने माओवादी केन्द्रको जालमा विप्लव समूह फस्न बेर लाग्दैन । त्यसैले दुवै पार्टी एकीकरणअगावैको सूक्ष्म विश्लेषण र निष्कर्ष ज्यादै जरुरी छ ।

दुवै पार्टी एकतापछि आम कार्यकर्ता र न्यायको तराजु बोकेर बसेका नेपाली जनतालाई प्रचण्ड र विप्लव दुवैले जुँगाको लडाइँ देखाइरहनुपर्ने जरुरत एक थोपो पनि छैन । माओवादी केन्द्र र विप्लवको राजनीतिक दलबीचको एकीकरणको अपेक्षा आमनेपाली जनताको अपेक्षा होइन । यो त केवल नेतृत्वको कूटनीतिक र राजनीतिक स्वार्थको भरमा एकीकरण हुने हो भनेर ठान्नुपर्छ । नेपाली जनताको चाहनाले एकीकरण हुने थियो भने त पहिलेको एमाले र माओवादीको कम्युनिस्ट एकताको यति दू्रत गतिले पतन हुने नै थिएन । माआवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई करिब एक्लो बनाएर कोही कसैले पनि अर्को विद्रोहको बाटो रोज्नुपर्ने थिएन । अब गरिने कम्युनिस्ट एकताले यी कुराको मनन नगरेर होस् कि विप्लव समूहका आम कार्यकर्ता वा लडाकूहरुको मानसिकतालाई गम्भीर असर गरेर पार्टी एकीकरणको नाटक मञ्चन भएछ भने विप्लव स्वयं नै पनि बेनामै भएर डुब्न र हराउन बेर लाग्ने छैन ।

विप्लव मात्रै डुबेर त केही हुने थिएन होला तर उनीसँग लाखौँ जनताको उनीमाथिको आशा र भरोसा पनि डुबेर जाने कुरा निश्चित छ ।नेपाली राजनीतिको रङ्गमञ्चमा अहिले निकै गतिला खालका प्रहसनहरू भइरहेका छन् । मानौँ राजनीतिका माहिर खेलाडी ठानेका हाम्रा नेताहरु बहुप्रतिभाका धनी हुन कि जसरी अभिनय गरेर आफूलाई राजनीतिको नायक हुँ भन्नसमेत बाँकी राख्दैनन् । तर आमजनताको नजरमा उनीहरु एका न एकातिरबाट असफल भइसकेका पात्रका रुपमा दर्ज भइसकेका छन् ।

बोल्नै नहुने कार्यकर्ताका लागि मात्र उनीहरु नायक पल्टेका र नायकत्व देखाएका हुन् भन्ने कुरा अब बच्चाले पनि बुझिसकेका छन् । नेपाली राजनीतिको मञ्चमा साँच्चैको नायकको खोजी भएर विप्लवलाई नायक मान्नै लागेका बेलामा माओवादी केन्द्रसँग एकता कायम गरेर उनीहरुजस्तै अक्षम पात्रको रुपमा दर्ज हुनु विप्लव पक्षले कदापि हुँदैन । यदि यसो भएको खण्डमा त्यसको दोष नेपाली जनताको टाउकोमा वा प्रचण्डको टाउकोमा थोपरेर उम्कन खोज्ने प्रयास गर्नुहुँदैन । यथार्थको धरातलमा टेकेर पार्टी एकीकरण गर्नु र देशले चाहेजस्तै उपयुक्त नायकको भूमिका निभाउन सकेको खण्डमा मात्रै विप्लवले गरेको विद्रोह सार्थक भएको मानिनेछ ।

प्रतिक्रिया दिनुहोस्