कांग्रेस महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक



काठमाडौं, (नेस) ।

महाधिवेशनको संघारमा रहेको सत्ताधारी दल नेपाली कांग्रेसले प्रदेश अधिवेशन र केन्द्रीय अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसको भोलि बिहीबारदेखि प्रदेश अधिवेशन हँुदै छ भने मंसिर २४ देखि केन्द्रीय महाधिवेशन हँुदै छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार प्रदेश अधिवेशनका लागि बिहीबार बिहान मतदाताको नामावली प्रकाशित गरिनेछ भने शुक्रबार बिहान ११ बजेसम्म उम्मेदवारको मनोनयन–पत्र दर्ताको समय तोकिएको छ । मनोनयन–पत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने समय शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राखिएको छ । दिउँसो २ बजेसम्ममा दाबी विरोधमाथि निर्वाचन समितिले निर्णय पनि गरिसक्ने छ ।

सोही दिन साँझ ५ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिनेछ । सोही दिन साढे ६ बजेदेखि साढे सात बजेसम्म मनोनयन फिर्ता लिने समय राखेको निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली शुक्रबार साढे ७ वजे प्रकाशित गर्नेछ । मतदान शनिबार बिहान ८ बजेबाट शुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले केन्द्रीय महाधिवेशनको पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशन निर्वाचन राष्ट्रिय सभा गृहमा हुने भएको छ । निर्वाचन समितिका अनुसार मतदाता नामावली मंसिर २४ गते बिहान १० वजे नै प्रकाशन गरिनेछ भने उम्मेदवारको मनोनयन–पत्र दर्ता मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गरिनेछ ।

महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन–पत्र माथि पर्ने दाबी विरोध दर्ता र सो उपरको निर्णय मंसिर २६ गते बिहान ८ बजेदेखि १२ बजेसम्म गरिनेछ । उम्मेदवारको पहिलो नामावली सोही दिन १२ बजेदेखि ३ बजेसम्म प्रकाशन गर्ने तयारी गरेको निर्वाचन समितिले मनोनयन फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय २६ गते ३ बजेदेखि ५ बजेसम्म सक्नेछ ।

मतदान प्रक्रिया २७ गते बिहान ८ बजेबाट शुरु हुने निर्वाचन समितिले जनाएको छ ।कांग्रेसको  निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै प्रदेश अधिवेशन र महाधिवेशन कम्तीमा एक दिन लम्बिने निश्चित भएको छ । मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्ने र मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका थियो ।

महाधिवेशन एक दिन लम्बिएसँगै महाधिवेशनमा भाग लिन आउने करिब ५ हजार प्रतिनिधिलाई आवास र भोजनको व्यवस्था थप गर्नुपर्ने हुन्छ । कांग्रेसले महाधिवेशन प्रतिनिधिसँग ३ हजार रुपियाँ र प्रदेश प्रतिनिधिसँग २ हजार रुपियाँको दरले शुल्क उठाउने निर्णय यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्