राप्रपाको आजदेखि एकता महाधिवेशन



रामकृष्ण चापागाईं, काठमाडौं ।

हिन्दूराज्य र राजसंस्थाको पक्षमा उभिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा एकता महाधिवेशन शुरू हुँदै छ । ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय नेतृत्व छनोट हुने राप्रपाको यो अधिवेशनमा नेतृत्व दाबी गर्दै वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रिएका छन् ।

एकता महाधिवेशनबाट पुनः नेतृत्व लिन खोजेका अध्यक्ष थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दलगायत प्रभावशाली नेताको साथ रहेको छ भने लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा जस्ता वरिष्ठ नेताहरूको साथ रहेको छ ।

तल्लो तहको अधिवेशनबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधि मतदाता रहने यो अधिवेशनमा ७ सय ५३ पालिकाका अध्यक्ष, १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अध्यक्ष, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रका अध्यक्ष र ७७ जिल्ला अध्यक्ष पनि महाधिवेशनमा पदेन प्रतिनिधिका रुपमा मतदाता रहन्छन् ।

पटक–पटक जुट्दै र फुट्दै आएको राप्रपा दोस्रो संविधानसभामा नेपालको चौथो ठूलो दलका रूपमा स्थापित थियो । संविधान जारी भएपछि अहिले प्रतिनिधिसभामा एक सिटमा खुम्चिएको राप्रपाको फुट्ने र जुट्ने क्रम जारी छ । राप्रपा नेता राजाराम श्रेष्ठ भन्नुहुन्छ– ‘यो अधिवेशन पहिलाको भन्दा फरक छ । राप्रपाका सक्रिय सदस्यबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिले १ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै छन् ।’

राप्रपाले २०७३ सालमा पनि एकता महाधिवेशन गरी शक्ति सञ्चय गरेको थियो । अघिल्लो एकता महाधिवेशनलगत्तै यो पार्टीबाट डा. प्रकशचन्द्र लोहनी अलग भई एकीकृत राप्रपा राष्ट्रवादी पार्टीको नेतृत्व गर्नुभएको थियो । ०७४ साल श्रावणमा यो पार्टीबाट पशुपतिशमशेर जबरा पनि अलग भई राप्रपा प्रजातान्त्रिक गठन गर्नुभएको थियो ।

०७५ सालमा लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा राष्ट्रवादी र राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिक एकीकृत भई राप्रपा संयुक्त गठन भएको थियो । ०७६ साल फागुनमा कमल थापाले नेतृत्व गरेको राप्रपा र राप्रपा संयुक्तबीच पार्टीमा तीन जना अध्यक्ष रहने गरी एकता भएको थियो ।

महाधिवेशन शुरु भएसँगै नेतृत्वका दाबेदारहरू आफ्नो मतको जोड–घटाउमा लागेका छन् । गत बिहीबार पुरानो नेताबाट पार्टी अघि बढ्न नसक्ने भन्दै लिङ्देनले अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि दुई दिनअघि अध्यक्ष थापाले पनि पुनः नेतृत्व दाबी गर्दै अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको थियो । दुवै नेताले पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेपछि शक्ति कसको बढी छ भन्नेमा आम चासो बढ्न थालेको छ ।

लिङ्देनको पत्रकार सम्मेलनमा धवलशमशेर राणा उपस्थित भए । थापाको उम्मेदवारी घोषणामा ध्रुवबहादुर प्रधान, राप्रपाका संस्थापक लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दलगायत उपस्थित थिए । राप्रपाको यो अधिवेशनमा कमल थापाका साथै पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि नेतृत्व दाबी गर्ने आँकलन थियो ।

राणाले आफू नेतृत्वको दाबेदार नरहेको स्पष्ट पारेपछि डा. लोहनीले लिङ्देनलाई समर्थन जनाए । अब चुनावी मैदानमा दुई नेता थापा र लिङ्देन मात्र बाँकी रहेका छन् । महाधिवेशन प्रतिनिधिको जोड–घटाउको हिसाबमा राणाको पक्षका महाधिवेशन प्रतिनिधि ५० प्रतिशतले थापालाई समर्थन गर्ने ५० प्रतिशतले लिङ्देनलाई समर्थन गर्ने अनुमान छ ।

राप्रपाभित्र थापा र राणाकै पकड रहेकाले कमल थापाले नै जित्ने सम्भावना बढेको राप्रपा नेताहरू बताउँछन् । सात प्रदेशमध्ये पाँच प्रदेशमा थापा पक्षकै नेतृत्व रहेको बताइएको छ । नेतृत्वका दाबेदार थापा र लिङ्देन दुवै नेताको पार्टी सिद्धान्तमा मतभेद छैन । लिङ्देनले कार्यशैली र व्यवस्थापकीय कमजोरी औंल्याउनुभएको छ ।

थापाले पार्टीमा आफ्नो योगदान र दुःख सम्झनुभएको छ । राप्रपा नेता एवं केन्द्रीय कार्य सम्पादन समितिका सदस्य सुरेश आचार्य भन्नुहुन्छ– ‘यो प्रजातान्त्रिक अभ्यास हो । दुवै नेताले सैद्धान्तिक र वैचारिक आधारलाई परित्याग गरेर नेतृत्व दाबी गरेका छैनन् । प्रजातान्त्रिक अभ्यास हो, उम्मेदवार भएपछि हार–जित हुन्छ नै ।’

संघीयताको विरोध तथा राजसंस्था र हिन्दूराज्यको पक्षमा रहेको राप्रपाको महाधिवेशनको क्रममा तीन दिनसम्म मेरो पक्ष र तेरो पक्ष भनिए पनि महाधिवेशनपछि नेताहरूमा कुनै पनि मतभेद नरहने नेता आचार्यको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्