काभ्रेमा दुई चरणमा छुट मतदाता नामावली सङ्कलन

मसिंर १७ देखि पुष ८ गतेसम्म सक्ने कार्यतालिका



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता नामावली सम्बन्धी विशेष कार्यक्रम दुई चरणमा गर्ने तयारी गरेको छ । जिल्लामा रहेका १३ वटा पालिकामा १०/१० दिन कार्यक्रम सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनु भयो ।

जिल्ला स्थित राजनीतिक दल र सरोकारवाला निकायसँग अन्तर्क्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय काभ्रेले पहिलो चरणमा मसिंर १७ गते देखि २६ गतेसम्म बनेपा, पनौती, पाँचखाल, बेथान्चोक, खानि खोला र रोशी गाउँपालिकामा छुटेका मतदाताहरूको नामावली सङ्कलन गर्ने तयारी गरेको छ ।


जसका लागि स्थानीय तह, राजनीतिक दल र छुटेका मतदाताहरूलाई जानकारी गराउने गरी सरोकारवालाहरूलाई जानकारी गराइएको निर्वाचन अधिकारी राईले जानकारी दिनु भयो । दोस्रो चरण मसिंर २८ देखि पुष ८ गतेसम्म भुम्लु, चौरीदेउराली, तेमाल, महाभारत, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा हुनेछ ।

अभियान अवधिभर धुलिखेल नगरपालिकाका नागरिकहरुहरुको हकमा जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेका दुवै केन्द्रहरूमा मतदाताहरूको नामावली सङ्कलन गरिनेछ । आयोगले मतदातामा नामावली छुट भएका व्यक्तिहरूलाई सक्कलै नागरिकता लिएर स्वयं उपस्थित हुन अपिल गरेको छ ।

नागरिकताको स्थायी ठेगाना र हाल बसोबास गरेको ठेगाना फरक रहेको अवस्थामा बसाई सराई सरेको कागज वा विवाह दर्ताको सक्कल कागज र एक प्रति फोटोकपी समेत साथमा लिएर आउन आयोगले अनुरोध गरेको छ । मतदाता छुट सङ्कलन गर्ने अभियानका बीचमा पालिकाका केन्द्रहरूमा नामावली एक स्थानबाट अर्काे स्थानमा सार्ने कार्यक्रम नगर्ने तर आयोगमा आवश्यक कागजात सहित आएको अवस्थामा प्रक्रिया सुरु गर्ने आयोगले बताएको छ ।


मतदाता स्वयं वा निजको परिवारको सदस्यले मतदाता सार्न खोजेको अवस्थामा नागरिकता सक्कल, मतदाता परिचयपत्र, सार्नु पर्ने कारण सहितको निवेदन र सक्कल कागजात आवश्यक हुनेछ । आयोगले आफ्नो नाम मतदाता सूचीमा भए नभएको हेर्न सकिने गरी आयोगको वेभ साइट www.election.gov.np   (इलेक्सन.जिओभी.एनपी) मा गएर खोज्न सकिने व्यवस्था गरेको छ ।

वेभसाईटमा गई प्रदेश, जिल्ला, नगरपालिका, वडा र मतदान केन्द्र छानेर सबमिट गरेपछि आफ्नो नाम भेट्टाउन सकिनेछ । एकै पटक १० जनाको नाम भेट्टाउन सकिने आयोगले जानकारी दिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा २०७४ सालको निर्वाचनमा २ लाख ७२ हजार २ सय ९२ जना मतदाता रहेकोमा २३ हजार २ सय ८० थप भई २ लाख ९५ हजार ५ सय ७२ पुगेको छ ।

जसमा महिला १ लाख ४५ हजार २ सय ६२ र पुरुष १ लाख ५० हजार ३ सय ९, तेस्रो लिङ्गी १ जनाले मतदाता सूचीमा नाम समावेश गरेका छन् । यो पटक थप केही हजार मतदाताहरू थप हुने आयोगले अपेक्षा गरेको छ । अन्तर्क्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, कार्यालय प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी थिए ।

अधिकांशले पालिकाको केन्द्रमा भन्दा वडा केन्द्रमा पुगेर छुत मतदाताको नामावली सङ्कलन गर्न सुझाव दिएका थिए । काभ्रेपलाचोक जिल्लामा १३ पालिका, २ वटा संघीय क्षेत्र र चार वटा प्रदेश निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया दिनुहोस्