मच्छिन्द्र र आर्मीले बराबरी खेले



 काठमाडौं । 

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् ।

योसँगै डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले दुई अंक ड्रप गरेको छ । यसअघि, न्युरोड टिम (एनआरटी) विरुद्धको खेल २–१ ले जितेको जनबहालको टिम दुई खेलबाट ४ अंक भएको छ । तीन अंकको लागि खेलेको निराशाजनक नतिजा बेहोर्नुपरेको मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बताए ।कटुवालले पोस्ट म्याच प्रेस कन्फ्रेन्समा बताए–‘हामी तीन अंकको लागि खेल्न आएका थियौ । तर, गोल गर्न नसक्दा हामीले अंक बाँडनुपरेको छ । उपाधि जित्ने अभियानमा यो नतिजाले फरक पार्न सक्नेछ । हामीसँग स्ट्राइकर पनि भएन, अभिषेक (रिजाल) पनि जम्न सकिरहेका छैनन् । विमल (घर्तीमगर) पनि पूरै फिट छैनन् । हामीले अरू खेलमा राम्रो खेल्दै जानुपर्छ ।’

उता विभागीय टिम आर्मीको लागि पनि यो नतिजा निकै खराब रह्यो । आर्मीले यसअघि अर्को विभागीय टिम नेपाल पुलिस क्लबविरुद्ध बराबरी नै खेलेको थियो । योसँगै आर्मीको दुई खेलपछि २ अंक मात्रै भएको छ । खेलबाट सन्तुष्ट नभएका आर्मीका प्रशिक्षक नवीन न्यौपानेले स्कोरिङ गर्ने स्ट्राइकर नभएको बताए । उनले बताए—‘हाम्रो खेलमा डिफेन्समा कुरा गर्ने ठाउँ छैन । डिफेन्डरहरूले राम्रो खेल खेलेका छन् । तर, एट्याकिङमा हामी राम्रो भएनौं । अन्तिम २० मिनेटमा भने हामीले राम्रो फुटबल खेल्यौं । तर, हामीले गोल गर्न सकेनौ । हामीले उपाधि जित्नु छ भने एट्याकिङ अझै राम्रो बनाउनु आवश्यक छ ।’

यसअघिको खेल पनि गोलरहित बराबरीमा सकिएको थियो । ब्रिगेड ब्वाइज क्लब र एनआरटीले एक–एक अंक बाँडेका थिए । योसँगै एनआरटीको दुई खेलमा एक अंक भएको छ भने ब्रिगेड ब्वाइजको त्यति नै खेलमा ४ अंक भएको छ । पहिलो चरणमा ब्रिगेडले एपीएफ क्लबलाई ३–२ ले हराएको थियो । तर, एनआरटी भने मच्छिन्द्रसँग २–१ ले हारेको थियो ।

दुई चरणको खेल समाप्तिसम्म मनाङ मस्र्याङदी क्लबले ६ अंक जोडेर अंकतालिकामा शीर्ष स्थान ओगटेको छ । मनाङले जावलाखेल र हिमालयन शेर्पालाई समान १–० ले हराएको हो । यस्तै, पुलिस, मच्छिन्द्र, संकटा, ब्रिगेड र सातदोबाटोले समान ४ अंक जोडेका छन् । ३ अंक जोड्नेमा थ्रीस्टार र च्यासल रहेका छन् भने आर्मीले २ अंक जोडेको छ । फ्रेन्डस्, एनआरटी र हिमालयन शेर्पाको एक अंक छ भने जावलाखेल र एपीएफले अंक जोड्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्