राप्रपाको अध्यक्षमा थापा र लिङ्देन भिड्ने



काठमाडौं, (नेस) । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा अध्यक्षका लागि नेता कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने भएका छन् । राप्रपाको महाधिवेशन यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदै छ ।

बिहीबार अध्यक्षका लागि लिङ्देनले उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो भने हिजो सोमबार थापाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पटक–पटक फुट्दै–जुट्दै आएको राप्रपामा अहिले कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष छन् ।नेपालगन्जका मेयरसमेत रहेका नेता धवलशमशेर राणाको समर्थनमा लिङ्देनले उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै उम्मेदवारी घोषणा गरेपछि अध्यक्ष थापाले सोमबार उम्मेदवारी घोषणा गर्दै भन्नुभयो– ‘आफ्ना अग्रजलाई गाली गरेर, असफल गरेर नेतृत्व लिन सम्भव हुँदैन ।’ जसले यो पार्टीलाई रगत पसिना दिए, ती नेतालाई असफल भए भन्न मिल्दैन भन्दै उहाँले एक-दुईपटक चुनाव जित्दैमा लोकप्रिय नभइने पनि बताउनुभएको थियो ।

मैले राष्ट्रिय प्रजातन्त्र पार्टी–२०४७ मा स्थापना भएयता तीनपटक केन्द्रीय सदस्य र तीनपटक पार्टीको अध्यक्ष भएर काम गर्ने मौका पाएँ’, अध्यक्ष थापाले भन्नुभयो– ‘यो ६ पटक कहिले पनि उम्मेदवारी घोषणा गरिनँ र भोट पनि मागिनँ ।’ अहिले उम्मेदवारी घोषणा गर्नु परिस्थितिजन्य बाध्यता रहेको अध्यक्ष थापाको भनाइ थियो ।
उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष थापाले मंसिर १५ गतेदेखि हुने ऐतिहासिक एकता महाधिवेशनबाट पार्टी फुट्ने र टुट्ने तीतो अनुभवको शृंखला नदोहोरिने पनि बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्