म्याग्दीको वेग खोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते



न्युज अफ नेपाल, म्याग्दी । 

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा आज (सोमबार) बोलेरो जिप दुर्घटना भएको छ । सदरमुकाम बेनीबाट बेगखोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार बेगखोलास्थित उकालो जाँदै गरेको जिप अचानक सडकभन्दा तल खस्दा चालक दुतबहादुर थापासहित ६ जना घाइते भएका छन् । जिप दुर्घटनामा परेर २ जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज केसीले बताउनुभयो ।

दुर्घटनामा परेका घाइते र मृतकको उद्धारका लागि म्याग्दी सदरमुकाम बेनीबाट प्रहरीको टोलीसहित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको रेडक्रस घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरुको पहिचान खुल्न बाँकी छ भने दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्