धुलिखेलका सबै वडामा स्वास्थ्य केन्द्र 

‘आरोग्य शहर, धुलिखेल नगर’



मोतीराम तिमल्सिना, काभ्रे  ।

‘नागरिकलाई स्वस्थ राख्दै शहरलाई स्वस्थ र आरोग्य बनाउन सबै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी आवश्यक दक्ष जनशक्ति, औषधी, उपकरण तथा नागरिकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने अभियान निरन्तर जारी छ’–धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो– आरोग्य शहर धुलिखेल नगर बनाउने अभियान स्वरूप अहिले घर घरमा पुगेर नागरिकहरूलाई कस्ता कस्ता रोगहरू छन् रु नागरिकहरूलाई कस्तो उपचार सेवा आवश्यक छ रु भन्ने सर्वेक्षण पछि रोग लाग्नै नदिन र लागेको रोगलाई उपचार गराउन सुरु गर्नेछौँ ।’

धुलिखेल नगरपालिका वडा नम्बर ६ मा निर्माण सम्पन्न भएको भैरव आधारभूत स्वास्थ्य केन्द्रको समुद्घाटन पछि नगर प्रमुख ब्याञ्जुले हरेक क्षेत्रको विकासमा स्वास्थ्य पहिलो सर्तका रूपमा नगरपालिकाले प्राथमिकता राखेको बताउनु भयो । वडा नम्बर ६, ७, ४, २, ११ र १ मा स्वास्थ्यका सुविधा सम्पन्न भवन निर्माण गरी काभ्रे भन्ज्याङमा अस्पताल, धुलिखेलकै वडा नम्बर ६ मा रहेको आयुर्वेदिक भवनलाई पक्की संरचना निर्माण गरी स्वास्थ्यमा सबल नगरपालिका निर्माण गर्ने अभियान धुलिखेल नगरपालिकाले सुरु गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेल अस्पताललाई अझै शशक्त बनाउन थप सहजीकरण गर्दै नेपाल सरकारले तोकेका निशुल्क ६५ थरीका औषधी आधारभूत स्वास्थ्य केन्द्रमा उपलब्ध गराइने उहाँले बताउनु भयो ।

‘सुरक्षित मातृत्व, परिवार नियोजनका विभिन्न सेवा, पोषण कार्यक्रम, खोप कार्यक्रम, राष्ट्रिय अभियान अन्तर्गत स्वास्थ्यका विभिन्न कार्यक्रम, सर्ने तथा नसर्ने रोगहरूको पहिचान, रोकथाम र उपचार, टिभी, सुगर तथा अन्य रोगहरूको पहिचान तथा परीक्षण, जेष्ठ नागरिक सेवा आधारभूत स्वास्थ्य केन्द्रमा उपलब्ध हुनेछ’–धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले भन्नुभयो–‘नगरपालिकाले घरदैलो सेवा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत नागरिकहरूलाई सेवा उपलब्ध गराउनेछ ।’ वडा अध्यक्ष सञ्जय कुँजोले वडावासीहरूलाई सहज बनाउन आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको बताउनु भयो ।

कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गा सहयोग गर्ने जग्गादाता हरिओ काजी चोच्छे श्रेष्ठलाई सम्मान गरिएको थियो । नगर प्रमुख ब्याञ्जुले स्वास्थ्य भवनका लागि गरिएको दानले पुण्य प्राप्त हुने बताउनु भयो । जग्गादाता हरिओम श्रेष्ठले जग्गा ठुलो कुरा नभएकाले सेवा प्राप्तिमा दान महत्त्वपूर्ण सम्झेर उपलब्ध गराएको बताउनु भयो ।

धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। पुरुषोतम सेढाई, सामाजिक विकास शाखा प्रमुख एवं वडा अध्यक्ष विष्णु धिताल, स्वस्थ्य शाखाका सरोज थापा, आधारभूत स्वास्थ्य सेवामा कार्यरत कर्मचारी अञ्जली हमाल लगायतले स्वास्थ्य सेवाले नागरिकहरूलाई सहज हुने बताउनु भयो । यस अघि मसिंर ७ गते मंगलबार धुलिखेल वडा नम्बर ४ को आधारभूत स्वास्थ्य केन्द्रको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्