निधन भइसकेका म्याराडोनामाथि बलात्कारको आरोप



ब्युनोस आयर्स, (एजेन्सी) । 

महान फुटबलर डिएगो म्याराडोनाको निधन भएको एक वर्षपछि एक महिलाले बलात्कारको आरोप लगाएकी छन् । अर्जेन्टिनाका लिजेन्ड म्याराडोनामाथि आरोप लगाउने क्युबाकी नागरिक माभिज अल्भारेज रेगो हुन् ।

म्याराडोनाको निधनको वर्ष दिन हुन दुई दिनअघि एक प्रेस सम्मेलन गरी उनले १५ वर्षको उमेरमा म्याराडोनाले उनलाई बलात्कार गरेको खुलासा गरेकी थिइन् । उनको बाल्यपन छिनिएको र कोकिनको लतसमेत गराएको ती महिलाको गम्भीर आरोप रहेको छ । रेगोले प्रेस सम्मेलनमा म्याराडोनासँग खिचाएको तस्वीर पनि देखाइन् र उनीसँग मारपिट पनि गरेको बताएकी थिइन् ।

गत वर्ष २०२० नोभेम्बर २५ मा ६० वर्षको उमेरमा निधन भएको थियो । हाल मायामीमा रहेकी ३७ वर्षीया रेगोले २० वर्ष अघि म्याराडोनासँग उनको सम्बन्ध बनेको बताइन्, जुन ४–५ वर्ष सम्म चलेको थियो । उनले बताइन् कि जब उनी म्याराडोनासँग भेटिन्, तब उनी नाबालिग थिइन् । उनी १५ वर्ष हुँदा क्युबामा म्याराडोनासँग भेटेको र त्यतिबेला म्याराडोना ४० वर्षको थिए । क्युबामा त्यतिबेला म्याराडोना ड्रग एडिक्सनको उपचार गरिरहेका थिए ।

रेगोले बताइन्—म म्याराडोनाको ख्यातिबाट ज्यादै प्रभावित भएकी थिएँ । म उनको लहलहमा लागेँ र दुई महिनापछि केही परिवर्तन हुन थाल्यो । मलाई उनले मुख थुनेर जबरजस्ती गरेका थिए । उनले मलाई जबर्जस्ती कोकिनतिर समेत धकेलिदिए र यसको लत बनाइदिए । यसपछि म उनीसँग जति प्रेम गर्थे त्यति नै घृणा पनि गर्न लागेको थिए । मैले आत्महत्या गर्न पनि सोचेकी थिएँ ।

रेगोले म्याराडोनाविरुद्ध आधिकारिकरूपमा कुनै उजुरी दर्ता गरेकी छैनन् । रेगोले कारवाहीतिर नजाने र जे गर्नुपर्ने हो त्यो गरेकी र यसको निर्णय अदालतले गर्ने उनको भनाइ रहेको छ । उनले बताइन् कि यसरी अगाडि आएपछि अरू दुव्र्यवहार खेपिरहेका महिलाहरू पनि अगाडि आएर बोल्नेछन् ।

तर, उनको यो बयान सार्वजनिक भएपछि अर्जेन्टिनाको एनजिओ फाउन्डेसन फर पिसले म्याराडोना र उनको टिममाथि दुव्र्यवहार र मानव तस्करीलाई लिएर उजुरी दर्ता गरेको छ । म्याराडोनाको टिमका साथीहरूले भने आरोपको खन्डन गर्दै एनजीओमाथि उनीहरूलाई बदनाम गर्ने लागेको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्