मानवअधिकार तथा शान्ति समाज म्याग्दीको १९औँ साधारण सभा



प्रताप बानियाँ, म्याग्दी । 

मानवअधिकार तथा शान्ति समाज म्याग्दीको सोमबार सदरमुकाम बेनीमा १९औँ वार्षिक साधारण सभा तथा ११औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित १९औँ साधारण सभा तथा ११औँ अधिवेशन आयोजना गरिएको हो ।

साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय महासचिव रामकृष्ण बरालले म्याग्दी शाखामार्फत पवित्र काली गण्डकी नदी संरक्षण गर्नका लागि अभियान सञ्चालन गर्न सकिने हुँदा वातावरण संरक्षण गरी मानव सभ्यता कायम राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सोही कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ति समाज नेपालका पूर्व केन्द्रीय सभापति उत्तम पुडासैनीले शान्ति समाज तथा मानव अधिकारका शाखामार्फत समाजमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तनको कारण विभिन्न क्षेत्रमा असर परिरहेको भन्दै वातावरण संरक्षणका साथै हिमालय बचाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज नेपालका पूर्व केन्द्रीय वरिष्ठ उपसभापति रामजीप्रसाद सुवेदीले वातावरणको संरक्षण गर्न, काली गण्डकी नदीलाई स्वच्छ बनाउन र पशु, चौपायाको व्यवस्थापन गर्नका लागि सबै क्षेत्रबाट आवश्यक सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज काठमाडौं जिल्ला शाखाका सभापति भगवान् पुडासैनी, म्याग्दी शाखाका

निवर्तमान सभापति ठाकुरप्रसाद शर्मा र पूर्व सभापति लक्ष्मण शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारण सभा तथा अधिवेशनमा मानवअधिकार तथा शान्ति समाज म्याग्दीका सचिव हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष मुकुन्दप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनको उद्घाटन सत्र शाखाका सभापति नवराज पौडेलको अध्यक्षता, उपसभापति सन्तोष गौतमको स्वागत र सचिव हरिप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबिच मानवअधिकार तथा शान्ति समाज म्याग्दीको १९औँ वार्षिक साधारण सभा तथा ११औँ जिल्ला अधिवेशनले सन्तोष गौतमकोसभापतित्वमा म्याग्दी शाखाको नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिवमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा विष्णुप्रसाद आचार्य र सहसचिवमा विष्णु गौतम सापकोटा चयन हुनुभएको छ ।

 यसै गरी सदस्यहरूमा नवराज रिजाल, शकुन्तला सापकोटा पौडेल, विनोद श्रेष्ठ, विज्ञान सुवेदी, हरि गिरी र सन्तोष ढुङ्गाना चयन हुनुभएको छ । शाखाको साधारण सभा तथा अधिवेशनले वातावरण संरक्षण गर्नका लागि काली गण्डकी र म्याग्दी नदीको किनारमा १०८ बर पिपलका बिरुवाहरू रोप्ने सङ्कल्प समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्