रामदेवले नेपालमा खाेलेका टेलिभिजनबारे विभागले छानबिन थाल्यो 



विष्णु रैगाईँ, काठमाडौं ।

भारतीय योग गुरु रामदेवले नेपालमा सञ्चालन गर्ने भनिएका टेलिभिजनको बारेमा सूचना तथा प्रसारण विभागले छानबिन सुरु गरेको छ ।  पतञ्जलि नेपाल टिभी र आस्था नेपाल नामक उक्त दुई टेलिभिजन च्यानलले नेपालमा प्रसारणको इजाजत लिए/नलिएको बारे छानबिन गर्न प्रसारण शाखाका निर्देशक सुदिप भट्टराईको नेतृत्वमा समिति गठन भएको विभागका प्रवक्ता भरत गौतमले न्युज अफ नेपाललाई जानकारी दिए । उक्त समिति आजै गठन भएको प्रवक्ता गौतमले बताए ।

विभागलाई टेलिभिजनको लोगो मात्रै उद्घाटन गरिएको भन्ने जानकारी आएको प्रवक्ता गौतमको भनाई छ । यद्यपि  कुरा अर्कै आएकाले छानबिन समितिले यथार्थ बाहिर ल्याउने उनले बताए ।

शुक्रबार बुढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै भएभरका नेताहरुसहित प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त दुई विवादास्पद टेलिभिजनको उद्घाटन गरेका थिए । साे कार्यक्रममा प्रधानमन्त्री देउवाले योग गुरु रामदेवद्वारा सञ्चालित योगपिठका लागि नेपालमा जग्गा उपलब्ध गराउने समेत बचन  दिएका थिए ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार आम सञ्चारमाध्यममा वैदेशिक लगानी प्रतिबन्ध गरिएको छ । तर प्रधानमन्त्री र शीर्ष नेताहरूले उक्त ऐन विपरीत विदेशी लगानीका दुई टेलिभिजन एकै दिन उद्घाटन गरेपछि चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्