मुद्दाको पेशी तोक्न गोलाप्रथा लागू गरिने



काठमाडौं, (नेस) । 

सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको पूर्ण बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोक्ने नियमावली संशोधन गरेको हो । सो नियमावली लागू भएपछि अब प्रधानन्यायाधीशले पेशी तोक्न नपाउने भएको छ ।

एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशबाहेकका १८ जना न्यायाधीश छुट्टै बसेर गोलाप्रथा नियमावली संशोधन र निर्देशिका पारित गर्ने निर्णय गरेको हो । पूर्ण बैठकबाट स्वीकृत नियमावली र निर्देशिका मुख्य रजिस्ट्रारमार्फत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएर राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः पूर्ण बैठक बसेपछि गोलाप्रथा लागू हुनेछ ।९ पृष्ठको यो निर्देशिकाले गोलाप्रथा प्रणालीसम्बन्धी विस्तृत व्यवस्था गरेको छ । निर्देशिकाअनुसार इजलास गठन र पेशी सूची निर्धारण गर्न मुख्य रजिस्ट्रारले सो दिनका लागि तोकिएका मुद्दालाई समूहमा विभाजन गरेर उक्त दिन गठन हुन सक्ने इजलास संख्याबारे प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई जानकारी गराउनुपर्ने हुन्छ ।

जसअनुसार प्रत्येक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार र मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सूचना प्रविधि प्राविधिकको उपस्थितिमा गोला प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेशी सूची निर्धारणको कार्य प्रारम्भ हुनेछ ।गोला प्रक्रियाद्वारा बृहत् पूर्ण÷पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेछ । गोला तान्न समान रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ । निर्देशिकामा जनाइएअनुसार त्यस्ता गोटीलाई त्यसपछि अपारदर्शी थैलीमा राखिनेछ र न्यायाधीशहरूले वरिष्ठताका आधारमा एक–एकवटा गोटी तान्नुपर्नेछ ।

त्यसरी तानेको गोटी सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाउनुपर्ने हुन्छ, जसको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा समेत राखिन्छ । गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गरिने र त्यसका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ ।

सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच झडप

मुलुकको सर्वोच्च न्यायालय क्रमशः ‘युद्धमैदानमा’ परिणत हुँदै गएको कानुन व्यवसायीहरूले बताउन थालेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलरत कानुन व्यवसायी र प्रहरीबीच बिहीबार झडप भएपछि अदालत परिसरको माहोल दिनभर तनावग्रस्त बनेको थियो ।

यसअघि कात्तिक २५ गते बिहीबार पनि प्रहरीसँग झडप हुँदा दर्जनौं कानुन व्यवसायीहरू घाइते भएका थिए । प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ परिसरमा धर्ना दिइरहेका बेला सो झडप भएको थियो । प्रधानन्यायाधीश जबरालाई अदालतमा प्रवेश गर्न नदिने अन्य द्ुईवटा वैकल्पिक गेटमा धर्ना दिन जाने क्रममा कानुन व्यवसायीलाई प्रहरीले रोकेपछि झडप भएको हो । प्रहरीले रोक्न खोजेपछि शुरुमा घम्साघम्सी भएको थियो । त्यसपछि आन्दोलनकारीलाई धकेल्दै प्रदर्शन रोक्न खोजेको प्रहरीले पछि लाठीचार्जसमेत गरेको थियो ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत कानुन व्यवसायीले तीन सातायता सर्वोच्च अदालत परिसरको एक छेउमा धर्ना दिइरहेका छन् । बिहीबारको प्रदर्शनमा एसएलआर टोलीसहित प्रहरी परिचालन गरिएको थियो । यसअघिका प्रदर्शनमा यस्तो नदेखिएको कानुन व्यवसायीहरू बताउँछन् ।

दंगा प्रहरी र एसएलआरसहित प्रहरी अग्रमोर्चामा रहेका प्रहरीको सहयोगका लागि पछाडिपट्टि तैनाथ थिए । प्रहरीले अश्रुग्यास प्रहार गर्ने बन्दुक र दंगा नियन्त्रणमा उपयोग गरिने अन्य उपकरण पनि साथमा बोकेका थिए ।प्रहरीले दमन गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरूले प्रहरी दमनविरुद्ध पनि नाराबाजी गरेका थिए । बारले अदालतलाई युद्धमैदान बनाएको भन्दै आपत्ति जनाएको छ । यसैबीच पत्रकार सम्मेलनको आयोजना गरी बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले आज शुक्रबार ३ बजेसम्ममा राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्