बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तर्कृया, आन्तरिक स्रोतको परिचालन गरेर करको दायरा बढाउनुपर्छ : मन्त्री बराल



प्रताप बानियाँ, म्याग्दी ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री रामजीप्रसाद बरालले आन्तरिक स्रोतको परिचालन गरेर करको दायरा बढाउनुपर्ने बताउनुभएको छ । अर्थ मन्त्रालयले मङ्गलबार म्याग्दीको बेनीमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तर्कृया एवं छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री बरालले अब कोरोनालाई देखाएर विकास निर्माणलाई प्रभावित गर्न नपाइने बताउँदै नतिजा दिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिँदै कोरोनालाई देखाएर विकास निर्माणलाई प्रभावमा पार्न नहुने बताउनुभयो । अहिले कोरोना भाइरसको प्रभाव विस्तारै कम हुदै गएकाले बाहिरी रुपमा रहेको कोरोनाबाट सचेत भएर विकास निर्माणलाई गति दिने गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

थोरै तथा खुद्रे बजेट आएको भन्ने प्रश्नमा मन्त्री बरालले प्राप्त बजेट प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्न बताउनुभएको छ । अहिले सङ्घीयता अभ्यासको क्रममा रहेकाले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सह–अस्तित्व हुन नसक्दा कार्यक्रमहरु प्रभावकारी नभएको उहाँले बताउनुभयो ।

प्रदेशले आन्तरिक स्रोतलाई कसरी वृद्धि गर्न सकिन्छ र त्यसको स्रोतहरु के–के हुन् सक्छन्, त्यसतर्फ सबैको ध्यानकेन्द्रीत हुनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । करको दरभन्दा पनि त्यसको दायराका क्षेत्रहरुतर्फ ध्यानकेन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।

अन्तर्कृया कार्यक्रममा अर्थ मन्त्रालयका सचिव बैकुण्ठप्रसाद अर्यालले म्याग्दी जिल्लाको संक्षिप्त कार्य प्रगति प्रस्तुत गर्दै गतवर्ष ७१ दशमलव ४३ प्रतिशत बजेट कार्यान्वयन भएकोमा चालु वर्षको पहिलो चौमासिकमा करिब ८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । बहुवर्षीय योजनाहरुमा कम्तीमा पनि २० प्रतिशत बजेट सुनिश्चित नभएसम्म कार्यान्वयनमा लैजान नसकिने उहाँले बताउनुभयो । एउटै कार्यक्रममा दुईवटा योजना भए एउटा मात्र कार्यक्रम लागू हुने सचिव अर्यालले बताउनुभयो ।

उक्त कार्यक्रममा कोष लेखा तथा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख युक्तप्रसाद शर्माले अझै पनि ४० देखि ४५ प्रतिशत बजेटको खर्च असारमा हुनेहुँदा यसलाई समयमै सुधार गर्नुपर्ने बताउनुभयो । पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष अर्यालले बहुवर्षीय योजनाहरु यसैवर्ष सञ्चालनको लागि आवश्यक बजेट विनियोजन नभएको गुनासो गर्नूभयो ।

यसवर्ष टुक्रे योजना धेरै परेकोमा एउटै योजनामा अघि र पछि गरी बजेट समेत विनियोजन भएको उहाँको भनाइ थियो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले लेखा तथा प्रशासनका कर्मचारीको अभाव भएको गुनासो गर्नुभयो ।

कोरोनाबाट म्याग्दीमा ८२ जनाको मृत्यु भएको र हाल ४ जना कोरोनाका बिरामी रहेको बताउँदै उहाँले १८ वर्षभन्दा माथिका करिब ५५ प्रतिशत जनसङ्ख्यामा कोरोना विरुद्धको खोप लगाइएको जानकारी दिनुभयो । बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कंडेलले लेखाको दरबन्दी नभएकोले कर्मचारीलाई तलव/भत्ता खुवाउन समस्या भएको बताउनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले १६ वटा योजनाहरु परेको भए पनि योजना परेको ठाँउको बारेमा पत्ता लगाउन एक महिना समय लागेको बताउनुभयो । ज्येष्ठनागरिक र हिंसा प्रभावित व्यक्तिहरुलाई आश्रममा व्यवस्थापन गर्नका लागि एउटा सामुदायिक भवनको आवश्यक भएको उहाँले माग गर्नुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौड्याल, डिभिजन वन कार्यालयका निमित्त प्रमुख चन्द्रमणि सापकोटा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका लेखा अधिकृत त्रिविक्रम शर्मा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख दामोदर शर्माले आ–आफ्नो कार्यालयको प्रगतिसहित समस्याका बारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालयका शाखा अधिकृतद्वय केशव सुवेदीले सञ्चालन र दिलिप सुवेदीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्