अर्घाखाँची–गुल्मीको विद्युत् समस्या समाधान हुँदै



नेपाल समाचारपत्र, काठमाडौं ।

कपिलवस्तुको बाणगंगा नगरपालिका र अर्घाखाँचीको सन्धिखर्कमा निर्माणधीन १३२/३३/११ केभी सबस्टेसन अन्तिम चरणमा पुगेका छन् । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमश : आगामी मंसिर १५ र पुस १५ गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।

बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माणको अन्तिम चरणका काम भइरहेको हो । सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरु रहने छन् । सबस्टेसनका सम्पूर्ण उपकरणहरको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ ।

पूर्व–पश्चिम १३२ केभी लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ । आयोजनाअन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्डको प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ । ८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टांगिएको छ ।

यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण अगामी १५पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।

मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिने छ । यसबाट कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाको विद्युत् आपूर्ति भरपर्दो हुने छ । विद्युत्को प्राविधिक चुहावट पनि कम हुनेछ ।

अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत् अर्घाखाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट पनि छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोतीपुर सबस्टेसन र प्रसारण लाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सक्नुपर्ने बताउनुभयो । ‘अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाबाट झ्याप्प झ्याप्प बत्ती गएको धेरै गुनासा आएका छन्, उपभोक्ताबाट गाली खाएका छौं, त्यसैले सबस्टेसन र प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् दिनुपर्छ ।’ उत्पादित विद्युत मुलुकभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दे सबस्टेसन र प्रसारण लाइनको निर्माणपछि यस क्षेत्रका उद्योगलाई चाहिए जति विद्युत् दिन सकिने बताउनुभयो ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्