नयाँ अधिवेशन पुरानो नेतृत्व



सत्ताधारी दल नेपाली कांग्रेस र संघीय संसद्को प्रमुख प्रतिपक्षी नेकपा एमालेको महाधिवेशन कार्यक्रमका कारण मुलुकमा एक प्रकारको राजनीतिक उत्सव शुरू हुँदैछ । कोभिडको लहर घटेसँगै पर्यटकीय क्षेत्र सौराहामा एमालेको महाधिवेशनका लागि चहलपहल बढेको छ भने काठमाडौंमै हुने नेपाली कांग्रेसको महाधिवेशनले पनि वातावरण तताएको छ । मंसिरको दोस्रो साता हुने एमालेको १०औं महाधिवेशन र सोही महिनाको अन्तिम साता हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई सबैले रुचिपूर्वक हेरेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशनले नयाँ नेतृत्व दिने आश गरिए पनि एमालेको महाधिवेशन हालका प्रभावशाली अध्यक्ष केपी ओलीमै रमाउने सम्भावना छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सो पार्टीका नेता तथा कार्यकर्ता अघाएको देखिए पनि वर्तमान सरकारका प्रधानमन्त्री पनि रहेका देउवा स्वयं भने नअघाएका कारण सो पार्टीले नयाँ नेतृत्व पाउँछ वा पाउँदैन, अनुमान गर्नसकिने अवस्था छैन । यी दुवै प्रभावशाली दलले यतिखेर महाधिवेशन तयारी समिति गठन गरिसकेका छन् । नेपाली कांग्रेसले महाधिवेशनमा देशभरबाट आउने झण्डै ४ हजार ५ सय प्रतिनिधिलाई कम्तीमा पनि तीन दिनसम्म राजधानीमा भोजन र आवासको व्यवस्था गर्नेछ । महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिहरूलाई सुन्धारा, बागबजार, गौशाला र ठमेल एरियामा रहेका होटलहरूमा बस्ने र खाने व्यवस्था मिलाउने बताइएको छ । महाधिवेशन प्रतिनिधिहरूलाई मंसिर २४ गते बेलुकादेखि २६ गतेसम्म त राख्नैपर्ने अवस्था छ । महाधिवेशन केही दिन लम्बिनसक्ने सम्भावना पनि हुन्छ । होटल भएका एरियापिच्छे गठन गरिएको समितिले महाधिवेशन प्रतिनिधिहरूलाई आ–आफ्नो एरियामा लाने–लैजाने र केही समस्या आए समाधान गर्ने बताइएको छ । नेका महाधिवेशनका लागि ७७ जिल्ला सभाापतिसहित प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाको दरले महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । केन्द्रीय सदस्य, भातृ एवं शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि गरी महाधिवेशनमा ४ हजार ५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि राजधानी आउने बताइएको छ । यसै गरी, एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सौराहादेखि पश्चिम नारायणगढस्थित नारायणी नदी किनारमा हुने व्यवस्था गरिएको छ । उद्घाटन कार्यक्रममा नेता, कार्यकर्ता, समर्थक शुभचिन्तक गरेर पाँच लाखभन्दा बढीलाई सहभागी गराउने एमालेको महत्वाकांक्षी तयारी छ । बन्दसत्र नारायणगढदेखि लगभग २० किलोमिटर पर हुने भएका कारण व्यवस्थापनका लागि केन्द्रीय नेताहरू नै तयारीमा सौराहामा खटिएका छन् । बन्दसत्रमा २१ सय हाराहारी प्रतिनिधि आउने सम्भावना रहेको तयारी समितिले जनाएको छ । खासगरी मंसिर १२ मा हुने मतदानप्रति सबैको ध्यान केन्द्रित देखिन्छ । विधान अधिवेशनमै निर्वाचन आयोग पनि गठन भइसकेको र निर्वाचनबाट २ सय २५ जना चुनिने व्यवस्थाका कारण उत्सवको वातावरण बन्ने निश्चित छ । यसपटक एमालेले भोटिङ मेसिनबाट मतदान गराउँदै छ ।

लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मतको अभिव्यक्ति र मतदानमा निहित छ । बारम्बार एकै व्यक्ति नेतृत्वमा आउनेगरी दलहरू जसरी नीतिगत त्रुटि दोहोर्‍याइरहेका छन्, त्यसले व्यवस्थामा गतिशीलता देखाउँदैन । अनुभवी वरिष्ठ नेताको संरक्षकत्वमा नयाँ पुस्ता नेतृत्वमा आउनसके लोकतन्त्रमा गतिशीलता थपिनेछ ।

प्रतिक्रिया दिनुहोस्