सर्वोच्च परिसरमा प्रधानन्यायाधीशका विरोधी र समर्थककाे प्रदर्शन



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै केही सातादेखि आन्दोलन, धर्ना र विरोधले अस्तव्यस्त रहेको सर्वोच्च अदालतमा आज पनि विरोध प्रदर्शन जारी छ ।

आज पनि अदालतको मुख्य गेटभित्रबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विरोधमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् भने गेटको बाहिर सडकमा प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन उत्रिएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेको नेपाल बार एसोसिएसन र सो नेतृत्वका कानुन व्यवसायीले बिहीबार मूल गेटमा धर्ना सुरु गरेका हुन् । प्रधानन्यायाधीशलाई रोक्न भन्दै धर्नामा बसे पनि प्रन्या जबरा भने अर्कै गेटबाट आज पनि कार्यकक्षमा प्रवेश गरिसकेका छन् ।

आज आइतबार अदालत बाहिर राष्ट्रिय झन्डा बोकेका र मोटरसाइकलमा आएका केही युवाहरुको समूहले भने प्रन्या जबराको पक्षमा नाराबाजी गरेका छन् ।

उनीहरुले इजलास छाडेर आन्दोलनामा रहेका सर्वोच्चकै न्यायाधीशहरु र धर्नामा रहेका वकिलहरुको विरुद्धमा प्रदर्शन गरेका हुन् । न्यायमा अवरोध गर्न पाइँदैन भन्दै उनीहरुले वकिलहरू विरुद्ध नाराबाजी गरेपछि धर्नामा रहेका वकिलहरूले पनि चोलेन्द्रका मतियार, होसियार भन्दै नाराबाजी गरेका छन् ।दुवै पक्षको प्रदर्शन चर्किँदै गएपछि प्रशासनले बाक्लै सुरक्षाकर्मी खटाएको छ । .

प्रतिक्रिया दिनुहोस्