म्याग्दीको टोड्केमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो



प्रताप बानियाँ, म्याग्दी।

म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो

समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र टोड्कमा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । टोड्के क्षेत्र भ्रमण गर्ने पर्यटकलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

टोड्केमा स्थानीयबासिन्दाले सामूहिक लगानीमा सामुदायिक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याएपछि पछिल्लो समय पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन् । पर्यटकीय क्षेत्र टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा आधुनिक सुविधासम्पन्न सामुदायिक रिसोर्ट सञ्चालन गरेपछि विगतको तुलनामा भन्दा पछिल्लोपटक टोड्के भ्रमण गर्ने पर्यटकको आगमनमा वृद्धि हुँदै गएको जनाइएको छ ।
टोड्केको भ्रमण गर्नका लागि म्याग्दीसहित बागलुङ, पर्वत, पोखरा, काठमाडौंलगायत जिल्लाबाट पर्यटकहरु पुग्ने गरेका छन् । कोरोना महामारी र लकडाउनका कारण विदेशी पर्यटक नआए पनि अहिले स्वदेशी पर्यटकको चहलपहल बढेको रिसोर्टका सञ्चालक मोहन खत्रीले बताउनुभयो । टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकलाई स्थानीय उत्पादन मुलाको चटनी, कोदो र फापरको ढिँडो, लोकल कुखुराको मासुलगायत अर्गानिक खाना खुवाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

विगतमा पर्यटकीय क्षेत्र टोड्केको भ्रमण गर्न विदेशी मुलुकहरु जर्मन, जापान, ईटाली, अमेरिका र भारतबाट पर्यटक पुग्ने गरेका थिए । तर, यसपटक अझै कोरोनाको जोखिम तथा सहज आवतजावत हुन नसक्दा विदेशी पर्यटक भने पुग्न सकेका छैनन् । व्यस्त जीवनको तनावबाट मुक्त हुन, मनोरञ्जन लिन र डाँडाकाँडासहित हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन तथा भ्रमण गर्न पर्यटकहरु टोड्के जाने गर्दछन् ।

टोड्केमा प्रालिमार्फत निर्माण गरिएको सामुदायिक रिसोर्टमा ९ जना संस्थापकसहित ३३ जनाले साढे तीन करोड रुपियाँभन्दा बढी लगानी गरेका छन् । अहिले पर्यटकलाई लक्षित गरेर प्रालिद्वारा टोड्केमा हाइअल्टिच्युड प्ले–ग्राउण्ड, बनस्पति उद्यान केन्द्र, हरियाली पार्क निर्माण तथा कृषि खेती गर्नेतर्फ जोड दिइएको छ । प्रालिमार्फत पर्यटन प्रवद्र्धन गर्नका लागि कृषि, जडिबुटी, पशुपालन, शिक्षा र स्वास्थ्यलाई जोड दिइएको प्रालिका सञ्चालक भीम शेरचनले बताउनुभयो ।

पर्यटकलाई लक्षित गरेर बनाइएको सामुदायिक रिसोर्टमा एट्याच बाथरुमसहित ११ ओटा कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, रेष्टुरेन्ट तथा बार, १० वटा टेन्ट हाउससहित झण्डै १ सय जनाको क्षमता रहेको छ । बेनी–अर्थुङ्गे–पुलाचौर–चिप्लेटी–डडुवा–पूर्णगाउँ र बेनी–घतान–पात्लेखेत–झीँ तथा बेनी–बाबियाचौर–कुहुँ हुँदै पूर्णगाउँ भएर टोड्के पुगेर रमाउन सकिन्छ । पर्यटकीय क्षेत्र टोड्केको भ्रमण गर्न पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको स्वदेशी पर्यटक मिनप्रसाद रेग्मीले अनुभव सुनाउनुभयो ।

म्याग्दी सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत् डेढ घण्टाको यात्रापछि सजिलै पुग्न सकिने पर्यटकीय क्षेत्र टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरी, १०औं अग्लो अन्नपूर्ण तथा निलगिरी, माछापुच्छ«े, मानापाथी, गूर्जालगायत दर्जनौं मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । म्याग्दीको अधिकांश भू–भागसहित मुस्ताङ, बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडासमेत देखिने टोड्केमा माघ फागुनमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई मोहित बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्